कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका-६ गोरालवाडास्थित महादेव मन्दिरमा हरेक वर्षको भाद्र पूणर्िमामा मेला लाग्छ । यो तिथिमा दलित समुदायले आफ्नो कुल देउता खोदाई महादेव मस्टलाई पुज्ने गर्छन् । गत साल भाद्र ३ र ४ गते यो तिथि परेको थियो ।
जात्राको दोस्रो दिन त्यही गाउँकी १६ वर्षीया निरू विक आफ्नी साथीहरूसँग जात्रा हेर्न गइन् । तर उनी राति अबेरसम्म पनि घर फर्किनन् । परिवारलाई लाग्यो-‘छोरी कुनै साथीको घरमा गएकी होलिन्, भोलि बेलुकासम्म घर फर्केलिन् ।’ तर, निरू ५ गते रातिसम्म पनि घर पुगिनन् ।
गाउँघरमा सानै उमेरमा भागेर विवाह गर्ने चलन अहिले पनि छ । त्यसैले परिवारमा शंका उब्जियो, कतै भागेर पो गइन् कि ? परिवारले सोधखोज गर्न थाल्यो । उनका साथीहरूलाई सोधियो, तर सबैले निरूबारे आफूलाई थाहा नभएको बताए ।
बाबुआमालाई चिन्ताले गाँज्न थाल्यो । सबैतिर खबर गरेर सोधखोज अझ तीव्र पारियो । घरबाट हिँडेको ४ दिनपछि अर्थात् भाद्र ७ गते उनीबारे खबर आयो तर, खबर जे थियो त्यो सुखद थिएन । निरू घरभन्दा अलि टाढाको मकैबारीमा भेटिएकी थिइन्, तर निष्प्राण ।
उनको शवको अवस्था विभत्स थियो । टाउको, हात, खुट्टालगायत धेरै अंगहरू थिएनन् । स्यालले अंगहरू लुछेका थिए । शरीरमा न कपडा थियो न चिनिने अवस्था नै । तर, घटनास्थनमा भेटिएका पोशाकले उनको शवको पहिचान भयो । घरबाट ठम्ठम गर्दै गएकी छोरीलाई त्यस्तो अवस्थामा भेट्दा परिवार विक्षिप्त बन्यो ।
प्रहरीलाई खबर गरियो । प्रहरीले घटनाको सम्पूर्ण मुचुल्का बनाएर अनुसन्धान अगाडि बढायो । मरेकी छोरी फिर्ता नभए पनि हत्याराले जरुर सजाय पाउनेछन् भनेर परिवारले चित्त बुझायो । तर, तीन महिना बित्दा पनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेन ।
प्रहरी प्रशासन सहित सरोकारवाला निकायलाई दबाब दिन ‘बलात्कारपछि हत्या भएकी निरू विकका हत्यारालाई सार्वजनिक गरी कारबाही गर’ भन्दै घटनाको तीन महिनापछि आन्दोलन भयो । तर, प्रहरीले घटनाको १६ महिना बितिसक्दा पनि अनुसन्धानको निचोड निकाल्न सकेको छैन ।
छोरीले न्याय पाउँछिन् भन्नेमा परिवारको आशा क्षीण हुँदै गएको छ । परिवारले छोरीको बलात्कारपछि हत्या भएको दाबी गरिरहेको छ । ५२ वर्षीय बाबु रत्ने विक दलित भएकै कारण प्रहरी प्रशासनले चासो नदिएको गुनासो गर्छन् ।
‘यो घटना ठकुरीमाथि भएको भए अहिलेसम्म के हुन्थ्यो ? केही हुन्थ्यो कि हुँदैन्थ्यो भन्नुस् त ?’ बाबु रत्नेको प्रश्न छ, ‘अहिलेसम्म विभेद हटेको छैन, हामीमाथि राज्यको दमन हटेको छैन । यी सबै कुरा कायम रहँदा मेरी छोरीले न्याय कसरी पाउँथी ?’
‘मैले अहिलेसम्म न्याय पाउन सकेको छैन । प्रहरीले आफूले छानबिन गरेर न्याय दिलाउनु पर्नेमा मलाई आएर सोध्छ, जिल्लामा बोलाउँछ । तर, मसँग न अपराधीबारे सूचना छ न बेलाबेला जिल्ला जाने पैसा,’ उनले भने, ‘अब म के भनूँ ? बरु एक वर्ष बढी लागोस्, तर अपराधीले सजाय पाऊन् । मेरी छोरीको आत्माले शान्ति पाओस् ।’
रत्नेको आफ्नो पीर कसैले नसुने पनि मिडियाले सुनिदिने विश्वास छ । राष्ट्रियकरण गरिदिनेमा विश्वास छ । उनी आफूलाई केही व्यक्तिमाथि शंका भए पनि प्रमाण नभएकाले बोल्ने अवस्था नभएको बताउँछन् ।
यता जिल्ला प्रहरी कार्यालय, कालिकोट परिवारको आरोपलाई स्वीकार्न तयार छैन । मृतकको परिवारले लगाएको आरोप कपोकल्पित र निराधार भएको प्रशासनको भनाइ छ । कालिकोटका डीएसपी जयश्वर रिमाल उक्त घटना बलात्कारपछिको हत्या नभएको जिकिर गर्छन् । रिमाल यस घटनामाथि प्रहरीले विस्तृत रूपमा छानबिन गरिरहेको र छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँछन् । प्रहरीसम्म घटनाबारे ढिलो खबर आएकाले अनुसन्धानलाई प्रभावित पारेको उनको तर्क छ ।
‘नतिजा नआइसकेकाले पीडित परिवारलाई अनुसन्धान नै भइरहेको छैन भन्ने लाग्नसक्छ । तर, विस्तृत रूपमा अनुसन्धान भइरहेको छ । हामी जिल्ला प्रहरीदेखि सीआइबीको टोलीसम्म खटिएका छौँ,’ उनले इकागजमा जानकारी दिए, ‘यसमा समस्या के छ भने घटनाको चार दिनपछि मात्र प्रहरीमा रिपोर्ट आयो । शरीरको धेरै भाग स्यालले खाएको हुँदा धेरै प्रमाणहरू पहिल्यै नष्ट भइसकेको थियो ।’
यद्यपि उनी अनुसन्धान सही बाटोमा अगाडि बढिरहेको जिकिर गर्छन् । निरू काण्ड गत साउनसम्म डिएसपी सिद्धराज न्यौपानेले हेरिरहेका थिए । साउनपछि भने यो मुद्दालाई रिमालले हेरिरहेका छन् । ‘साउन २५ गतेदेखि यो केस म हेरिरहेको छु । अनुसन्धान सही बाटोमा छ,’ उनको दाबी छ ।
यता, प्रहरी प्रशासनसहित विभिन्न सरोकारवाला निकायलाई दबाब दिन परिवार, दलित अधिकारकर्मी र सामाजिक अभियन्ताले पुस १३ गतेदेखि आन्दोलन सुरु गरेका छन् । ‘चे फोर्स नेपाल’ कालिकोटको अगुवाइमा १३ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । त्यस्तै, उसले १४ गते निरूको न्यायका लागि १२ सय हस्ताक्षर संकलन, १५ गते दलित अधिकारकर्मी, मिडिया लगायतका सरोकारवाला निकायको उपस्थितिमा सडकसभा र त्यसपछि मैनबत्ति र्याली गरिएको थियो ।
अब यो आन्दोलन देशको संघीय राजधानी काठमाडौंमा पुगेको छ । आइतबारदेखि माइतीघर मण्डलामा ‘जस्टिस फर निरू’ भन्दै धर्ना सुरु गरिएको छ । चे फोर्स नेपाल, कणर्ाली प्रदेशका ब्रिगेडियर हिक्मतजंग मल्लले निरूको परिवारले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने बताए । दलित समुदायको भएकै कारण प्रहरी प्रशासनले अनुसन्धान चुस्त रूपमा अगाडि नबढाएको मल्लको आरोप छ ।
कानुनी राज्यमा सबैले न्यायानुभूति गर्नुपर्ने हो, तर विडम्बना निरूको परिवार दलित र कर्णालीको भएकै कारण न्याय पाउन सकिरहेको छैन ।
कालीकोट हुँदै माइतीघर मण्डलामा निरु विकको लागि न्यायको आवाज उठाउँदै आइएको छ । चे फोर्सले यस्को सुनुवाई हुनुपर्छ र पीडितले न्याय पाउनु पर्छ भनेको छ ।