• मंसिर ११ २०८१, मंगलवार

कृषकलाई सूचना नै नदिई भित्रभित्रै सुटुक्क बीउ वितरण

फाल्गुन ३ २०७९, बुधबार

रवि पाण्डेय, नवलपरासी । किसानका लागि छुट्याइएको लाखौं बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई विभेद गरेको छ । चालु आर्थिक वर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सूचना प्रकाशन नगरी वितरण गरेको हो । सूचना नदिई भित्रभित्रै घाँसको बीउ सहकारीमार्फत् बाँडियो, न नगरबाट सूचना भयो न सहकारीबाट नै सूचना भयो ।

रिजन एकीकृत कृषि तथा पशुफर्म बर्दघाट–१३ धनेवाका कृषक रामप्रसाद पौडेलले भने,‘सूचना नै नदिई अपारदर्शी तरिकाले काम गर्न समेत पाइँदोरैछ ।’
घाँसको बीउ वितरण कार्यक्रमको सूचना नै प्रकाशन नगरेर सहकारीमार्फत् बीउ वितरण गरिएको उनले जानकारी गराए ।

नगरक्षेत्रभित्र रहेका पाँचवटा सहकारीमा दुध बिक्री गर्ने किसानलाई मात्र घाँसको बीउमा प्रतिकिलो एक सय रुपैयाँ अनुदान दिएर नीजि क्षेत्रलाई दुध बिक्री गर्ने कृषकहरुलाई विभेद गरिएको किसानहरुको गुनासो छ ।

चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था चौपत्ता, वाल्मिकी बहुउदेश्शीय सहकारी संस्था बर्दघाट–७, साना किसान कृषि सहकारी संस्था बर्दघाट–९ मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था पञ्चनगर र विशाल बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१६ मा दुध बिक्री गर्ने कृषकहरुलाई घाँसमा अनुदान दिने र नीजि क्षेत्रलाई दुध बिक्री गर्ने किसानलाई अनुदान नदिने गरिएको कृषकहरुले बताएका छन् ।

बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरण कार्यक्रमको सूचना नै प्रकाशन नगरेर किसानलाई सूचनाबाट समेत बञ्चित गरेको बर्दघाट–२ का पशुपालक कृषक डिलबहादुर शाहीले गुनासो गरे । ब्यवसायिक पशुपालन फर्मबाट राजस्व संकलन गर्ने तर घाँसको बीउमा समेत भेदभाव गर्ने तरिका ठिक नभएको कृषक शाहीको भनाई छ । कुरा के हो बुझ्न सकिएन । शाहीले भन्नुभयो,‘नीजि क्षेत्रमा दुध बिक्री गर्ने कृषकले घाँसको बीउ समेत पाइएन । हामी कृषक होइनौं ? राजस्व सबैसँग लिने तर कार्यक्रममा भने विभेद गर्ने ?’

सरोकारवालाहरुले सहकारीमा दुध बिक्री गर्नेहरु मात्र कृषक र नीजि डेरीमा दुध बिक्री गर्नेहरु गैरकृषक जस्तो गर्नु राम्रो ब्यवहार नभएको बताउँछन् । राज्यले सरकारी, नीजि र सहकारी गरेर तीनखम्बे अर्थनीति अंगिकार गर्दै आएको छ । तर नीजि क्षेत्रलाई दुध बेच्ने कृषकलाई घाँसकै बीउबाट समेत बञ्चित गर्नु राम्रो होइन । एक कृषकले गुनासो गरे,‘नगरको भूमिका अभिभावकको जस्तो भएन ।’ कृषकका योजना कटौती गर्ने र घाँसमा दिने अनुदानमा समेत सहकारी र नीजि भनेर भेदभाव गरिएको कृषकहरुको दुखेसो छ ।

चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१४ चौपत्ताका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले सहकारीमा नगरबाट १० क्विन्टल सुडान घाँसका बिउ दिइएकोमा उतिबेला नै सकिएको दावी गरे । ‘हामीलाई २०–२५ क्विन्टल घाँसका बिउ आवश्यक थियो १० क्विन्टल आयो उतिखेरै सकियो’ उनले भने ।
बर्दघाट नगरपालिका पशुपन्छी तथा मस्त्य विकास अधिकृत भरत लम्सालले नगरपालिकाले दुध उत्पादन गर्ने कृषकलाई गतवर्षको उत्पादन अभिलेखको आधारमा प्रतिलिटर एक रुपैयाँ र घाँसमा अनुदान दिने निर्णय भएकोले सोही निर्णय अनुसार काम गरेको बताए । जे निर्णय भएको हो त्यो अनुसार काम भइरहेको छ, उनले भने,‘अहिले त्यो कार्यक्रम नै छैन ।’

लम्सालले नगरमा उत्पादन हुने करिब ३२ लाख लिटर दुध उत्पादन भइरहेको शाखाको अनुमान छ । वार्षिक करिब १६ लाख लिटर संगठित संस्थामा संकलन हुने र बाँकी १६ लाख लिटर दुध निजी क्षेत्रमा खपत हुने गरेको उनले जानकारी गराए ।