• आश्विन १४ २०८१, सोमबार

लोटस् रिसर्च सेन्टरको ३१औं वार्षिक साधारण सभा सम्पन्न

पुष २४ २०७९, आईतवार

काठमाडौं । लोटस् रिसर्च सेन्टरको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार ललितपुरस्थित संस्थाको भवन प्राङ्गणमा ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्यद्वारा पानसमा दीप प्रज्वलन गरि सो साधारणसभाको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा उपप्रमुख शाक्यले साधारणसभाको सफलताको शुभकामना प्रदान गरिन् । सो अवसरमा बोल्दै उनले बौद्ध शिक्षाले प्रदान गर्ने शिक्षाले सैद्धान्तिक नीति भन्दा व्यवहारिक शिक्षामा प्राथमिकता  दिन अनुरोध गरिन् ।

उपप्रमुख शाक्यले बौद्ध शिक्षाको अध्ययन मात्र नभई स्वयम् शिक्षक र विद्यार्थीले व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिइन् । उनले आगमी ३२औं साधारण सभा अझ सभ्य र भव्यताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

सोहीक्रममा लोटस् रिसर्च सेन्टरका अध्यक्ष डा.सुरेन्द्रमान बज्राचार्यले नेपालको बुद्ध धर्म विशेषगरी बुद्ध धर्म, बौद्ध संस्कृति र परम्पराको अध्ययन अनुसन्धानद्वारा संरक्षण, सम्बद्र्धन र विकास गर्ने उद्धेश्यले लोटस् एकेडेमिक कलेजको वि.सं २०४५ मा स्थापना भएको जानकारी दिए ।

उनले शैक्षिक वर्ष २०७९/२०८० को लागि एम.ए इन अप्लाइड बुद्धिजम् र एम.ए इन बुद्धिस्ट स्टडिजको विषय सेमेष्टर प्रणालीमा नयाँ भर्ना खुलिसकेको हुँदा इच्छुका विद्यार्थीलाई सम्पर्क राख्न अनुरोध गरे ।

लोटस् रिसर्च सेन्टरका सदस्य सचिव अशोकानन्द बज्राचार्यले प्रगति र भावी योजनाको प्रतिवेदन बारे जानकारी दिए । उनले सरकारको नियम अनुसार हरेक वर्ष साधारण सभा गर्नुपर्ने प्रावधान अनुरुप यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले प्रोत्साहन वितरण र सेन्टर तथा कलेजका वार्षिक गतिविधि प्रस्तुत गरिएको बताए ।

उनले सेन्टरको दर्ता नवीकरण, प्रकाशन विक्री सदस्यता नवीकरण आदि बारेमा विस्तृत जानकारी दिए । उनले वडा नं २० का अध्ययक्ष चन्द्रलाल महर्जन र अन्य सदस्यका प्रयासमा साउण्ड सिस्टमको व्यवस्था मिलाइएको र कौशीमा प्लाष्टर गरी मर्मत कार्य सम्पन्न गरेको बताए । उनले प्रस्तावित भावी कार्यक्रम आगामी योजनाहरु पनि पेश गरे ।

 


उनले आगामी वर्ष नियमित रुपमा लेखा परीक्षण, दर्ता नवीकरण, प्रकाशन विक्री वितरण, सदस्यता नवीकरण, नयाँ सदस्य वितरणका कार्यहरुको जानकारी दिए ।

सो अवसरमा लोटस् रिसर्च सेन्टरद्वारा विभिन्न सहयोगी संस्थाहरुलाई प्रशंसा पत्र र सम्मानपत्र संस्थाका अध्ययक्ष डा.सुरेन्द्रमान बज्राचायले वितरण गरे ।

साथै कार्यक्रममा वार्षिक उत्सवको अवसर पारी नयाँ सदस्यता प्रदान गरिएको थियो । सो कार्यक्रममा लोटस् रिसर्च सेन्टरका प्रधानाध्यापक विरकाजी श्रेष्ठले उपासक र उपासिकाद्वारा प्रचारप्रसार गरिरहेकोमा खुसी व्यक्त गरे । उनले देशमा मात्र नभई विदेशमा पनि प्रचार प्रसार गर्न विश्वविद्यालय स्थापना गरिएको जानकारी दिए ।