• मंसिर १२ २०८१, बुधबार

राजनीतिक दल र दलीय मान्यता

फाल्गुन २३ २०७९, मंगलवार

हाम्रो आफ्नै इतिहासले सिकाउँछ कि लोकतन्त्र बलियो बनाउन राजनीतिक दलद्वारा दुई आधारभूत तत्वको परिपालना हुनु जरुरी छ । पहिलो विधि र पद्धति दोस्रो यसलाई अनुगमन परीक्षण गर्ने मर्यादित, सम्मानित संस्था। हरेक पार्टीका लागि विधि र पद्धति भनेको त्यसका प्राण हुन् ।

विधि, पद्धति, प्रक्रियाद्वारा व्यवस्था सञ्चालन गर्ने परिपाटी व्यवहारसिद्ध विषय हो । यदि, पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवित रहँदैन । मुलुक सञ्चालन गर्ने मूल नीति राजनीति हो । राजनीतिलाई सञ्चालन गर्ने प्रमुख यन्त्र राजनीतिक दल हो । दललाई सञ्चालन गर्ने उसको संगठन हो ।

संगठनलाई सञ्चालन गर्ने उसले बनाएको र स्वीकार गरिआएको निश्चित विधि विधान, मूल्य मान्यता, प्रक्रिया पद्धति तथा गतिशील अभ्यास हुन् ।गतिशील अभ्यासको पालना गरिएन र विज्ञानवादी भइएन भने कुनै पनि प्रणाली र व्यवस्था जंगली विधिसमान बन्न पुग्छ ।

कुनै पनि सकारात्मक कार्यको उत्कृष्ट परिणाम निकाल्न असल नियतले गरिने एउटा विधि हुन्छ । सकारात्मक कार्यका लागि मात्र नभएर नकरात्मक कार्यका लागि समेत विधिको अर्थ र महत्व हुन्छ । चोरहरूले समेत चोर्नका लागि विधि बनाएका हुन्छन् ।

तर, दुर्भाग्य आज नभइनहुने संगठनभित्रको विधि र पद्धति पालनाको अनुभूत गर्न नपाइएको गुनासो कार्यकर्ताबाट सुनिन थालेको छ । संगठन दलभित्र विधि पद्धतिको पालना नभई व्यक्तिवाद हावी भई सामूहिक निर्णय प्रणाली निष्क्रिय साबित भएको सुनिन थालेको छ ।

यसरी, विधि पद्धतिको पालना नहुँदा पाउने परिणामप्रति कसैलाई केही डर नभएकाले त्यो पालना नभएको हो भन्ने निष्कर्ष राजनीतिक विश्लेषकको रहेको छ । उनीहरूको विश्लेषणमा अहिलेका राजनीतिक दलहरू राज्यदोहन गर्ने यन्त्रका रूपमा, तस्कर माफियासँग दलाली गर्ने भाँडोका रूपमा प्रयोग भइरहेको भन्ने रहेको छ ।

राजनीतिक विश्लेषक मात्र नभएर कार्यकर्तासमेत असन्तुष्ट रहेको सुनिन्छ । उनीहरू भन्ने गर्छन्, ‘एउटा इमान्दार कार्यकर्ता आफ्नो नेतालाई सम्मानित र विश्वासिलो ठानेर गौरवका साथ भेट्न गयो भने समय पाउँदैन तर, तस्कर माफिया, दलाल आयो भने उसले घन्टौं समय पाउँछ ।’

आफ्ना कार्यकर्तासँग भेट्नु र बोल्नु पर्दा आफू होच्चिएको वा तल गिरेको महसुस गर्ने केही नेता तस्कर दलालसँग बस्न पाउदा चाहिँ गर्व गर्छन् ।कार्यकर्तालाई झुठा आश्वासन बाँढेर वर्षौं धाउन लगाएर रित्तो हात फर्काइदिन्छन् । यस्ता कार्यकर्ताउपरको व्यवहार कुन विधि विधानसंगत व्यवहार हो ?

यस्तै कार्यशैलीले संगठन विस्तार कसरी होला ? हरेक व्यक्तिका लागि आफ्नो आत्मसम्मान सबैभन्दा प्यारो हुन्छ । आफू अपमानित भएको र स्वाभिमानमा चोट पुगेको व्यक्तिका लागि चोट पुर्‍याउने नेताको उपदेश प्रवचन प्रिय हुँदैन । यो भनाइ कार्यकर्ताको र आमसर्वसाधारणको हो ।

त्यसैकारण दिन प्रतिदिन दलहरूप्रति जनताको वितृष्णा बढ्न थालेको छ । कुनै व्यक्ति पदले भूमिकाले योग्यता र क्षमताले अनि दायित्व जिम्मेवारीले ठूलो–सानो, तल–माथि, दायाँ–बायाँ आदि हुन सक्छ तर विधिले विधि चिन्दछ, मान्छे चिन्दैन विधिले आफ्नो निश्चित प्रक्रिया जान्दछ ।

विधिले निश्चित आधार, तर्क, तथ्य, प्रमाण विज्ञान वस्तुगत आधारलाई मान्दछ । जस्तैः रेल आफ्नो निश्चित लिकबाट हिँड्नुपर्ने कुरा एउटा विधि हो । त्यहाँ रेल कुन कम्पनीको हो ? रेल कति धेरै गतिमा दौडन्छ ? रेलमा कति यात्रु रहेका थिए ? भन्ने जस्ता प्रश्न सवालले केही तात्विक अर्थ राख्दैन ।

बरु, तात्विक महत्वको कुरा त रेल निश्चित लिकबाट र नियमन गर्ने निकायको नीति निर्देशनमा चल्नुपर्छ । वस त्यो नै विधि हो । विधि सामुदायिक हितमा आधारित हुन्छ । एउटा व्यक्तिको हितअनुकूल हुँदैन ।

विधि र नीतिले व्यक्ति र संस्था दुवैलाई एउटा निश्चित मार्गनिर्देशनमा हिँडाउँछ वा त्यसैअनुकूल हिँड्न बाध्य हुनुपर्छ । त्यो नै संगठनको जीवन्त रूप हो । त्यस्तो संगठनले मात्र आफ्नो लक्ष्य भेदन गर्न सफल हुन्छ ।

पद्धति भनेको व्यक्ति वा संस्थाको लामो अनुभव या क्रियाबाट स्थापित हुने निश्चित र स्थापित प्रक्रिया हो । जसलाई संस्थाले आफ्नो जीवनको अनुभवबाट तथा अन्य यस्तै देशी विदेशी सिकाइ अनि भोगाइ आदिबाट असल कुराको अनुसरण गर्दै आएको हुन्छ ।

उत्कृष्ट अनुभवहरूको समायोजन तथा अनुसरणबाट प्राप्त भएको सकारात्मक विकासको कुल योग नै पद्धति हो । पद्धति निर्माणमा मानिस, संस्था, व्यक्तिको लामो समय लागेको हुन्छ । यो लामो समयको घटना परिघटनाबाट शिक्षा लिएको तथा विकास गरिएको स्वीकार्य प्रक्रिया हो भन्ने मानिन्छ ।

यस अर्थमा पद्धतिले संस्था र व्यक्तिलाई अझ अग्रगमन, प्रगतिपथमा लैजान टेवा प्रदान गर्छ । तसर्थ, पद्धतिलाई पालना गरिएन भने कुनै पनि संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । यसरी विधि र पद्धतिको आआफ्नै अर्थ र महत्व भएकाले तिनीहरूको पालना गरेर नै कुनै पनि संस्था तथा व्यक्तिको बृहत् हित हुनसक्ने कुरा निर्विवाद नै छ ।

संगठन भनेको केवल मान्छेको भीड जम्मा गर्नु मात्र होइन, ती मान्छेलाई विचार, कार्यक्रम उद्देश्य, नीति, विधि तथा निश्चित पद्धतिबाट अगाडि बढाउन सकेको अवस्थामा मात्र सामाजिक आर्थिक रूपान्तरण गर्न सकिन्छ । केवल नाम मात्रको रूपान्तरण भइदियो भने त्यो समाजका लागि केही अर्थ हुँदैन ।

हामीले भन्ने गरेका सामाजिक आर्थिक रूपान्तरणले समाजको गुुुणात्मक परिवर्तन र फड्को मार्नसक्ने हुनुपर्छ । त्यसका लागि दलभित्रका केही दलाली र विधि पद्धति नमान्ने व्यक्तिवाद बाधक बनिरहेको अवस्था छ ।

यसलाई सबै राजनीतिक दल, नागरिक समाज संस्थाहरूले ध्यान दिन आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लामो र सम्मानित अनुभव भएको राजनेता, राजनीतिक दल र नागरिक समाजको नेतृत्वमा रहनु जरुरी छ