• आश्विन १४ २०८१, सोमबार

माघे सकराती महोत्सवमा सहभागि हुन मगर संघको आग्रह

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेपाल मगर संघले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ माघे सकराती पर्वको अवसरमा  सबैलाई  निमन्त्रणा गरेको छ ।

“मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्वर्द्दन मगरको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ सोमबार काठमडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर  निमन्त्रणा गरिएको हो ।

मगर जातिको मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचिकृत गराउनु यसपाली यो पर्व मनाउनु मुख्य उद्धेश्य रहेको छ । यसका लागि ३ दिनसम्म मगर मौलिक राष्ट्रिय महोत्सव आयोजना गरिएको हो ।

नेपाल मगर संघ केन्द्रिय समितिको मुख्य आयोजना र नेपाल मगर संघको भातृ संस्थाहरु र आवद्ध संस्थाहरुको सह-आयोजनामा पुषको २९, ३० र माघ १ गते काठमाडौंको टुडिखेलमा सम्पन्न हुने माघे सकराती राष्ट्रिय चाडमा शुभकामना दिन तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् ।

पत्रकार सममेलनमा नेपाल मगर संघ केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुनमगरले माघे सकरातीमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउन सबैलाई निमन्त्रणा गरे । उनले सो समारोहमा आएर मगर जातिको भेषभूषा, कला, संस्कृति अवलोकन गर्न र पौराणिक खानाको स्वाद लिन पनि अनुरोध गरे । उनले संस्कृति मन्त्रालयलाई मगर समुदायलाई राष्ट्र निर्माणमा सहभागि गराउन पनि आग्रह गरे ।

अध्यक्ष पुन मगरले कौरा, हुर्रा, सोरठी, पैंस्यारु आदि कलाले मगर समुदायमा पृथकता देखिए पनि यसलाई नेपालको राष्ट्रिय पर्वको रुपमा मनाउन संस्कृति मन्त्रालयमा सशक्त आवाज राखिएको र लिपिबद्ध रुपमा राखिएको उल्लेख गरे । उनले माघे सकरातीको दिन मगरले पूर्वको हुर्रादेखि पश्चिको सोरठी ,भूमे नाच प्रस्तुत गरिने पनि बताए ।

उनले नेपालमा पर्यटन दिवस मनाइने तर नेपालको मौलिक संस्कृतिलाई बेवास्ता गरी लोपोन्मुख अवस्थामा पुर्याइएकोमा  प्रधानमन्त्रीको पनि ध्यानाकर्षण  गराए । सोही क्रममा नेपाल मगर संघ केन्द्रिय महासचिव टेकबहादुर नाम्जाली मगरले महोत्सवको विस्तृत विवरण पेश गरे ।

उनले काठमाडौंको टुडिखेलमा आगामी पुष २९, ३० र माघको १ गते विभिन्न मगर मौलिक सांस्कृृतिका झाँकी तथा नाचहरुको प्रदर्शन हुने जानकारी दिए । उनले साँस्कृतिक राष्ट्रिय महोत्सवको व्यवस्थापनको जिम्मेवारी साँस्कृतिक विभाग र नेपाल साँस्कृतिक संघलाई प्रदान गरिएको जानकारी दिए ।

महासचिव नाम्जालीले सो अवसरमा विभिन्न परम्परागत खेल प्रतियोगिताहरुको पनि आयोजना गरिने र यसको सम्पूर्ण जिम्मेवारी नेपाल मगर खेलकुद संघलाई प्रदान गरिएको बताए । उनले प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई प्रदान गरिने नगद र खेलका प्रायोजकहरुबारे पनि जानकारी दिए ।

धनुष वाण खेलको पुरस्कारहरुका प्रायोजकहरु यसप्रकार छन् :
प्रथम पुरस्कार : विपिन झाँक्रीमगर (रोल्पा, हाल साउदी अरब), द्वितीय पुरस्कार : मनु बाँठामगर (म्याग्दी, हाल दक्षिण कारिया), तृतीय पुरस्कार : मगर संसार फोटो ग्यालरी, उत्कृष्ट खेलाडी : शिला रानामगर (पाल्पा, हाल हङ्कङ) ।

त्यसैगरी छेलो खेलको सम्पूर्ण पुरस्कार राजु रानामगरले व्यहोर्ने भएका छन् । उनी उदयपुर निवासी  नेपाल मगर संघका केन्द्रिय सदस्य हुन् । नाम्जाली मगरले स्वयमसेवक व्यवस्थापनको पनि विस्तृत जानकारी दिए ।

स्वयमसेवक व्यवस्थापनको तालिका यस प्रकार छ : नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति, नेपाल मगर युवा संघ केन्द्रिय समिति, नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समिति, नेपाल मगर खेलकुद संघ केन्द्रिय समिति ।

कार्यक्रमका संचालक तथा नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव खगेन्द्र पुनमगरले नेपालको तेस्रो धेरै जनसंख्या भएको मगर समुदायलाई संसरभरि बहादुर नामले चिनिने जानकारी दिए । मगरले मौलिक रुपमा माघे सकराती मनायता पनि भाषिक रुपले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम-पाङ) र मगर काइके बोल्ने गरेको भिन्नता  प्रस्ट्याए ।

माघे सकरातीमा दाजुभाई तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाइ गरेर चेलीहरुलाई मुलको पानी र जमरा लिएर धुरी खाँबोमा पूजा गर्ने गरिन्छ । यसदिन छोरी चेलीहरुलाई माइती दाजुभाईले पूजा गर्ने गर्दछन् ।

चेलीलाई चामलको सेतो टिका, जौं र पातीको फूल लगाई दक्षिणा र आर्शिवाद दिने गरिन्छ । यसदिन छोरी चेलीलाई गिठ्ठा, पिडालु, तरुल, रोटी, तिलको लड्डु सहितको मिस्रा दिने गरिन्छ । मिस्रा दिनाले दाजुभाईको  सम्पूर्ण ग्रहदशा सदाको लागि हराउने र दाजुभाईको जीवनमा सुख, शान्ति र समृद्धिले बास गर्दछ भन्ने प्रचलन रहि आएको छ ।

यो परिकार घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर-घरमा पठाइदिने गरिन्छ । साँस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा ) बन्द गर्ने गरिन्छ । मगर समुदायमा यस चाडले साँस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।