• मंसिर १७ २०८१, सोमबार

बर्मुडाको ६ मुखे बादलले जहाज निलेको निल्यै

फाल्गुन २६ २०७९, शुक्रबार

रहस्यमय मानिदै आएको ‘बर्मुडा ट्रिएंगल’ आन्ध्र महासागरमा पर्दछ । महासमुद्रमा देखिने त्रिकोणीय आँधीहुरी, हात्तीसोंढे र चट्याङ पर्दा यसको आकाशमा षड्कोणीय बादलका महाजाल देखा पर्छ ।

आकाशमा यस्ता बादलका थुप्रा देखापर्दा यी बादलले अमेरिकाको फ्लोरिडा, बर्मुडा र प्यूर्टोरिकाको बीच त्रिकोणीय चक्रव्युह निर्माण गर्दछन् ।

आकाशमा षड्कोणीय बादल र समुद्रमा त्रिकोणीय चक्रव्युहको रहस्य अहिले पनि अनुत्तरित नै छ । तथापि यो व्युह रचनाले समुद्रको ठूलो भाग ढाकेर विनास निम्त्याइरहन्छ । हर क्षण र हर समय यो अनिस्चितताको निम्तो जो कसैको भागमा पनि परिरहन्छ ।

यसको कारण हो, यस्तो महा विनासकारी कोणिक रहस्य प्रमुख सामुद्रिक व्यापारिक मार्गमा पर्छ । यो महाविनासको क्षेत्रफल ७ लाख वर्ग किलोमिटर रहेकाले पनि बच्ने र बचाउने संभावना ‘भगवानको हात’मा हुन्छ । किनकि यस क्षेत्रमा आकाशीय जहाज, पानी जहाज, स्टिमर र पाण्डुब्बी जहाज पनि अलप हुने गरिरहेका छन् ।

उत्तरपश्चिम आन्ध्रमहासागरमा फैलिएको यो भूमध्य रेखाको नजिक रहेको छ । यो क्षेत्रमा पर्ने समुद्रमाथिको आकाश भएर उड्ने हवाइजहाज तथा समुद्रमा चल्ने पानीजहाज हराउने गर्दछन् ।

यस कारण यसलाई ‘राक्षसी त्रिकोण’ पनि भनिन्छ । वैज्ञानिकका अनुसार यहाँ उठिरहने राक्षसी सुनामी विश्वका हालसम्मका खतरनाक सुनामीभन्दा सैयौं गुणा भीमकाय हुन्छन् ।

यहाँको रहस्य पत्ता लगाउन सेटेलाइटबाट निरन्तर भिजुअल तस्वीर लिइरहन्छ । यहाँ दिनरात हजारौं फिट अग्ला पानीका भूमरी आकाशमा उठ्ने र हावाहुरी अनि बादल मडारिने गर्दछ । यो प्रक्रिया नियमित चलिरहन्छ । यहाँ प्राकृतिक रूपमा लाग्ने कुहिरो वा बादलभन्दा निकै भिन्न कुहिरो र बादल लागिरहन्छ ।

बर्मुडा ट्रिएंगलमा मडारिने बादल ंहेक्जागन वा षट्कोण आकारको हुन्छ । अनौठो बादल र चक्रवाती हुरीसहितको वातावरण निर्माण गर्दै २७४ किलोमिटर प्रतिघण्टाका दरले हात्तीसोंढेका रूपमा समुद्र पिंधको पानी उठाएर आकाशमा बिसर्जन गर्ने गर्दछ । वैज्ञानिकले यसलाई ‘एयर बम’ नामाकरण गरिदिएका छन् ।

थाह पाएदेखि यसले २०० भन्दा बढी हवाइजहाज र पानीजहाज तथा १००० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । अक्सर त्रिकोण फोहरामा देखिने यो रहस्यमयी बर्मुडा विपत्तिले १९ वटा ठूला फ्लाइट, टीबीएम नामक युद्धक बमवर्षक विमान खाइसकेको छ ।

त्यस्तो लहर किन उठ्छ ? यसको कारण अरू नै हुन सक्छ । तर यही भूमरिमा परेर समुद्री जहाजहरू यो रहस्यमयी बर्मुडा ट्रिएंगलमा हराउँछन् । समुद्रमा जहाजहरू जाँदा यही बाटो भएर जानीजानी वा भूल बस यही बाटो गुज्रदा समुद्रमा एक्कासी हराउने गर्दछन् ।

बर्मुडामाथि मडारिने बादल, १०० फिटसम्म आकाशमा उठ्ने पानीको हात्तिसुँढे भुमरी र हुरी तथा पानीका अग्ला छालले आश्चर्यजनक हर्कत देखाउँछन् । समुद्रको सतहबाट उठ्ने र आकाशमा पुगी निकै ठूलो गर्जनका साथ घुम्ने यसको शक्ति अकल्पनीय रहेको छ ।

निरन्तर ७० वर्षसम्मको अनुसन्धानबाट पनि वैज्ञानिकले यो किन भैरहन्छ भन्ने कुरा ठोकुवा साथ भन्न सकिरहेका छैनन् । उनीहरू दावा गर्दछन् कि त्यहाँ सघन प्राकृतिक चुम्बकीय घनत्व रहेको छ । यसैका कारण त्यहाँ पुगेका केही कुराहरू पनि फर्केर आउन सक्दैनन् ।

वैज्ञानिकका अनुसार बर्मुडा ट्रिएंगलको रहस्य भनेको त्यहाँको भौगोलिक अवस्थिति र खराब मौसम नै हो । बाहिरी स्वरूप हेरेर गरिएको यो तर्कले यो रहस्यको भित्री मर्म भने छुँदैन । बरू त्यहाँ चुम्बकीय घनत्वको प्रभाव रहेको कुराबारे थप अध्ययन गर्न थालिएको छ ।

विश्वमा यस्ता धेरै रहस्यमय घटना घटिरहन्छन् । तर यो देवी, देवता वा राक्षसका कारण भने भएको होइन । तर अहिलेको २१ औं शताब्दीमा आएर पनि यसको रहस्य नखुल्नु आफैमा आश्चर्य बनेको छ ।

ढिलो होस् वा चाँडो मानिसमा अतृप्त रहिरहेको यो उत्सुकता र आशक्तिलाई विज्ञान र प्रविधिका दुई चक्रले यथार्थमा परिणत गरिदिने छन् ।