• मंसिर ११ २०८१, मंगलवार

‘शीतल छहारी’को अपेक्षा

फाल्गुन २९ २०७९, सोमबार

राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएपछि उनले पहिले भनेझैं शितल निवासबाट सबैले शीतल छहारी प्राप्त गर्ने अपेक्षा पूरा गर्न सक्ने हुन् कि होइनन्, यो प्रतिक्षाको विषय बनेर सबैमाझ उभिएको छ ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएपछि उनले भनेका कुरा केवल आश्वासन मात्र हुने हुन् कि व्यवहारमा परिणत हुने हुन् भनी राजनीतिक दल र जनताले नियाल्न थालिसकेका छन् ।

सादगी र खारिएका नेता मानिने पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुअघि राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षको फरक आफूले व्यवहारमा अनुभूत गराउने घोषणा गरेका थिए ।

चुनावी एजेण्डा बनेको यो विषय राष्ट्रपति पौडेलका लागि कार्यान्वयनको कार्यभार बन्न पुगेको छ । प्रजातान्त्रिक समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा उनलाई लिने गरिने हुनाल गणतन्त्र कार्यान्वयनको सिलसिलाले उनको कार्यकालमा कार्यान्वयनको कोर्स पूरा गर्ने अपेक्षा पनि गरिएको छ ।

नेपाली कांग्रेसभित्र स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मीका पर्यायका रूपमा उनलाई लिइने हुनाले पनि उनको यो विशिष्टता अनुरूपको राष्ट्रले सुम्पेको जिम्मेवारीबीचमा संगतिपूर्ण मेल हुन गएको त होइन भनी लख काट्नेहरूको संख्या बढ्न थालेको छ ।

पार्टी जीवनमा उनलाई स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताका रूपमा पनि लिने गरिन्छ । समन्वयकारी चरित्रका उनी मध्यमार्गी नेता भएकाले पनि गठबन्धनको राजनीतिक आधार उनका लागि फलिफाप भएको राजनीतिक विश्लेषकहरूको ठहर रहेको छ ।

नेपाली काँग्रेसका हस्तीहरू का रुपमा परिचित । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरूसँगको सङ्गत र बसउठले पनि उनमा प्रजातान्त्रिक संस्कारको विकास हुने वातावरणले छाप पारेको शीर्ष नेताहरूको अनभूति रहेको सार्वजनिक भइरहेको छ ।

तात्कालीन द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका पौडेल विस्तृत शान्ति सम्झौताका एक मस्यौदाकार भएकाले शान्ति सम्झौताको मर्मअनुसार अघि बढ्ने भनेर पनि अपेक्षा गरिएको छ ।

१४ वर्ष बढी जेल जीवन व्यतित गरेका पौडेल अबका दिनमा राज्य र राज्यसत्तालाई कसरी अग्रगमनको बाटोमा लैजान आफ्नो योगदान दिने छनन् हेर्न बाँकी छ ।

देशमा संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने संविधानको मर्म अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भइसकेका बेलामा कार्यकारी राष्ट्रपतिको जस्तो तामझामक साथ प्रचार र हारालुछ हुन थालेपछि कतै राष्ट्रपति त कार्यकारी बनाइँदै छैन भनी आशंका उठिरहेका बेला पौडेलले यो कार्यभार बहन गर्ने मौका पाएका छन् ।

नेपालको राजनीति हो, यसै भन्न सकिने अवस्था पनि छैन । देशको आन्तरिक शक्ति सन्तुलनमा क्षणक्षणमा परिवर्तन र बदलाव आइरहेको हुन्छ । यसमा आन्तरिक तत्व र तथ्यहरूले भूमिका खेलिरहेका पनि छन् र विदेशी शक्ति र तथ्यहरूले पनि उत्तिकै प्रभाव पारिरहेका छन् ।

अहिले नेपालको अवस्था थप जटिल र संक्रमणतिर मोडिएको छ । शान्ति प्रक्रिया उल्झनमा परिरहेको छ । उस्तै परे राष्ट्रपतिको भूमिका क्रियाशील नहोला भन्न नसकिने अवस्था बन्दै गइरहेको छ । यो बेलामा देश र जनताले शीतल निवासबाट ‘शितल छहारी’ को आशा गरेका छन् ।