• आश्विन १४ २०८१, सोमबार

नेपाल मगर संघले गर्यो मगर समुदायका सांसदहरुलाई सम्मान

फाल्गुन २६ २०७९, शुक्रबार

काठमाडौं । नेपाल मगर संघले प्रतिनिधि सभा तथा प्रदेश सभामा मगर समुदायको तर्फबाट निर्वाचित सांसदहरुलाई एक कार्यक्रमकाबीच बधाई तथा सम्मान व्यक्त गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।

नेपाल मगर संघ मातहतका सम्पर्क समन्वय केन्द्रिय समिति, मगर उत्थान समाज गोङ्गबु काठमाडौं र मगर परिवार नेपालको सहआयोजनामा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको सभाध्यक्ष रहेका मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले उपस्थित सांसदहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

उपस्थित सबैलाई नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गङ्गाबहादुर थापामगरले स्वागत मन्तव्यबाट स्वागत गर्दै मगर सांसदहरुलाई सधै सही बाटोमा हिंडेर मगर समुदायको शिर उच्च राख्न आग्रह गरे ।

नेपाल मगर संघका संस्थापक महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, पूर्व राज्यमन्त्री धनबहादुर बुढामगर, पुर्णबहादुर घर्तीमगर, खमबहादुर गर्बुजामगर, रुकमनी रानामगर लगायतका सांसदहरु उपस्थित थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रशिक्षक लालबहादुर पुनमगरले मगरको इतिहासको विस्तृत जानकारी सहितको श्रव्यदृश्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्ने मगर समुदायका सांसदहरुले आगामी दिनमा नेपाल मगर संघसित सहकारी गर्दै मगर समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।