नेपालमा पिपिआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राहरुको मृत्यु भई कृषकहरुले निकै ठुलो आर्थिक क्षति व्यहोर्नु परेको साथै यसबाट देशमा मासुको आपूर्तिमा कमी हुन गई विदेशबाट खसी बोका तथा मासु आयात गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै पिपिआर नियन्त्रण गरी मुलुकलाई आत्मनिर्भर गर्न तथा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव हटाउनको लागि पिपिआर रोग नियन्त्रण अभियानको महत्वपूर्ण भूमिका रहन्छ ।
पिपिआर भेडा बाख्रामा लाग्ने अति घातक संक्रामक रोग हो । यो रोग Paramyxoviridae Morbillivirus बाट लाग्दछ । यसलाई भेडा बाख्राको हैजा (Sheep and Goat Plague) पनि भनिन्छ । नेपालमा यो रोग भारतबाट २०५१ सालमा भित्रिएको अनुमान गरिएको छ । नेपालमा यस रोगले २०५४ देखि २०५७ सालसम्म ठुलो संख्यामा भेडा बाख्रा मरेका थिए ।
यो रोग नेपालको धनुषा जिल्लामा विसं २०५२ (1994-95 AD) सालमा पहिलो पटक देखापरी प्रयोगशालाबाट रोग निदान भएको थियो । सुरुमा अफ्रिकामा महादेशमा सिमित रहेको यो रोग हाल विश्वका धेरै मुलुक यो रोग फैलिसकेको छ । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएपनि नयाँ ठाउँमा फैलिंदा करिब ८० प्रतिशत मृत्यु दर हुने गर्दछ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबै भन्दा प्रभावकारी पद्धति व्यापक रुफमा खोप लगाउने (Mass vaccination ) नै भएकोले खोप कार्यक्रमलाई प्रभावकारी तवरले सञ्चालन गर्न अपरिहार्य छ ।
यस रोगका लक्षणहरुमा ज्वरो ४० देखि ४१ डिग्री सेल्सियस (१०४ देखि १०६ डिग्री फरेनहाइट) आउने, जनावर लोसे, शान्त वा चमक हुने, नाकबाट पानी बग्ने कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने सिंगानको पाप्रा बनि नाकको प्वाल बन्द हुने, स्वास फेर्न गाह्रो हुने, आँखा रातो कचेरा निकस्कने निरन्तर आँशु बग्ने, गिजामा कनिका छरेजस्तो ससाना दाना देखिने, अत्यधिक रगत नमिसिएको झाडापखाला लाग्ने र जल वियोजन हुने, हाडछाला हुने गरी दुब्लाउने, स्वास फेर्ने गाह्रो हुने, शरीरको तापक्रम घटेर जाने, रोग लागेको ५ देखि १० दिनमा मृत्यु हुने, समयमै उपचार गर्न सकेमा पशु निको हुन पनि सक्दछ ।
यसको खास उपचार नभए पनि लक्षणको आधारमा उपचार गर्न सकेमा रोग निको पनि हुनसक्दछ । रोग नियन्त्रणको सबै भन्दा उत्तम उपाय समयमै पिपिआर विरुद्ध खोप लगाउनु हो । यस रोग विरुद्ध हरेक ३–३ वर्षमा खोप लगाउनु पर्दछ । खोप लगाउँदा ३ महिना उमेर माथिका सबैलाई लगाउनु पर्दछ । यस रोगका विरुद्ध पहिलो पटक ३ महिनाको उमेर पुरा भएपछि लगाउने र तत्पश्चात खोप लगाउदा हरेक ३–३ वर्षको फरकमा फागुन देखि चैत्र महिनामा लगाउनु पर्दछ । खोप लगाउँदा सानो वा ठुलो भेडा बाख्रालाई १ एमएल मासु वा छालामुनी लगाउनु पर्दछ ।
अन्यत्रबाट ल्याएका भेडा बाख्राहरुलाई खोप लगाएर २१ दिन छुट्टै राख्नु पर्दछ । फार्ममा जैविक सुरक्षा कडाईका साथ अवलम्वन गर्नु पर्दछ । रोग नियन्त्रण प्रभावकारी बनाउनको लागि चाल्नु पर्ने कदमहरु निम्न अनुसार रहेका छन । जस्तैः पशु क्वारेन्टाइन जाँच प्रभावकारी बनाउनु पर्ने, नियमित रुपमा खोप तालिका अनुरुप खोप लगाउनु पर्ने, सिरो सर्भिलेन्स र सिरो मोनिटरिङ्ग गर्नु पर्ने, पिपिआर रोग बारे व्यापक प्रचार प्रसार गर्नु पर्ने, योजनावद्ध तरिकाले खोप सेवा प्रवाह गर्ने ।
पिपिआर रोग सबै भन्दा पहिला सन् १९४२ मा आइभरिकोष्टमा देखा परेको हो । यो रोग गौगोटी रोगसँग मिल्दोजुल्दो भए पनि साना पशुहरुमा मात्र लाग्ने गर्दछ । विश्व पशु स्वास्थ्य संगठन (Office International des Epizooties – OIE) र संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (Food and Agriculture Organization of United Nations – FAO) ले सन २०३० सम्म पिपिआर उन्मुलन गर्ने रणनीति अधि सारिसकेको परिपेक्षमा पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यान्वयनको माध्यमबाट यस रोगलाई प्रभावकारी तवरले नियन्त्रण गर्नको लागि बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाद्वारा गत आर्थिक वर्ष २०७८/७९ मा पिपिआर / (Peste Des Petits Ruminants) रोग नियन्त्रण कार्ययोजना, २०७८ स्वीकृत गरी २०७८ साल माघ २५ गते देखि २०७८ साल फागुन २ गते सम्म पिपिआर खोप अभियान सञ्चालन गरी ६४३१४९ वटा बाख्रा र ४६०० वटा भेडा गरी जम्मा ६४७७४९ वटा भेडा र बाख्रामा खोप गरिएको थियो ।
बागमती प्रदेशमा भेडा र बाख्राको संख्या करिब २४ लाख ४४ हजार ८५६ भेडाबाख्राहरुको लागि संघीय सशर्त अनुदान अन्तरगत ११ लाख ९० हजार डोज पिपिआर खोप उपलब्ध भएकोमा ६ दिनको अवधिमा उपलब्ध खोपको करिब ५४ प्रतिशतलाई खोप कार्य गरिएको थियो ।
चालु आर्थिक वर्ष २०७९/०८० मा भेडाबाख्राको संख्या २६ लाख १३ हजार २३२ वटाको लागि संघीय सशर्त अनुदान अन्तरगत १२ लाख ६९ हजार डोज पिपिआर खोप उपलब्ध भएको छ । गतवर्ष झैं यसवर्ष पनि बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिति २०७९–११–१ देखि २०७९०–११–७ गते सम्म भेडाबाख्रामा लाग्ने पिपिआर / (Peste Des Petits Ruminants) रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०७९ स्वीकृत गरी लागु गरिएको छ ।
खोप अभियान सञ्चालन गरी पिपिआर रोग नियन्त्रण गर्ने प्रदेश भरी पिपिआर रोग न्यूनिकरणका लागि जनचेतनामूलक फैलाउने र भेडा बाख्रापालनमा असल अभ्यासलाई प्रभावकारी ढंगबाट अवलम्बन गराउन सहयोग पुर्याउने उद्देश्य रहेकोछ ।
यसरी स्पष्ट कार्ययोजना बनाई खोप कार्यक्रम सञ्चालन गर्दा छोटो समयमा एकै चोटी धेरै पशुहरुलाई खोप लगाउन सकिने तथा खोप कार्यक्रमको प्रभावकारी कार्यसम्पादन तथा प्रभावकारी अनुगमन तथा निरीक्षण हुन जने देखिन्छ ।
गत वर्ष बागमती प्रदेश भरीका स्थानीय तह पशु सेवा शाखाहरु, बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु र मन्त्रालय र संघीय अन्तरगत पशु सेवा विभाग र मातहतका राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वर र केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर लगायतका सरोकारवाला निकाय तथा बाख्रा व्यवसायी महासंघ र मातहतका संघहरुसंगको सहकार्य, समन्वय र सहजिकरण गरी प्रभावकारी रुपमा खोप अभियान सफल पारिएको थियो भने यस वर्ष पनि गत वर्ष झै सबै सरोकारवाला निकायहरु, स्थानीय जनप्रतिनिधिहरु, बाख्रापालक कृषकर उद्यमी र व्यवसायी, नेपाल व्यवसायिक बाख्रापालक महासंघ र मातहतका संघ, राजनीतिकर्मी, सामाजसेवी, बुद्धिजीवि, पत्रकार तथा मिडियाकर्मीहरु लगातयका सम्पूर्ण सरोकारवालाबाट सहयोग हुने बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अपेक्षा गरेको छ ।
बाख्रापालक कृषक, उद्यमी तथा व्यवसायीहरुले आफ्नो स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क राखी तोकिएको पिपिआर खोप केन्द्रमा आफ्ना भेडाबाख्राहरुलाई पिपिआर खोप लगाई पिपिआर महामारीबाट हुने पशुधनको जोगाउनु सचेत हुन अपरिहार्य छ ।
(लेखक बासुदेव नाथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)