घोराही ।
‘साहित्यकार बन्छु भनेर लेखेको होइन’ साहित्यकार क्षितिज मगरले कविता बाचन गर्नु अघि भन्नुभयो, । ‘अहिले कविता बनेका छन् कि छैनन् त्यो पनि मलाई थाहा छैन ।’ उहाँले भन्नु भयो ।
आफ्नो परिचय दिँदै भन्नुभयो, ‘अहिले म मजदुर हुँ । किसानको छोरा हुँ । ऐतिहासिक युगान्तकारी कामले बन्दुक बोकें । औपचारिक पढाई छैन । मेरो स्वअध्ययन र लगनशीलता हो ।’ भनेर परिचय दिई हलको ध्यान खिच्नुभयो । उपस्थित साहित्यकार तथा साहित्यानुरागीले निकै शान्त भएर सुन्न थाले ।
‘ट्रिगर चलाउँदा, बारुद बम र गोलाको अनुभूतिलाई कविता र गीत लेख्थेँ, त्यही साथीहरुलाई सुनाउँथे’ उहाँले जनयुद्धका क्रममा भूमिगतकालिन जीवनको स्मरण गर्दै भन्नुभयो, ‘बन्दुक बिसाए पछि कलम नियमित चलाएको छु । किसानको छोरा भएर पनि किसान बन्न सकिनँ, मजदुर बनेँ । मजदुरले कविता लेख्छ भन्ने लागेको छ । हथौडाको बिँड पसिनामा डुबाएर कविता लेख्दैछु मैले कापीमा लेख्ने कविता र निर्माण गर्ने घर एकै लाग्छ ।’
यति भनिरहँदा अनुहार सूर्यझैं चम्किएको थियो । जनमुक्ति सेना नेपालको कमाण्डरले निकै गर्वका साथ श्रम गर्छु भन्नुभयो ।
तेह्रवटा कविता बाचन गरेपछि आसनमा फर्किंदै गरेका क्षितिज मगरलाई मायालु हात मिलाउनेले बिचैमा रोके । अतिथि दिर्घाको पल्लो कुनामा बस्नुभएका मगर कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष प्रा.डा भिम खतिवडा, विशिष्ट अतिथि विशिष्ट अतिथि राप्ती साहित्य परिषदका केन्द्रिय सल्लाहकार पुरुषोत्तम खनाल लगायतले हात मिलाउँदै हर्ष व्यक्त गर्नुभयो ।
राप्ति साहित्य परिषदको सभाहलमा उपस्थितजन उत्साहित बन्यो । ‘जनयुद्धको सिपाही भनेपछि आँखाभरी जनयुद्ध आयो’ प्रमुख अतिथि प्रा.डा खतिवडाले थप्नुभयो, ‘कविता सुन्दा ननिको छैन, झर्को नलाग्ने, डर नदेखाउने र मन्त्रमुग्ध पार्ने रहेछन् ।’
उहाँले कविता बाचन अवधिभर निकै गम्भिर भएर सुन्नुभएको कुरा पटक पटक मुन्टो ढक्काएर व्यक्त गर्नुहुन्थ्यो । बेला बेला कविताको शिर्षक सोधनुहुन्थ्यो । वाह वाह भन्दै प्रशंसा गर्नुहुन्थ्यो । रगत, काटमार, बन्दुक, बारुद, शोषक, सामन्त, जाली, फटाहा जस्ता शब्द भएका नाराजस्ता कवितामा नभेटाएको बताउनुभयो ।
उहाँले सुन्दर कविता सुनेको बताउनुभयो । गत वर्ष रकुमको सिम्रुतुका पूणर् वलीको संस्मरण संग्रह ‘त्रिवेणी’ विमोचन कार्यक्रममा त्यही हलमा पूर्वमन्त्री लोकेन्द्र विष्टले भनेको कुरा प्रा.डा खतिवडाले स्मरण गर्नुभयो, ‘त्यही रुकुमका मान्छेले गोबर गन्हाउँछ, अलि पर जानुस् भन्नुहुन्छ’ उहाँले थप्नुभयो, ‘अहिले अर्काले हथौडाको बिँड पसिनामा चोबेर कविता लेख्छु भन्छ ।
यो भन्दा ठूलो साहित्य के हो ?’ उहाँका अनुसार पूर्वमन्त्री र जनमुक्ति सेना नेपालका कमाण्डरको श्रमको सम्मान अनुकरणीय छ । बन्दुक पड्काएको भन्दा यसको असर कम छैन । रगत बगाउने, काटमार गर्ने, अंग भंग पार्ने भनेर लेख्नै पर्दैन । विद्रोह, युद्ध, सामन्त, फटाहा, जाली यस्ता अनेक शब्द सुन्दा आङ जिरिङ्ग हुन्छ । तिनीहरु साहित्यिक हुँदैनन्, नारा हुन्छन् र केहीले मात्रै पढ्न सक्छन् ।
तत्कालीन जनमुक्ति सेना नेपालको व्यारेक उँघामा कमाण्डर क्षितिज मगरले राम्रो आतिथ्य दिनुभयो । विहान पख उहाँले निकै मिठो कविता सुनाउनुभयो । उहाँका कविता सुन्दा राप्ती साहित्य परिषदका तत्कालीन केन्द्रिय अध्यक्ष अहिलेका सल्लाहकार खनाल निकै भावुक हुनुभयो । बन्दुक समाउनेले कलम चलाउने रहेछन् भन्ने गतिलो छाप बस्यो । त्यो क्षण मनमै थियो ।
गत वर्ष दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराही १५ ले टाएल लगाउने काम गराउँदै थियो । त्यस विद्यालयका फाउन्डर समेत रहनुभएका खनालका अनुसार काम टहल्दै हुनुहुन्थ्यो । श्रमको सम्मान गर्ने आचरणका खनालले काम गर्नेहरुलाई नजिकै पुगेर नियाल्नुभयो । एक जनाले हार्दिकताका साथ नमस्कार टक्राए ।
निज्याएर हेरेको उनै क्षितिज मगर रहेछन् । टाएल लगाइरहेका धुलो सहितका हात मिलाउन खनाल अघि बढ्नुभयो । निकै गर्व र सम्मानका साथ हात मिलाउनुभयो । जसले केही वर्ष अघि टिला व्यारेकमा कविता सुनाएको याद दियो । ‘बडा सुनिराखुँ भयो, कसैले हल्ला गर्दापनि बडा चोटपर्यो ।’
कार्यक्रमका विशिष्ट अतिथि परिषदका सल्लाहकार पुरुषोत्तम खनालले भन्नुभयो, ‘हिजो बन्दुक पड्काएर निद हराम गर्नुहुन्थ्यो । अहिले फुल वर्षाउनु भएको छ ।’ उहाँले पूर्व जनमुक्ति सेनाबाट पाएको गज्जबको सन्देश बताउनुभयो । आफू निकै भावुक भएको श्रमलाई सम्मान गर्ने व्यक्ति भेटेको, उपस्थित हुन नसकेको भए ठुलो पछुतो हुने थियो भन्दै खनालले क्षितिज मगरप्रति खुशी व्यक्त गर्नुभयो ।
नियमित एकल बाचन कार्यक्रम अन्तर्गत राप्ती साहित्य परिषद दाङ शाखाको ७३औँ बाचकमा शुक्रबार क्षितिज हुनुहन्थ्यो । उहाँले जनयुद्धकालदेखि यहि महिना सकिएका शहिद दिवस र भ्यालेन्टाइन डेलाई कविता बनाउनुभएको थियो । कविताबाटै जनयुद्धको चित्र, लक्ष्य, उद्देश्य र परिणाम सुनाउनुभयो । त्यहाँ माया प्रेम र कोइलाबास लगायत विभिन्न ठाउँको परिचय पनि थिए । फरक शिविरमा स्थापित कविता भन्दै टिप्पणीकार राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासीले कार्यक्रमलाई भिन्नै परिवेशको बताउनुभयो ।
उहाँले किवितामा प्रश्नै प्रश्न रहेको बताउनुभयो । आशावादी, विम्बको राम्रो प्रयोग भएका कविता बताउनुभयो । समकालिन चेतना तिब्र छन् । यसैगरी साहित्यकार मगरलाई कवितामा समाधानको बाटो पनि दिन सुझाव दिनुभयो । उहाँका अनुसार असन्तुष्टि, गुनासो, आक्रोस र कुन्ठा मात्रै पोख्नु हुँदैन । कत्ति आत्तिनु पनि हुँदैन । राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष दिपक शर्मा समिरले मगरलाई कदरपत्रले सम्मान गर्नुभएको थियो ।