राणाकालमा आर्थिक विकास नभएको होइन, त्यसको उचित प्रयोग मात्र गर्न नसकिएको हो । जुद्धशमशेरले पर्याप्त कार्य गरेका थिए । उनले त्यस बेला कृषि स्कुल, उद्योग परिषद्, बिराटनगर जुट मिल, जुद्ध सलार्ई कारखाना, कटन मिल तथा अन्य घरेलु उद्योगहरूको स्थापना गरी तत्कालीन समयमा आर्थिक विकास र रोजगारीका लागि प्रशंसनीय कार्य गरेका थिए ।
उनले वि. स.१९९४ साल कार्तिक ७ गते नेपाल बैंक लिमिटेडको स्थापना गरी १०० को थियो । यसै सन्दर्भमा यस लेखमा चर्चा गरिनेछ । हाल बिराटनगर १६ स्थित देशकै पुरानो उद्योग जुद्ध सलार्ई कारखानाको भवन भत्काउन थालिएको छ ।
सन् १९९५ सालमा स्थापना गरिएको जुद्ध सलार्ई कारखाना नेपाल बैंकको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि झन्डै ८५ बर्ष पुरानो उद्योगको पहिचान नै मेटिन गएको छ । स्थापनाको हिसावले नेपालको पहिलो सलाई कारखाना जुद्ध हो । यस उद्योग परिसरभित्र सात बिघा १६ कठ्ठा १३ धुर जग्गा रहेको थियो ।
उद्योगको जग्गा मेसिनरी सामान चलनचल्ती भन्दा आधा कम मूल्यमा लिलाम बिक्री भएको छ । संयोग नै मान्नुपर्छ कि नेपाल बैंकको स्थापना गर्ने व्यक्ति पनि उनै थिए । सलाई कारखाना अन्तिममा लिलाम बिक्री पनि त्यही बैंकमार्फत् भएको छ ।
नेपाल बैंकले शारडा ग्रुपलाई लिलाम बिक्री गरिएको उद्योगमा त्यसबेलाको १० जना मजदुर अहिले पनि आफ्नो श्रमको रकम पाइन्छ कि भन्ने आशामा रहेका छन् । उक्त उद्योग परिसरमा अहिले चार परिवार रहेका छन् । ऋण असुली न्यायाधीकरणले यही माघ ३ गते डोर खटाएपछि अहिले त्यहाँ बस्दै आएका ती परिवारले त्यसबेला काम गरेको ज्याला पाउनु पर्ने माग गर्दै आएका छन् ।
अब भने जुद्ध सलाई कारखानामा काम गरेको सम्झना मात्र बाँकी रहने भयो । किन भने जग्गा बैंकको लिलामी निजी कम्पनीले सकारेपछि सलाई कारखानाको इतिहास मात्र जीवित रहेको छ । उक्त सलाई कारखाना २०६१ साल भदौ २३ गतेसम्म काम गर्दै मजदुर अहिले पनि त्यही बसोबास गर्दै आएका छन् ।
सलाई उद्योग त्यसपछि बन्द भएको थियो यस पछि उद्योगको सेयर बिक्री गरियो र सेयरको ५१ दशमलव ३७ प्रतिशत हिस्सा कम्पनीका अध्यक्ष सुरेन्द्रलाल सुवालले लिएका थिए । २०६२ साल जेठमा सलाई कारखाना फेरि सञ्चालनमा ल्याइएको थियो । तर, त्यो लामो समय चल्न भने सकेन तीन महिना पनि नबित्दै बन्द भयो । कम्पनीले २०४७ सालमा सलाई कारखानाको जग्गा नेपाल बैंकमा धितो राखेर २३ लाख ४९ हजार २९४ रूपैया ऋण लिएका थिए ।
तर, बैंकले एक करोड ५९ लाख ७ हजार २५० रूपैयाँ भुक्तानी हुनुपर्ने भन्दै कारखाना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको थियो । यस मुद्दामा बैंकको पक्षमा फैसला भएको थियो । कम्पनीले बैंकको ऋण चुक्ता नगरेपछि नेपाल बैंक ऋण असुली न्यायाधीकरणले ऋण असुल गर्न गएको थियो ।
त्यसका आधारमा २०६९ साल वैशाख ७ गते बैंकको ऋण असुलउपर गर्न कम्पनीको नाममा रहेका जग्गा लिलामी गर्न सक्ने फैसला भएको थियो । फैसलामा कम्पनीलाई २०७० जेठ १७ गतेसम्म ऋण चुक्ता गर्ने म्यादसमेत दिइएको थियो ।
तर, त्यसभन्दा अगाडि नै बोलपत्र दाता नेपाल बैंक लिमिटेडले एक मात्र बोलपत्र सकार गर्ने व्यक्ति खडा गरी शारडा ग्रुपलाई जग्गा तथा टहरा लिलामी प्रक्रिया २०७० वैशाख ११ गते सुरु गरेको देखिन्छ । शारदा ग्रुपका अनुसार अनिल शारडा लिलामी जग्गा सकार गर्ने आधिकारिक व्यक्तिका रूपमा देखिएका छन् ।
लामो समयदेखि मुद्दा चल्दै आएको थियो । सो कारखानाको जग्गा नै १५ करोडको थियो । त्यसबाहेक कारखानाको मिल, मेसिनरी समान र भवनलगायतका संरचनाको मूल्यांकनको कुनै मूल्य नभएको सो कारखानामा कार्यरत पुराना मजदुर कृष्ण देवान बताउँछन् । आज श्रम गर्न तयार रहेका हजारौं व्यक्ति कामको खोजीमा छिमेकी देश भारतलगायत विभिन्न देशमा जाने गरेका छन् ।
रोजगारी सिर्जना गर्न सकिने भनेको कारखाना वा उद्योग हो तर हाम्रो देशमा भएका उद्योग पनि विविध कारणले बन्द भएका छन् । हाल चलिरहेका उद्योगको अवस्था पनि सन्तोषजनक नरहेको देखिन्छ । यसरी हेर्दा हामीले कृषिलाई व्यावसायिक बनाउँदै उद्योगसँग जोड्न सक्नुपर्छ । तब, मात्र देशको समग्र विकासमा सहयोग पुग्छ ।
पछिल्लो समय व्यापार घाटा पनि उच्च मात्रामा बढ्दै गएको छ । यसलार्ई कम गर्न पनि हामीले कृषिलाई व्यावसायिक र रोजगार सिर्जनाको मुख्य क्षेत्र बनाउन सक्नुपर्छ । आज हजारौं कृषियोग्य जमिन बञ्जर भएर रहेको अवस्था छ । कृषिलाई सम्मानको दृष्टिले हेर्न सकिरहेका छैनौ ।
हिजोआजका सन्दर्भलाई नै हेर्ने होभने पनि विराटनगर वीरगन्ज नवलपरासीलगायतका उखु किसानले आफ्नो उत्पादन कौडीको भाउमा उद्योगमा दिनुपरेको छ । पहिलेको बक्यौता रकम नै पाएका छैनन् भने फेरि पनि बाध्य भएर उखु बाल्नु भन्दा उधारो दिन बिवश रहेका छन् । यता उपभोक्ताले भने चिनी प्रतिकेजी १०० रुपयाँ तिरेर किनिरहेका छन् । समयमा सरकारले उखुको मूल्य नतोक्दा किसान थप मर्कामा परेका छन् ।
देशका आममानवमा साना तथा घरेलु उद्योगमा काम गर्नुपर्छ यसले स्वदेशमा नै रोजगारी पाइन्छ भन्ने विश्वास नभएर पनि समस्या सिर्जना भएको देखिएको छ । हामीमा एउटा गलत सोचको पनि विकास भएर गएको छ । त्यो के हो भने स्वदेशमा श्रम गर्दा सानो मान्छे भइन्छ भन्ने आमधारणा रहेको पाइन्छ ।
अरूका देशमा जे–जस्ता काम पनि गर्न तयार रहने प्रवृत्तिले पनि श्रम बजार प्रभावित हुने गरेको छ । काम सानो र ठूलो हुँदैन भन्ने सोचको विकास गर्न सक्नुपर्छ ।