• आश्विन १४ २०८१, सोमबार

मगर समुदायको माघी महोत्सव समापन (तस्विरहरू सहित)

माघ २ २०७९, सोमबार

काठमाडौं । मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न भएको छ । मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदान प्रदान गरि भव्य र सभ्यका साथ महोत्सवको समापन गरिएको हो । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र उसका सम्पूर्ण भातृसंगठनहरु तथा त्यसमा आद्ध संस्थाहरुको सह-आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईद्वारा पानसमा दीप प्रज्वलन गरि गरिएको थियो । कार्यक्रमको तालिका अनुसार प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने रहेको भएपनि पोखरामा भएको यती एअरको विमान दुर्घटनाको कारणले उनी उपस्थित हुन सकेनन् ।

कार्यक्रमका प्रमुख अतिथि राईले नेपालको आर्थिक सम्बृद्धिमा मगर समुदायको अतुलनीय योगदान रहेको बताए । उनले मगर समुदायलाई अझ जागरुक भई आगामी दिनहरुमा थप प्रगति गर्न पनि हौसला प्रदान गरे । उनले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रमका विशेष अतिथि तथा मगर संघ केन्द्रिय समितिका निवर्तमान अध्ययक्ष तथा अन्तरराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगरले यो देश निर्माणमा मगर समुदायले पसिना र रगत खर्चेको बताए । उनले सम्पूर्ण मगर जाति आफ्नो शिर ठाडो पारी जिउन चाहेकाले सिंहदरबारको सुविधा सबैमा समान हुनुपर्नेमा सरकारको ध्यानाकार्षण गरे । उनले नेपालको प्रथम सहिद घोषणा गरिएका लखन थापामगरको सालिक सहिद गेटमा नरहेकोमा आपत्ति जनाए ।

अध्यक्ष रोकामगरले सरकारको हरेक तह र तप्कामा प्रथम सहिद लखन थापाको फोटो राख्नुपर्नेमा जोड दिए । अन्त्यमा पूर्वदेखि पश्चिमसम्मका मगर संस्कृतिको संरक्षणमा जोड दिन मगर संघलाई अनुरोध गरे ।

त्यसैगरी आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले जनजाति र वीर मगरहरुको योगदानबाट नेपालमा गणतन्त्र स्थापित भएको बताए । उनले देश निर्माण कार्यमा आदिवासी जनजातिबाट ८४ जना सांसद चुनिएकाले सम्पूर्ण जातिको समस्या सम्बोधन भई देशको विकास हुनेमा विश्वास व्यक्त गरे ।

उनले हाल सरकारले जनतालाई लाभान्वित गर्न सकिने कार्य जस्तै लाइसेन्स र पासपोर्ट सहजै प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अर्का विशेष अतिथि तथा संस्कृतिविद् बमकुमारी बुढामगरले माघे सकराती पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धि छावस् भन्दै सबैमा शुभकामना व्यक्ति गरिन् ।

उनले माओवादी जनयुद्धमा पनि मगर समुदाय सहभागी भएको बताइन् । उनले २०६५ सालदेखि नै मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति टुडिखेलमा मनाउँदै आएको स्मरण गराइन् । उनले परापूर्व कालमा जौंको खेती गरेपछि परीक्षण गरी बिस्तारै भित्राउने गरेको र यहि जौंले भोकमरीको समस्या अन्त्य भएको हुनाले माघे सकराती मनाउँदै आइएको इतिहास पनि सुनाइन् ।

औपचारिक कार्यक्रमको समापनको अवसरमा बोल्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले नेपालका मगरहरुले आफ्नो भाषा, भेषभूषा र पहिचानमा गर्व गर्नुपर्ने भन्दै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताए । साथै उनले आजसम्म संस्कृति मन्त्रालयमा नेपालको एउटा पनि जातिको संस्कृतिको बारेमा दर्ता नहुने दुःखद विषय भएको बताए । कार्यक्रममा नेपालको पूर्वदेखि पश्चिमका मगर समुदायले मनाउने विभिन्न कला र साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको पश्चिम भेगमा नाचिने पैंस्यारु, भुमे, घाटु र मारुनीदेखि पूर्वको हुर्रा आदि नाचहरु प्रस्तुत गरिएको थियो ।

तस्विर : रोमन बुढामगर