मान्छे स्वभावैले सदासर्वदा चलमलाइरहनु पर्ने प्राणी हो । कुनै न कुनै रूपमा सक्रिय भइरहनुपर्ने प्राणी हो । यस किसिमको चलमलाइ र सक्रियता नै सकारात्मक रूपमा जिन्दगी बाँच्ने आधार हो उसको । कुनै न कुनै किसिमको सकारात्मक सकसकी नै सक्रियताको मार्ग हो । यसले जिन्दगी गल्न दिँदैन, बरु बल्न सघाउँछ ।
यस्तो बलाइले आर्थिक तथा सामाजिक रूपमा जो कसैको जिन्दगी उज्यालिन्छ । जिन्दगीलाई सामाजिक रूपमा यसरी नै उज्यालो बनाउने काममा सकसकिएकी भेटिन्छिन् काभे्र धुलिखेल निवासी राधादेवी राजवंशी । चार दशकभन्दा बढी अवधिसम्म सरकारी सेवामा रहेर सफलतापूर्वक शिक्षण पेसा अँगालेकी राधा अवकासपछिको जीवनमा पनि सकिनसकी उत्तिकै सकसकिएर नेपाली साहित्यको भण्डारमा ‘छोरीको साहस’ देखाउन आइपुगेकी छिन् ।
मुखपृष्ठसहित जम्माजम्मी एक सय बत्तिस पृष्ठमा समेटिएको ‘छोरीको साहस’ उनको कथा सङ्ग्रहको नाम हो । जसमा कथाका अतिरिक्त नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य माया ठकुरीको शुभकामना, छोरीको साहसमा राधादेवी शीर्षकमा समेटिएको वरिष्ठ साहित्यकार मोहन दुवालको मिठो मन्तव्य, जीवनका विभिन्न कोणको प्रस्तुति शीर्षकमा पोखिएको डा.शैलेन्दुप्रकाश नेपालको सुललित शाब्दिक प्रस्तुति, कथाकार राधादेवी स्वयंको दुई शब्द अग्रभागमा र कथाको पश्चभागमा अनामणि प्रकाशनको तर्पmबाट प्रकाशनका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठ र गुरुआमालाई हार्दिक बधाई तथा शुभकामना शीर्षकमा काभे्रनिवासी साहित्यकार तारा के. सी. द्वारा अर्पित शब्दपुष्पहरू समेटिएका छन् ।
छोरीको साहस शीर्षकीय कथा यस कथा सङ्ग्रहभित्रको प्रतिनिधि कथा हो । कृतिगत हिसाबले यो उहाँको पहिलो कृति । बी.एड., एम.ए. सम्मको अध्ययन गरेकी राधा आप्mनो उर्वर वयमा एकचालिस वर्षसम्म नित्य निरन्तर शिक्षण पेसामा रमाइरहनु भयो । अक्षरसँग खेलिरहनु भयो । आपूm मात्र नभएर अक्षरमा अरूलाई पनि उत्तिकै खेलाइरहनु भयो । उनको अक्षर खेलाइमा रमाएका केटाकेटी अहिले व्यापार व्यवसायलगायत मुलुकका विभिन्न क्षेत्रमा आपूmलाई सफलतापूर्वक नचाइरहेका होलान् । यो राधादेवी र शिक्षण पेसाजस्तो पवित्र कर्ममा आपूmलाई समर्पित गरेका राधादेवीजस्ता सबैका लागि सन्तोषको विषय हो ।
‘छोरीको साहस’ भित्र छोरीको सहसदेखि शिक्षा र महिलासम्मका बाइस कथा समेटिएका छन् । यसमा सङ्गृहित कथाहरू एउटै लयमा बुनिएका छन् । एकै किसिमको शैलीमा कथिएका छन् । कोही कथा आफ्नै कथा व्यथासँग गाँसिएर वर्णनात्मक शैलीमा समेटिएका छन् भने कतिपय कथा कुनै न कुनै कोणबाट शिक्षाको सन्देश दिने खालका छन् । यो यस कथा सङ्ग्रहभित्र समेटिएका समग्र कथाको वैशिष्ट्य हो । जागिर जिन्दगीभर विद्यालयमा शिक्षार्जनका लागि आएका छात्र-छात्रालाई आदर्शको मार्गमा हिँडाउन हरप्रयत्न गरेकी राधाबाट यस किसिमको शिक्षाप्रद कथा जन्मनु अनौठो कुरो होइन । त्यसैले यो कथा सङ्ग्रह उहाँको स्वभाव र आदर्शको प्रतिविम्बन पनि हो भन्दा कुनै अत्युक्ति हुने छैन ।
सङ्ग्रहभित्र पहिलो कथाका रूपमा समेटिएको छोरीको साहस शीर्षकीय कथा एउटा नारी उत्प्रेरणादायी कथा हो ।
घरायसी शैक्षिक वातावरण प्रतिकूल हुँदाहुँदै पनि आफ्नै मेहनत र परिश्रमले सफल भएकी एउटी चेलीको साहसपूर्ण कथा हो । गाउँको विद्यालयमा सकिनसकी आठ कक्षासम्म पढाउन सकेका ती चेलीका अभिभावकले अब गाउँ बाहिर लगेर त्यसभन्दा बढी पढाउन नसक्ने, बरु अरूहरूका छोरीलाई झैं बिहे गरिदिने कुरा गर्न थालेपछि छटपटिएकी ती चेलीले शिक्षार्जनका लागि चालेको कदम र गरेको सङ्घर्षको एउटा गतिलो दस्तावेज हो छोरीको साहस कथा । जुन कथा जुन कुनै चेलीका लागि मात्र नभएर जुन कुनै चेलाका लागि पनि उत्तिकै पे्ररणादायी छ । अनुकरणीय छ ।
सङ्ग्रहभित्रको अर्को कथा हो,- संस्कार । यो कथा अलिकति लोकथाको विम्ब लिएर तयार गरेजस्तो देखिन्छ पढ्दै जाँदा । यहाँका केही पात्र आफूहरूलाई सामाजिक संस्कारभित्र आबद्ध गरेर अगाडि बढ्छन् त केही मात्र त्यस्तो संस्कारलाई वास्ता नगरी अघि बढेका देखिन्छन् । गरिब र धनीको कुरा पनि यसमा उठाइएको छ । मेहनत र परिश्रमले नै मानिसको प्रगति सम्भव छ भन्ने सन्देश कथामा छ । अझ यसभन्दा गतिलो सन्देश दुःखमा परेकाका लागि सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश पनि यस कथाले ओकलेको छ । समग्रमा सामाजिक मर्यादाभित्र रहेर अघि बढ्नुपर्ने सन्देश कथामा छ ।
योग्यता शीर्षकमा लेखिएको सङ्ग्रहभित्रको तेस्रो कथा केही सनातनीय धार्मिक क्रियाकलापसँग पनि गाँसिएको कथा छ । पूजापाठमा अलमलिनुभन्दा पढाइको योग्यता बढाउनेतिर समय खर्चिनुपर्ने सन्देश कथाले बोकेको छ । कथा नास्तिकभाव प्रधान छ । नमिता र रमिता मुख्य पात्र रहेका यस कथामा धनीकी छोरी नमिताले पढाइतिर त्यतिविधि ध्यान नदिएकी, पूजापाठतिर लागेकी, परम्परागत विवाह बन्धनमा बाँधिएकी, विवाहपश्चात अनेक समस्याले ग्रस्त भएकी र दुःख पाएकी कुरा उठाइएको छ भने रमिताका परिवार नमिताको भन्दा आर्थिक रूपमा कमजोर, रूढीवादी कुरातिर नलाग्ने, पढाइमा ध्यान दिने, अदालती बिहेमा विश्वास गर्ने, पछि गएर जागिर र पारिवारिक वातावरणमा उच्च सन्तोष प्राप्त देखाइएको छ । रमिता आप्mनो सम्पन्नताकाबिच पनि नमितासँग उत्तिकै घुलमिलमा रहेको र उसको दुःखमा साथ दिएको जस्ता प्रसङ्ग यसमा समेटिएका छन् । कथा पढिसकेपछि सनातनीय संस्कारप्रति विद्रोह भाव बोकेको यो कथाको सामाजिक सन्देश भने त्यति उपयुक्त होइन कि भन्ने सोच पाठकमा पलाउँछ ।
सङ्ग्रहभित्रको विश्वासघात चौथो क्रमको कथा हो । जसमा सकिनसकी गाउँमा एसएलसी गरेकी केटी नर्सिङ पढ्न काठमाडौँ आएपछि गलत सङ्गतमा परेको, पढाइ बिग्रिएको, पे्रमविवाहमा बाँधिएको, पे्रम गर्ने केटोको पहिलो श्रीमती पनि भएको, पछि निकै दुःख पाएको कथा यसमा समेटिएको छ । यो कथा सामाजिक परिवेशमा देखिइरहने घटना परिघटनाको विम्ब बनेर आएको छ ।
सङ्ग्रहभित्र पाँचौँ क्रममा रहेको खराब सङ्गत शीर्षकको कथा शीर्षकजस्तै भावभूमिमा दौडेको छ भने छैठौँ क्रमको क्यान्सर शीर्षक कथा कथाकारकै जीवनको सेरोफेरोमा रन्थनिएको कथाझैं लाग्छ जो कोही पाठकलाई । यसको यथार्थ के हो त्यो कथाकारले नै जान्ने विषय हो । कथानक कमजोर छ । सङ्ग्रहभित्र समेटिएको अर्को एउटा कथा छ बुढ्यौली । दुई छोरालाई भएको सम्पत्ति बाँडिएको, पछि यो छोरा र ऊ छोराको पछि लाग्दालाग्दै दुःख पाएको, बुहारीहरूले हेलाँ गरेको जस्ता सामाजिक सन्देश दिने खालको छ यो कथा । सोचनीय छ अहिलेको परिप्रेक्ष्यमा यो कथा ।
यो सामाजिक विकृतिको उपजका रूपमा जन्मेको कथा हो । सेवामुखीभन्दा आर्जनमुखी सोचले पारिवारिक विचलन निम्त्याएको कथा यो हो । यस्ता कथा हाम्रा समाजमा यतिखेर बाक्लै देखिन थालेका छन्, जुन परिस्थिति हाम्रो जस्तो समाजका लागि पाच्य छैन ।
छोरीको साहस शीर्षकीय यस कथा सङ्ग्रहभित्र यी र यस्तै कथाहरू समेटिएका छन् । विद्यालय अध्ययनमा लागेका बालबालिकालाई सामाजिक परिवेश अनुसारको सही सन्देश दिएर सही मार्गमा ल्याउन प्रयत्न गरिएका जस्ता लाग्ने कथा छन् अधिकांश । कथाकार आफू बाँचेको समाज र विगतमा अँगालेको पेसाकै सेरोफेरोमा नाचेका छन् अधिकांश कथा ।
कथाभित्रका कतिपय प्रसङ्ग धार्मिक आस्थामा खिया लगाउने प्रकृतिका पनि छन्, जुन आफ्नो धार्मिक पहिचान र सनातीय संस्कृतिको जगेर्ना गर्नुपर्छ भनि अघि बढिरहेको वर्तमान पुस्ताका लागि त्यतिविधि शोभनीय लाग्दैनन् । यस्ता कुरामा कथा वा अरू जुनसुकै विधामा कलम चलाउने साहित्यकारले चनाखो भएर कलम चलाउनु पर्छ । समाज र परम्पराप्रतिको विद्रोहले मात्र राष्ट्रको विकास सम्भव छैन ।
समग्रमा छोरीको साहसभित्र समेटिएका कथा जे जस्ता भए पनि कथाकार राधादेवी राजवंशीको अक्षरमोहप्रतिको सक्रियतालाई भने हृदयतः आदर र उच्च सम्मान गर्नैपर्छ । त्यतिविधि लामो शिक्षण पेसाबाट अलग भइसकेपछि पनि कुनै किसिमको थकान महसुस नगरी अक्षरकै खेतीमा रमाउने जुन उनको स्वभाव छ, त्यो भने सबैका लागि अनुकरणीय विषय छ । यस्तो सक्रियता जिन्दगीलाई सहज बनाउने क्रममा जो कसैका लागि पनि सकारात्मक ऊर्जा हुने कुरामा कुनै सन्देह छैन ।