• आश्विन १४ २०८१, सोमबार

यस्ता छन् गुरुङ समुदायमा हुने संस्कार र संस्कृति

पुष २४ २०७९, आईतवार

लम्जुङ । विश्व मानचित्रमा हेर्दा नेपाल एउटा सानो थोप्लोको रुपमा देखिएता पनि कला र संस्कृतिमा भने यो देश एउटा उचाई पाएको देश हो । विभिन्न जातजातिका मानिसहरुको साझा फूलबारीको रुपमा नेपाललाई विश्वसामु चिनिने गरिन्छ ।

जसरी प्रत्यक फूलको आफ्नो बेग्लै सुगन्ध, रङ, वर्ण, आकार र सुन्दरता हुन्छ, त्यसैगरी नेपालमा रहेका विभिन्न जातजातिको छुट्टाछुट्टै भेषभूषा, मौलिकता, कला, संस्कृति र चालचलन छन् र सबै जातका आफ्नै अद्वितीय विशेषता छन् ।

तीमध्ये गुरुङ्ग समुदाय पनि एक फूल हो, जुन समुदायसँग आफ्नै विशेषताहरु रहेका छन् । गुरुङ्ग एउटा जनजाति समुदाय हो, जसले आफ्नो मौलिक पन र भेषभूषालाई प्राथमिकता दिन्छ । गुरुङ्ग समुदायको बसोबास नेपालको पूर्वदेखि पश्चिमसम्म छरिएर रहेको पाइन्छ । विशेष गरि गुरुङ्ग समुदाय नेपालको गण्डक क्षेत्रका पाल्पा, लमजुङ, गोरखा, पोखरा लगायतका स्थानहरुमा बसोबास रहेको छ ।

यसपटक हामीले तीमध्ये लम्जुङ जिल्लाको बेसीसहर नगरपालिका अन्तर्गत पर्ने नयाँ गाउँमा बसोबास गर्ने गुरुङ्ग समुदायमा कसरी जीवनयापन गरिन्छ ? रितिरिवाज र चाडपर्वहरु कसरी मनाइन्छन् भन्ने जानकारीहरु लिने प्रयत्न गरेका छौं । विभिन्न जातजातिमा न्वारन गर्ने तरिका फरक फरक भएझैं गुरुङ्ग समुदायमा पनि यसका बारेमा आफ्नै पन रहेको छ । गुरुङ्ग समाजमा छोरी जन्मेपछि तीन दिनमा न्वारन गर्ने चलन रहेको छ भने छोराको न्वारन ५ दिनमा गर्ने गरिन्छ ।

यसमा कुनै कारण नभएको र पौराणिक कालदेखि चलिआएको रितिरिवाजलाई पालना गर्दै आएको नयाँ गाउँको बासिन्दा तोलमाया गुरुङ्गले जानकारी दिइन् । त्यसैगरी सन्तानको जन्म हुँदा भात खुवाई पनि छोरा र छोरीमा भिन्नता रहने भएकाले जन्मेको पाँच महिनामा छोरीको भात खुवाई गरिन्छ भने छोराको जन्मेको छ महिनामा मात्र भात खुवाई गरिने गुरुङ्गले जानकारी दिइन् । गुरुङ्ग समुदायमा छोरा मान्छेको पुटपुटे (छेवर) जन्मेको ३ वर्ष लागेपछि अथवा विजोड वर्षमा गरिन्छ । पुटपुटे (छेवर) पर्वमा मावलीद्वारा वा मामाले कपाल काटिदिने चलन रहेको छ । यसपर्वमा छेवर गर्ने बच्चालाई मावलीको तर्फबाट उपहार स्वरुप पैसाको माला, सुन तथा चाँदीको बाला, नयाँ लुगाफाटा आदि मावलीको गच्छे अनुसार दिने गर्दछन् ।

छोराको छेवर गर्ने चलन छ भने छोरीलाई गुन्योचोली गरिदिने चलन छ । छोरीलाई ३ वर्ष पूरा भएपछिको विजोड वर्षमा गुन्योचोली गरिन्छ । गुन्योचोलीमा छोरीलाई मावलीकोतर्फबाट नयाँ लुगाफाटो वा सुन–चाँदीका गहनाको उपहार दिने चलन छ । गुरुङ्ग समुदायमा विवाहको पनि अद्वितीय परम्परा रहेको छ । परापूर्व कालदेखि गुरुङ्ग समुदायमा फुपु चेला र मामाचेली अथवा मामा चेला फुपु चेलीको वैवाहिक सम्बन्धलाई मान्यता दिइन्छ । बाहुन–क्षेत्री समुदायमा फुपुका सन्तान र मामाको सन्तानलाई दिदी–बहिनी अथवा दाजू–भाईको सम्बन्धको रुपमा हेरिने भएकोले त्यहाँ विवाह चल्दैन तर गुरुङ्ग समाजमा भने विवाह गर्न मिल्छ ।

तोलमाया उनका अनुसार सो समुदायका केटा–केटीमा फुपु र मामाको हक लाग्ने भएकाले मामा र फुपुको चित्त बुझाएर मात्र विवाह गरिने प्रावधान छ । तर बिना मन्जुरी विवाह गरेमा भने जारी तिर्नुपर्ने प्रावधान पनि गुरुङ्ग समुदायको विवाह संस्कारमा पर्दछ । गुरुङ्ग समुदायले भरिएको गाउँमा भागी वा मागी विवाहको चलन रहेको पनि गोपीराम गुरुङ्गले बताए । उनले अधिकांश भागी विवाह गरेता पनि अन्त्यमा स–सम्मान मागी विवाह नै गरिने जानकारी दिए । विवाहको लागि केटा पक्षले केटीको घरमा कल्याका साथमा पुङ पठाउने चलन रहेको छ । कल्या भन्नाले समाजको जिम्मेवार अथवा बुद्धिजीवी मानिसलाई बुझिन्छ भने ठेकीमा पठाइएको रक्सीलाई पुङ भनिन्छ ।

कल्याको अनुरोधमा केटी पक्षबाट स्वीकृति आएमा पुङको भाँडो खोलेर गाउँ, समाज र पञ्चको सामु खाइन्छ र विवाहको टुङ्गो लगाइन्छ अन्यथा पुङ फिर्ता गरिन्छ । पुङ फुटाए लगत्तै केटा र केटी पक्ष दुवैलाई बोलाएर समाजको सामु विवाह पक्का गरिन्छ । यस समुदायमा केटी पक्षको माग अनुसार तेनो (रोटी), पुङ (रक्सी), गरगहना, कपडा, नरिबोका (दुलाहा सरी सिङ्गारिएको बोका ) खुडुपा (गुलियो जाँड) मावली कपडा जसमा खाइस्तो (कछाड) भर्को (पछेउरी), इष्ट आफन्तका निम्ति खाइस्तो भर्को वा मितिनीको नाममा पनि पोसाकको माग गरिन्छ । केटा पक्षले माग राख्ने चलन नभएकाले केटी पक्षले स्वईच्छा स्वरुप दाइजो दिइने पनि गुरुङ्गले जानकारी दिए ।

माग गरिए अनुसार दुलाहाले विवाहमा सम्पूर्ण सरसामानका साथ अतिआवश्यक वस्तु अथवा नभई नहुने वस्तु वर्सामा ठेकीको पुङ सजाएर दुलहीको घरको पालमा राखिन्छ । वर्सा भनेको एउटा काठको लौरो हो, जसको टुप्पोमा फलामको भाला राखिन्छ । गुरुङ्ग समाजमा वर्सा यस्तो महत्वपूर्ण चिज हो जसले नयाँ सम्बन्ध सुरुवातको संकेत गर्दछ । वर्सामा गुरुङ्ग संस्कृति अनुसार पुङलाई रातो र सेतो रङले रंगाएर केराको पातले बाँधी छेउमा २ कोसा केरा र एउटा उखुको डाँठ झुण्डाइन्छ ।

विवाहमा गुरुङ्ग समाजमा नाचिने विभिन्न नाचगान, रमाइलो र बाचा कबुलहरु गरिन्छ । खुशीका साथ विहे सम्पन्न भएपछि वर्सालाई फुकाएर दुलहीको माइतबाट एक माना चामल, एक बोतल रक्सीका साथ दुलाहाको घर लगिन्छ । वर्सा खम्बामा बाँधेर फेरि दुलाहाको घर भित्र्याउनाले स्थापित सम्बन्धलाई दुलाहाको घर भित्र्याएको भन्ने बुझिने त्यहाँका स्थानीय बासिन्दा गोपिराम गुरुङ्गले बताए । मृत्यु पश्चात गुरुङ्ग समाजमा आस्यो (छोरा-छोरी-मावली) पक्षलाई कुर्ने संस्कृति रहेको छ ।

कुर्नुपर्ने अवधिमा लामाको विधि अनुसार दुष्ट आत्मालाई धपाएर राम्रो आत्मालाई मात्र त्यहाँ राखिन्छ । त्यस अवधिमा मावली र गाउँ समाजका इष्ट आफन्त आइ घर कुर्न मद्दत गर्दछन् । आस्यो र मावलीको उपस्थितिमा गुरुङ्गको पुरोहित (लामा-घ्याब्रे-पच्ह्यु)द्वारा मृत्यु संस्कारको विधि पढेर अन्तिम संस्कार गरिन्छ ।

लामाको सहायताले नै मृत व्यक्तिको समय हेरी जलाउने वा गाड्ने गरिन्छ । साथै लामाको विधि पढेर आत्माको चिरशान्तिको लागि कामना गरिन्छ । अन्तिममा घर परिवारद्वारा बाख्रा, भेडा काट्ने गरिन्छ । बली दिँदा हातखुट्टा नभाँचिएको, घाउ चोट नलागेको बोका वा बाख्राको बली दिनुपर्ने चलन छ । सबलाङ्ग भेडा बाख्रा बली दिनाले मृतकको स्वर्गको बाटो सजिलै तर्न सकिने परापूर्वकाल देखिको मान्यता छ । दाहसंस्कारको अन्त्य वर्साले दुई काठलाई फुटाएर विदाई गरिन्छ । वर्साले काठ फुटाउनाले मान्छेले अन्तिममा धर्ती छाड्ने बाचा गरिन्छ ।