काठमाडौं । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले रविको बारेमा समाचार प्रकाशित भएपछि कान्तिपुर पत्रिका जलाए । जुन विषय अहिले सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा आइरहेका छन् ।
सरकार छोड्नु पर्दाको झोंक र आवेगमा सो पार्टीका सभापति रवि लामिछाने नेपालमा कान्तिपुर, अनलाइनखबर, रातोपाटी, सेतोपाटी लगायत १२ वटा सञ्चारमाध्यामाथि खनिए । पत्रकार सम्मेलनमा उनी निकै आक्रोसित मुद्रमा प्रस्तुत भए । पत्रकार सम्मेलन मार्फत् उनले सरकारबाट आफ्नो पार्टी बाहिरिएको कुरा मात्रै गरेनन् आफूभित्रको गुम्सिएको कुण्ठा पोख्ने माध्यम पनि बनाए । आफ्नोविरुद्ध लेख्ने दर्जनजति मिडियाहरुलाई ‘आइन्दा आफ्ना बारेमा त्यसरी लेख्यौ भने कारवाही गर्छु’ भन्ने धम्की पनि दिए ।
यस्तो धम्की दिएको २४ घण्टा नबित्दै उनका कार्यकर्ताले कान्तिपुर दैनिक जलाए । जलाउन नमिल्ने डिजिडल मिडियालाई के कारवाही गर्लान् ? त्यो भने हेर्न बाँकी नै छ । कान्तिपुरले पनि रविका बद्मासी भनेर लामै फेहरिस्त छाप्यो । यी २ बिचको जुहारीको कारण के हो ? समयक्रममा बाहिर आउला नै । अथवा स्वार्थहरु मिले भने आजभोलीका मिडियाबाजीहरु सामसुम हुन पनि सक्छन् । रविले अमेरिका गएपछि खारेज भएको नागरिकता प्रयोग गरेर नेपालमा मिडिया उद्योग चलाएको, पार्टी दर्ता गरेको र निर्वाचन जितेको स्वीकार गरेका छन् ।
सर्वोच्च अदालतको फैसला मान्छु भन्नुको अर्थ यही हो । उनका बारेमा सार्वजनिक भएका समाचारहरु हेर्दा उनले २ वटा डुंगामा खुट्टा हालेको देखिन्छ । एउटा पुरानै नागरिकता प्रयोग गरेर नेपालमा व्यवसाय गरेको देखिन्छ भने अर्को उनीविरुद्ध मुद्दा पर्नुअघिसम्म आफू नेपाल आएको र अब अमेरिका नफर्कने जानकारी नेपालमा रहेको अमेरिकी दुतावासलाई जानकारी नगराएको देखिन्छ । नेपाल सरकारलाई पनि आफू अमेरिका छोडेर नेपाल आएको र अब नफर्कने जानकारी नदिएको देखिन्छ । यस्ता अरु तथ्यहरु पनि होलान् । यसरी उनले गर्नुपर्ने धेरै कानूनी प्रावधान र प्रकृयाहरुप्रति बे-वास्ता गरेका छन् । यस्तो बे-वास्ता उनले किन गरे ? राज्यलाई नै चुनौती दिएर त्यही राज्यमा कसरी बस्न सकिन्छ ? भनेर रविले किन सोंचेनन् । वा जानाजान कुनै स्वार्थका लागि उनलाई प्रयोग गरियो ? जनसाधारणले होइन, संसारको विश्वव्यापी राजनीति बुझेकोले मात्रै यसको साङ्गोपाङ्गो व्याख्या गर्न सक्छन् ।
पुरानै नागरिकता प्रयोग गरेर नेपालमा व्यवसाय गर्ने र यता कामकाज राम्रो हुने छाँटकाँट नदेखिएमा अमेरिकातिरै फर्कन सजिलोका लागि अमेरिका गएपछि लिएको पासपोर्ट पनि साथमै राखेकाले उनले ‘माछा देखे दुलोमा हात, सर्प देखे बाहिर हात’ गर्न खोजेको देखिन्छ । हुन त उनले हिजो मिडियामार्फत् अरुलाई यस्तो प्रवृतिको भारी बोकाउँथे । जे होस् उनको यो विषय आजको नेपालमा र विश्वमा छरिएर रहेका नेपालीहरुको लागि निकै चासोको विषय बनेको छ, बनाइएको छ । उनको मुद्दामा हालै मात्र सर्वोच्च अदालतले गरेको फैसलाले अब २ वटा नागरिकता लिनेहरु वा लिएकाहरुलाई सबक सिकाएको हुनुपर्दछ । रविको यो घटनाले नेपालमा बसेर विदेशको ग्रिनकार्ड वा नागरिकता लिएहरुलाई पनि छानबिन गरेर भकाकभ कारवाही गर्नुपर्ने बाटो खोलिदिएको छ । तर सत्ताको वरिपरि बसेकाहरुले नै यस्ता काम गर्ने भएकोले ती र त्यस्तालाई कारवाही होला भन्ने आशा भने अहिले गर्न सकिन्न ।
सरकार छोड्न पर्दाको आक्रोसले नेपालमा बौद्धिक व्यक्तित्वहरुमा पनि एकखाले तरंग पैदा गरिदिएको छ । हो उनले भ्रष्टाचार विरुद्धको प्रचार अभियान र विदेशमा अलपत्र परेकाहरुको उद्दारका लागि केही राम्रा काम पनि गरेका होलान् । तर उनले गरेको राज्यविरुद्धको प्रहार र पीडित नेपालीहरुको मतलाई नगदमा बदल्नका लागि आत्मघाती बाटो पनि अंगालेका छन् । रविले अंगालेको बालापनलाई विभिन्न उपनामले व्याख्या गर्ने विश्लेषकहरु पनि छन् ।
अर्कोतिर उनले आरोप लगाएका मिडियाहरु उनका विरुद्द किन लागे ? भन्ने प्रश्न पनि उठिरहेको छ । उसो भए के उनीहरुले बद्मासी काम गर्दै जाने, आपसमा जुध्दै जाने अनि नेपाली जनता चाहीँ रमिते बनेर हेर्ने ? उसो भए यी घटनाहरु के हुन् त ? पूर्वप्रमुख जिल्ला अधिकारी आनन्दराम पौड्याल रविको यो कदमलाई आत्मघाती लापरवाही ठान्दछन् । उनी भन्छन्, ‘रविले निकै हेल्चेक्र्याईं गरेका थिए ।’ उनको बुझाइमा ‘रविले ‘सिधा कुरा जनता’मार्फत् धेरैलाई चिढ्याएका थिए । फलस्वरुप उनका कमजोरी पनि कसैले भेटाए अनि लेखेटे, भएको यही हो ।’
यता लामो समयदेखि राजनीतिक तथा समसामयिक विषयमा खोज तथा विश्लेषण गर्दै आएका प्रा.डा. सुरेन्द्र केसीलाई रवि र उनको पार्टीका गतिविधि देखेर अचम्म लागिरहेको छ । रवि स्वतन्त्र पार्टीका हुन् वा स्वतन्त्र पार्टी रविको हो ? अचम्म लागेको डा. केसीको भनाई छ । यो सबैको नभई रविको मात्रै पार्टी हो भन्ने कुरा सबै मन्त्रीले राजीनामा दिनुबाट पुष्टि भएको डा. केसीको तर्क रहेको छ । केसीको बुझाईमा सरकार बन्नका लागि १३८ सांसदको समर्थन भए पुग्नेमा रविको सहित १६९ सांसद किन चाहिएको हो ? अचम्म छ । के रविलाई मन्त्री बन्ने तिब्र चाहनाले त कतै काम गरेको थिएन ? केसी प्रश्न गर्छन् । वास्तवमा नागरिकताको छानबिनमा परेको रवि लामिछाने मात्र हो । अदालतले मुद्दा फैसला गरेको पनि रविको मात्रै हो तर त्यो पार्टीका सबै मन्त्रीले किन राजीनामा दिनु पर्ने हो ? यो प्रश्न पनि जब्बर बनेर आएको छ । आज रवि, उनको पार्टी र उनको पार्टीका नेताका बारेमा धेरै प्रश्न उठेका छन् ।
सबै लागेर आफ्नो पार्टीको नेताको हुर्मत लिएपछि अरु मन्त्री पनि सरकारमा कसरी बस्थे र ? भन्ने भनाई पनि केसीको रहेको छ । अगुवाले जे भन्यो त्यो मान्ने, अरु केही पनि गर्न र भन्न नसक्ने बबुरा जस्ता नेता देखिए सो पार्टीका । डा.केसीको भनाईमा रविको पार्टी, पार्टी नभई क्लब जस्तो छ । जहाँ क्लबको कमाण्डरले जे भन्यो अरुले खुरुखुरु मान्नु पर्दछ । पत्रकार सम्मेलनमार्फत् रविले आफ्नै त्रुटीका कारण पद गुमेको स्वीकारेका पनि छन् । तर ठूला मिडियाले आफ्ना विरुद्धमा प्रचार गरेको भन्दै आक्रामक भएपछि उनी बाध्य भएर अदालतको फैसला स्वीकार्न बाध्य भएका हुन् । पत्रकार सम्मेलनमा रविको आक्रोस पछि एमाले नेता भीम रावलले उनको अभिव्यक्तिको छानबिन गर्नु पर्ने माग राखेका छन् ।
हिजोको संसद बैठकमा रविको रक्षा गर्दै ३ घण्टा मन्तव्य दिएका एमाले अध्यक्ष केपी ओलीले बोले पनि रावलले गरेको रविको छानबिनको माग त कसरी पूरा होला र ? रविले गल्ती गरेको भएपनि अरु मन्त्रीले गल्ती नगरेको अवस्थामा उनीहरुले मन्त्री पदबाट राजीनामा दिन नहुने विचार राख्छन् राजनीतिक विश्लेषक लहानु चौधरी । यो घटनाले युवाहरुलाई राजनीतिमा आउनमा बाधा परेको उनको भनाई रहेको छ ।
यता नेकपा (मार्क्सवादी)का नेता अम्बिका ठैव भने रविको यो नागरिकता प्रकरणलाई अन्तराष्ट्रिय राजनीतिसित जोडेर हेर्छन् । उनको बुझाईमा हिजो जसरी तराईमा नागरिकताको विषय जटिल बनाइन्थ्यो, आज त्यसैगरी पहाडमा पनि यो विषयलाई जटिल बनाइ नेपालमा उथलपुथल बनाएर विदेशीलाई पनि नेपाली नागरिकता दिलाउने अमेरिकी खेल भएको उनको दावी रहेको छ ।
रविको नागरिकता काण्ड पनि अमेरिकाले जानाजान उठाएको ठैबको भनाई रहेको छ । नेपालमा नागरिकताको विषय उठाउनु अमेरिकाको लागि के फाइदा छ त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्,‘गैरनेपाली शरणार्थीहरुलाई पनि नेपाली नागरिकता दिलाएर चीनविरुद्ध प्रयोग गर्नका लागि अमेरिकाले यो खेल खेलेको छ । साँच्चै जनताको सेवाको लागि राजनीति गरेको भए रवि सत्तामा नगएर प्रतिपक्षमै बसेको भए हुने उनको तर्क रहेको छ ।
नेपालका हरेक क्षेत्रमा नयाँ नयाँ काम गर्ने उद्धेश्यले नयाँ व्यक्ति उदाउने वा नयाँ संगठन र पार्टीहरु खुल्ने क्रम नयाँ होइन तर ती संगठनहरु साँच्चिकै स्वतन्त्ररुपमा खुल्ने गर्छन्, साँच्चिकै सेवाको भावले व्यक्तिहरु सतहमा आएका हुन्छन् ? जताततै आशंकाहरु पलाएका छन् । यसको सत्यता खोज्न तथ्यमा जानै पर्दछ । भाषण र सस्तो लोकप्रियतामा बग्ने गर्नु हुँदैन । यता रविले गृह मन्त्रालय नै रोज्ने र नपाएको अवस्थामा अरु मन्त्रीहरुलाई पनि राजीनामा दिन लगाउनुको कारण के हो ? अर्को भयंकर शंकाको घेरामा रहेको प्रश्न यो पनि हो । यसबारे पनि दुनियाँ अचम्म परेको छ । के उनी गृहमन्त्री बनेर आफ्ना दुश्मनलाई तह लगाउन चाहन्थे ? नत्र जनताको सेवा नै गर्न चाहेको हो भने त अरु मन्त्रालय लिएर वा लिएकै मन्त्रालयबाट पनि धेरै सुधारका काम गर्न सकिने अवस्था छँदैछ । यदि यो नै साँचो हो भने आगामी दिनमा उनको पार्टीले तय गर्ने कार्यक्रमले स्पष्ट पार्ने नै छ ।