प्रशासन र व्यवस्थापनको विवाद यथावत् रहेकै अवस्थामा नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणाले द्रुत गति लिन पुग्यो । लामो समयसम्म यसमा विकासोन्मुख देशहरूले प्रतिपादन र अभ्यास गर्दै गए । यसमा निजी क्षेत्रलाई प्रश्रय दिई निजी क्षेत्रबाटै र सार्वजनिक क्षेत्रसँग यसको समन्वयका आधारमा सार्वजनिक सेवालाई प्रभावकारी बनाउने तरिकाको उल्लेख गरिएको छ ।
सैद्धान्तिक अवधारणाको विकासबाट निजी क्षेत्रलाई सार्वजनिक सेवामा समाहित गराउने अभिप्रायले बजारबाट काम लगाउने र सार्वजनिक क्षेत्र आफैंले विश्व परिवेशमा आएको परिवर्तनका आधारमा आफ्नो आन्तरिक बजारको अवस्थालाई समेत दृष्टिगत गरेर बजार र परिवेश अनुकूल व्यवस्थापन गर्ने पहलकदमी हुँदै आएको छ ।
आर्थिक, संरचनात्मक र राजनीतिक व्यवस्थापनलाई मध्यनजर गर्दै नयाँ सार्वजनिक व्यवस्थापनले आफ्नो प्रभावकारिता कायम गरिराखेको छ । सार्वजनिक व्यवस्थापनमा नयाँ सार्वजनिक व्यवस्थापनको प्रयोगबाट समेत अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको महसुस भयो । यसका सकारात्मक र नकारात्मक पक्षवारे बहस र विश्लेषण हुँदै गर्दा समसामयिक सुधारको आवश्यकता हुन थाल्यो ।
नयाँ सार्वजनिक व्यवस्थापनको प्रादुर्भाव सेवा प्रवाहमा लोकतान्त्रिकरणका मूल्य र मान्यताका आधारमा गर्न खोजिएको छ । यसका लागि नीतिनिर्मातालाई सार्वजनिक सेवा प्रवाहका लागि उत्तरदायी बनाउने कार्यतर्फ सेवाग्राही तथा अन्य नागरिक समाज संस्था वा नागरिक समूह क्रियाशील हुनुपर्छ ।
नागरिक सहभागितात्मक बजेट निर्माण, सहभागितात्मक योजना तर्जुमा, सूचना प्रवाहमा चुस्तता, सञ्चारमाध्यमबाट स्वतस्फूर्त सूचनाप्रवाहलाई प्रभावाकारी बनाउन सहयोग पुग्छ । नागरिकलाई क्रेताका रूपमा होइन सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा सम्मान दिई सेवा प्रवाह गर्नुपर्ने बहस यसले चलाएको छ ।
यदि व्यक्तिगत र सार्वजनिक भलाइका सन्दर्भमा समन्वय हुन नसक्दा र विवादित बनेमा सार्वजनिक भलाइलाई सर्वोपरि प्राथमिकतामा राख्नुपर्छ । सार्वजनिक सेवाको उद्देश्य उद्यमशिलताको विकास गर्नु, नाफा आर्जन गर्नुभन्दा नागरिकलाई उनीहरूको अधिकारको व्यवहारमै प्रत्याभूति गर्ने प्रकारले गरिनुपर्छ ।
राज्य वा सरकारले व्यापार व्यवसाय गर्ने होइन सामाजिक दायित्वको निर्वाह गर्न सेवकका रूपमा प्रस्तुत हुनुपर्छ । सेवा प्रदायकले आफ्नो कार्य सम्पादन गर्दा लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् व्यवहारमै गर्नुपर्छ । जनतालाई केन्द्रबिन्दुमा राखेर उनीहरूको स्वार्थ र आवश्यकता सेवाग्राहीले नै स्वामित्व ग्रहण गर्नु आवश्यक छ ।
लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गर्दा राजनीतिक चिन्तन हुनुपर्छ । देशले अवलम्बन गरेको राजनीतिक प्रणाली नयाँ सार्वजनिक सेवाका हिसाबले सहयोग सिद्ध हुने स्थिति हो वा होइन ? विश्लेषण हुनु जरुरी छ । विश्लेषणका आधारमा समयसापेक्ष परिमार्जन हुनुपर्छ । सोहीअनुसारको रणनीति तय गरिनुपर्छ ।
यसमा अत्याधिक महत्वको विषयका रूपमा सेवाग्राहीको जनताप्रतिको जवाफदेहिता स्पस्ट गरिनुपर्छ । नियन्त्रण गर्ने र शासन गर्ने सोचबाट मुक्त भई सेवाभावले प्रेरित हुँदै नागरिकप्रति समर्पित हुन सक्नुपर्छ । उत्पादन र उत्पादकत्वभन्दा नागरिकलाई केन्द्रबिन्दुमा राखी सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु गराउनु नै नयाँ सार्वजनिक सेवाको मूल उद्देश्य हो ।
जनतासँग सहकार्य र सहभागितात्मक प्रक्रियाको अवलम्बन गर्दै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । जनताको विश्वास आर्जन गर्न सक्ने वातावरण सेवा प्रदायकले सिर्जना गर्न सक्नुपर्छ । लोकतान्त्रिक सहभागितालाई मूल मन्त्रका रूपमा ग्रहण गर्दै सरकारको मान्यतालाई अभिवृद्धि गर्नुपर्छ । कुनै निर्णय गर्नुपूर्व ती निर्णय कार्यान्वयन सहज बनाउन सक्नुपर्छ ।
यसका लागि सार्वजनिक सेवाप्रवाह जनताले स्वागत गर्दै सरकारी कार्यहरूको स्वामित्व ग्रहण गर्ने अवस्था बनाउन सक्नुपर्छ । सार्वजनिक क्रियाकलापमा नागरिकलाई सबलीकरण, सशक्तीकरण र मूल प्रवाहीकरण गर्नु जरुरी हुन्छ ।
जनतासँग सम्बन्धित सबै प्रकारका सूचना सेवाग्राहीले स्वतः प्राप्त गर्ने संयन्त्र र बहुलवादको निर्माण गरिनुपर्छ । जनतासँग सम्बन्धित विषयमा उनीहरूसँग साक्षात्कार गरेर, प्रत्येक विषयमा जनतासँगकै अन्तक्र्रियाका आधारमा विश्लेषण गर्ने र मतैक्यता कायम गरेर निर्णयमा पुग्नु जरुरी हुन्छ ।
सबै प्रकारका सार्वजनिक सम्पत्तिमा जनताको अपनत्व कायम गरिनुपर्छ । सम्पत्ति आफ्नै भएको भावनाका साथ जनताले नै त्यस प्रकारको सम्पत्तिको संरक्षण गर्ने अवस्था सिर्जना हुनुपर्छ । सार्वजनिक मूल्य र मान्यतालाई सिरोपर गर्दै सार्वजनिक निकायले नाफा कमाउने दृष्टिकोण परित्याग गर्न सक्नुपर्छ ।
लोकतान्त्रिक मूल्य मान्यता र बहुलवादको आधुनिक अवधारण आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयन गरिनुपर्छ । जिम्मेवारीको निर्वाह गर्दा संयुक्त रूपमा गर्ने बानी बसाल्नुपर्छ । सबै प्रकारका नीति र कार्यक्रमको अन्तिमस्वरूप तयार पार्दा नागरिकका आवश्यकता र मागका आधारमा गर्नुपर्छ ।
नेतृत्वमा दीर्घकालीन सोच हुनुका साथै संयन्त्रमा लोकतान्त्रिक आचरण अनिवार्य हुन्छ । बजारको विकास कुन रफ्तारमा भइराखेको छ त्यो अवस्था आत्मसात् गरेर बजारमा आउने परिवर्तनलाई नियाली त्यसैका आधारमा अघि बढ्न सक्ने क्रियाशिलता संयन्त्र वा सेवाप्रदायकसँग हुनुपर्छ ।
नागरिकका चासोका विषयमा आउँदै गरेको परिवर्तन, विद्यमान संविधान, कानुन, राजनीतिक मूल्य र मान्यता, सामुदायिक भावना र स्तरवारेमा विस्तृत ज्ञान र जानकारी सेवा प्रदायकमा हुनुपर्छ । यही आधारलाई स्वीकार गर्दै नयाँ सार्वजनिक सेवाका लागि केही सिद्धान्त प्रतिपादन भएका छन् ।
लोकतान्त्रिक बहुलवाद र बहुलवादलाई स्वीकार गर्ने संस्कारको विकास हुनुपर्छ । सेवाप्रवाहका लागि गरिने सबै प्रकारका क्रियाकलापमा कुनै प्रकारको गोपनीयता कायम गर्ने, जनताका नाममा गरिने सेवाप्रवाह गर्दा उनीहरूलाई नै गुमराहमा राख्ने दुस्प्रयास अस्वीकार गर्दै सबै कार्यहरूको सम्पादन खुला प्रकारले गरिनुपर्छ ।
सबै सेवाग्राहीले सार्वभौम नागरिकका रूपमा सम्मान प्राप्त गरी उनीहरूको सबै प्रकारको पहिचानलाई स्थापित गराउने गरी सार्वजनिक निकायहरू संस्था र यसका पात्र परिचालित हनुपर्छ । विभिन्न पहिचान भएका नागरिकबीच ध्रुवीकरणलाई निरुत्साहित गरिनु जरुरी छ । सबै प्रकारका विविधताबीच राष्ट्रिय एकता र मतैक्यता कायम गर्ने प्रयास इमानदारिताका साथ हुनु अत्यावश्यक छ ।
कार्यहरूको पहिचान, तर्जुमा, कार्यन्वयन, मूल्यांकन, पृष्ठपोषण, सबै चरणमा सामूहिक रूपमा निर्णय लिने, विवादरहित अवस्था सिर्जना गर्ने प्रयासलाई उच्च प्राथमिकता प्रदान गर्नुपर्छ । कुनै प्रकारका विवादको सिर्जना हुँदा मध्यस्थताका आधारमा सवै विवादित पक्षलाई समुचित लाभ पुग्नेगरी सम्झौता र समझदारी गरिनुपर्छ ।
नयाँ सार्वजनिक सेवाप्रवाह गर्दा यसको प्रभावकारिताको अभिवृद्धि गर्ने अभिप्रायले सार्वजनिक संयन्त्र र नागरिक एवं नागरिक संस्थाबीच सम्पर्क घनिष्ठ हुने प्रकारले व्यापक सञ्जालको विकास गरिनुपर्छ । नागरिक समाज, उपभोक्ता समूह, सेवाग्राहीको अन्य कुनै पनि प्रकारको सामूहिक मञ्च वा संगठनसँग पटकपटक विभिन्न चरणमा अन्तरक्रिया हुनुपर्छ ।
लोकतान्त्रिक शासनका आधारमा सार्वजनिक संयन्त्र परिचालित भएको सन्दर्भमा जनतालाई विश्वस्त बनाउन लोकतान्त्रिक शासन प्रणालीवारे सबैलाई जानकारी दिलाउने बहुलवादको विकास हुनुपर्छ । नागरिक अधिकारको निर्वाध रूपमा व्यवहारमै उपयोग गर्न पाइराखेको अनूभूति नगरिकलाई गराई विश्वस्त तुल्याउने सत्प्रयास हुनुपर्छ ।
सेवाप्रवाह नतिजामुखी र लक्षित वर्गसँग सम्बन्धित गराउने लक्ष्य राख्ने हो भने सेवा प्रवाहलाई लोकतान्त्रिक प्रणालीसँगको आबद्धता अनिवार्य हुनुपर्छ । नतिजामुखी गन्तव्यका आधारमा प्रदान गरिने सेवा सधैं सेवा लक्षित वर्गसँग घनिष्ठ रूपमा सम्बन्धित रहन्छ । तसर्थ, सेवाप्रवाह नागरिक केन्द्रित रहनुपर्नेमा सबै लोकतान्त्रिक देश सर्वसम्मत देखिएका छन् ।