• आश्विन १४ २०८१, सोमबार

नेपाल मगर संघको आयोजनामा सञ्चालित दुई दिने पत्रकारिता तालिम समापन

फाल्गुन २४ २०७९, बुधबार

काठमाडौं । नेपाल मगर संघले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । काठमाडौंको कलंकीस्थित मगर संघको मुलघरमा चलाइएको दुई दिने सो तालिम  आज सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पत्रकारिता राज्यको चौथो अंग भएकोले कलम र क्यामराको सही सदुपयोग गरेर जनतालाई सही सूचना दिन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

अध्यक्ष पुनले मगर समुदायबाट पनि थुप्रै पत्रकारहरु उत्पादन गर्नुपर्ने भएकोले उत्साहित भएर पत्रकारितामा सहभागी हुन पनि अपिल गरे ।

त्यसैगरि कार्यक्रमका सभापति तथा नेपाल मगर संघका संचार प्रमुख मानबहादुर पुनमगरले वर्तमान अवस्थामा मगर समुदायका माग र मुद्धाहरु सरकार सामु नपुगेकोमा दुखेसो प्रकट गरे ।

संचार प्रमुख पुनले मगर समुदायको आन्दोलन र मुद्धाको पहुँच जनमन र सरकरसम्म पुग्नका लगि निःशुल्क रुपमा पत्रकारिता तालिमको आयोजना गरिएको जानकारी दिए । उनले यो कार्यक्रम सञ्चालनका निम्ति आर्थिक सहयोग संकलनमा धेरै दुःख गरेको पनि स्मरण गरे ।

उनले मगर समुदायमा पत्रकार भएको तर प्रशिक्षक नभएकोले अन्य समुदायका प्रशिक्षक बोलाउनु परेको पनि बताए । उनले प्रशिक्षार्थीले छोटो समयमा थोरै पनि ज्ञान हासिल गरेकोमा खुशी आफू भएको बताए । उनले मगर सङ्घको चासो अब केही मगर संघका पदाधिकारी मात्र नभएर उपस्थित सबैले मगर समुदायको उन्नतीमा टेवा पुर्याउन पर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै मगर संघका महासचिव टेक नाम्जालीले प्रशिक्षार्थीको संख्या कम भएता पनि उक्त संख्या धानको बिऊ फैलिएर गए जसरी काम गर्नेमा आफू विश्वस्त रहेको बताए । महासचिव नाम्जालीले आगामी दिनमा पनि यस्ता पत्रकारिता तालिमहरुको आयोजना गरिने पनि बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा सम्पादक मोदनाथ ढकालले प्रशिक्षार्थीलाई विभिन्न संख्यामा विभाजन गरि प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थी पत्रकाहरुलाई गोरखापत्र दैनिकका पत्रकार लक्ष्मण दर्नालले पनि प्रशिक्षण दिएका थिए । त्यसैगरि मनास्लु पोष्टका राजकुमार रायमाझीले २०६१ सालदेखिको आफ्नो पत्रकारिताको अनुभव सुनाए ।

त्यसैगरि रे टेलिभिजनका समाचार सम्पादक श्याम रानामगरले मगर समुदायका पत्रकारले पनि मगर पोशाक लगाएर गर्वका साथ टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्न सक्षम हुनुपर्ने बताए । उनले सो अवसरमा अतितका तितामिठा पल र सङ्घर्षका अनुभव पनि साटे ।

उनको अनुभव सुनेका पत्रकारहरुलाई असल पत्रकार बन्न प्रोत्साहन मिलेको छ । नेपाल मगर संघ केन्द्रिय उपमहासचिव खगेन्द्र पुनमगरले पत्रकारिता तालिम समापन कार्यक्रमको समापन गरे ।