वर्तमान पृथ्वीमा दुई सयभन्दा बढी देश रहेका छन् । यसमा झण्डै ७१ प्रतिशत महासागर छन् । जमिन भने जम्मा १४ करोड ७९ लाख २० हजार ८८० वर्ग किलोमिटर मात्र छ ।
सबैभन्दा ठूलो महादेश एशियामा रहेको नेपालले पृथ्वीको ० दशमलब १ एक प्रतिशत भूभाग ओगटेको छ । हाल पृथ्वीमा ८ अर्ब मानिसको बसोवास गर्छन् ।
पृथ्वी ग्रह हो र यो सूर्य नामक ताराको सौर्यमंडलीय परिवारको एउटा सदस्य हो । यो सूर्यदेखि १४ करोड ९६ लाख किलोमिटर टाढा रहेको छ ।
सूर्यबाट प्राप्त हुने प्रकाश र तापले यो शस्यस्यामला बनेको छ । पृथ्वी शस्यस्यामला हुनुको कारण यही एकका पछाडि २८ शून्य थप्दा बन्ने संख्याका संयोग जुटेकाले हो ।
पृथ्वीमा जीवन सम्भव हुनुमा यो सूर्यदेखि ‘परफेक्ट’ (ह्याविटेबल जोन) दूरीमा हुनु परम सौभाग्य प्राप्त हुनु हो । पृथ्वीमा जीवन हुनुको पछाडि रहेका अनन्त संयोग मध्येको महासंयोग सूर्य र पृथ्वी बीचको ठिक्कको दूरी नै हो ।
यसभन्दा नजिक भए अत्यधिक तापका कारण बुध र शुक्र जस्तै अत्यधिक तातो र यसभन्दा टाढा भएको भए मंगल, बृहस्पति, शनिजस्तै चीसो हुनाले जीवनका लागि आवश्यक हुने ताप नै नपुगेर जीवन सम्भव हुने थिएन ।
आकाशमा झुन्डिएको पृथ्वी सूर्यको प्रबल गुरुत्वाकर्षणका कारण सूर्यसँग बाँधिएको छ । यहि गुरुत्वाकर्षणका कारण सौर्यमंडलका सारा पिण्ड बुध ग्रहदेखि वरुणसम्म र आआफ्नो स्थानमा आकाशमा तर्लाङतुर्लुङ झुन्डिएको अवस्थामा रहेका छन् ।
पृथ्वीले सूर्यको परिक्रमामा ३६५ दिन (१ मानव वर्ष) लगाएजस्तै क्षुद्रग्रह यमलाई आफ्नो आर्बिटमा एक चक्कर पूरा गर्न २४८ वर्ष लाग्छ । सबैभन्दा टाढा रहेको क्षुद्र ग्रह सेडनाले भने सूर्यको एक परिक्रमा गर्न ११ हजार ३९० वर्ष (मानव वर्ष) लगाउँछ ।
सूर्यको प्रकाश सेडनासम्म पुग्न साढे ५ दिन अर्थात् १३२ घण्टा लाग्छ । वैज्ञानिक भाषामा सूर्यदेखि सेडना ५ दशमलब ५ प्रकाश दिन टाढा रहेको छ । हामी बसेको पृथ्वी भने सूर्यदेखि ८ मिनेट १८ प्रकाश सेकेण्ड टाढाको दुरीमा छ ।
प्रकाश एक सेकेण्डमा २ लाख ९९ हजार ७९२ किलोमिटर हिँड्छ । प्रकाश सेकेण्ड, प्रकाश मिनेट, प्रकाश दिन र प्रकाश वर्ष भनेको सूर्यबाट सबैको दूरी नाप्ने यूनिट हुन् ।
सूर्यदेखि ८ मिनेट २० सेकेण्ड टाढा रहेको पृथ्वीले जस्तैगरी ५ दशमलब ५ प्रकाश दिन टाढा रहेको सेडनाजस्तै ११५ प्रकाश दिन टाढा रहेको ऊर्ट क्लाउड सम्ममा रहेका पिण्ड सूर्यको परिक्रमा गर्छन् ।
सौर्यमण्डल अथवा सूर्य परिवारका ज्ञात सदस्यमध्ये ८ वटा ग्रह, ५ वटा क्षुद्र ग्रह, २१९ वटा चन्द्रमा (प्राकृतिक उपग्रह), ११ लाख १३ हजार ५२७ ऐस्टेरायड, ४ हजार ५८४ धूमकेतु रहेका छन् भने अज्ञात पिण्डको संख्या १ खर्बभन्दा बढी हुनसक्ने अनुमान छ ।
यी सारा ज्ञात/अज्ञात सबै पिण्ड सूर्यको गुरुत्वाकर्षण शक्तिले आकाशमा झुन्डिएका छन् । अब प्रश्न उठ्छ, पृथ्वी र सौर्यमण्डलको अन्य कुनै पिण्ड सूर्यको गुरुत्वाकर्षणबाट बाहिर गयो भने के हुन्छ ?
सौर्यमण्डलका कुनै पनि खगोलीय पिण्ड आकाशमा सूर्यको गुरुत्वाकर्षणले बांधिएर सूर्यको परिक्रमा गरिरहेको छ । पिण्ड गुरुत्वाकर्षणले मुक्त भएर खस्ने होइन । उन्मुक्त आकाशमा खस्ने ठाउँ नै छैन ।
पृथ्वीमा रहेर यो कुरा बुझ्न गाह्रो भए पनि पृथ्वी बाहिरबाट पृथ्वी नियाल्दा यो स्पष्ट हुन्छ । पृथ्वी अनन्त आकाशमा घुमिरहेको एउटा गोलाकार आकृति हो, जसको चारैतिर अनन्त आकाश व्याप्त छ ।
कुनै पनि पिण्ड होस् वा पृथ्वी कदाचित् सूर्यको गुरुत्वाकर्षणबाट मुक्त भयो भने अनन्त आकाशमा आवारा गति गर्दै अघि बढ्छ । ब्रह्माण्डमा यस्ता थुप्रै आवारा ग्रह छन् ।
खगोलशास्त्रीहरुले यस्ता पिण्डलाई ‘रफ प्लानेट’, ‘फ्री फ्लोटिंग प्लानेट’, नोमैड, ओरफन, स्टारलेस, अनबाउंड, वन्डरिंग प्लानेट आदि नाम दिएका छन् । मिल्कीवे आकाशगंगामा यस्ता ‘वन्डरिंग प्लानेट’को संख्या अर्बौ हुनसक्ने अनुमान गरिएको छ ।