• मंसिर ११ २०८१, मंगलवार

गोर्खा स्कूल रजत जयन्ती : बन्दुकको कुरा गर्ने लाहुरेले खोलेको विद्यालयको भव्यता देखेर सबै दङ्ग

पुष २० २०७९, बुधबार

घोराही, २० पुस । ‘म लाहुरे हुँ विद्यालय खोल्न चाहन्छु भनेर जानुभयो’ वरिष्ठ संगीतकार एवं प्राज्ञ प्रदीप बम्जनले भन्नुभयो, ‘मलाई अचम्म लाग्यो, बन्दुकका कुरा गर्नेले शिक्षाका कुरा भनें ।’ गोरखा इन्टरनेश्नल पब्लिक सेकेन्डरी स्कूल घोराही-१४ को रजत जयन्तीमा भन्नुभयो ।

त्यसरी विद्यालय खोल्न चाहने व्यक्ति क्याप्टेन मानबहादुर बुढामगर हुनुहुन्थ्यो । त्यसबेला पाठ्यपुस्तकका लेखक समेत रहनु भएका । बम्जन शिक्षा मन्त्रालयमा तालिम अधिकृत हुनुहुन्थ्यो । बुढाले विद्यालयको परिकल्पना सुनाएर बम्जनलाई प्रभावित पार्नुभयो । त्यसैको प्रतिफल हेर्न बम्जन विद्यालयको २५औं वार्षिक उत्सवमा घोराही पुग्नुभयो ।

त्यसबेला उहाँले धरानका लाहुरे सम्झिएको बताउनु भयो । त्यता सृजनशील काम गरेको कुनै स्मरण भएन । यता लाहुरेहरुलाई एकीकृत गरेर पुँजी संकलन गर्नुभयो । त्यही लगानीले सबैको गर्व गर्ने ठाउँ बन्यो । अहिले पूर्व लाहुरे बुढाले शिक्षा, स्वास्थ्य र कृषि हुँदै व्यवसायको परिकल्पना गर्नुभएको छ । ‘सुँगुरको मासु र बिएर खाएर टन्न परि बस्न सक्नुहुन्थ्यो’ उहाँले थप्नुभयो ‘यही कुरा पूर्वका लाहुरेले पनि गरोस र सिकोस् ।’ उहाँका अनुसार बुढाले व्यवसाय होइन सेवा गर्नुभएको छ । व्यक्तिको होइन राष्ट्रको काम गर्नुभएको छ ।

विद्यालयका फाउन्डर अध्यक्ष मानबहादुर बुढामगरको अध्यक्षता एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा शुरेसराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । गतिलो संयोग नै मान्नुपर्छ प्रा.डा. आचार्य  विद्यालय उद्घाटन गर्ने प्रमुख अतिथि पनि हुनुहुन्छ । यसरी संस्थापक र प्रमुख आतिथि उपस्थित रहेको कार्यक्रममा बम्जन बोल्नुभयो ।

‘म २५ वर्ष अघि उद्घाटनको बेला आएको थिएँ’, विगत स्मरण गर्दै प्रमुख अतिथि प्रा.डा शर्माले भन्नुभयो, ‘अहिले धेरै उत्साहित भएको छु, मानबहादुरजीले शिक्षाको केन्द्र बनाउँछु भन्नुभएको थियो । यतिका विद्यार्थी, यति धेरै उपलब्धि अनौठो रहेछ ।’

उहाँले मञ्चमा उक्लिएर मन्तव्य दिइरहँदा अघिल्तीर अनुहार ठम्याउन नसक्ने गरि बृहत जनसमूह थियो । दुईहजार आठ सय विद्यार्थीका अभिभावक सबै उपस्थित भए जस्तो मानिन्थ्यो । उनीहरुलाई डोरी लगाएर बस्ने अलग-अलग बनाइएको थियो । पस्ने र निस्कने पनि बाटाहरु फरक थिए । हेर्न भने सबैले सबैलाई सक्थे ।

भव्य समारोहले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष ९३ वर्षीय नारायणप्रसाद शर्मालाई निकै उत्साहित बनाएको थियो । ‘म त कहिँ स्वर्गमा आइरहेको छु कि भन्ने भान भयो’, विशिष्ट अतिथि शर्माले भन्नुभयो, ‘साँस्कृतिक प्रतिष्ठानमा हो कि, वैज्ञानिक प्रयोगशाला हो कि, साँस्कृतिक समारोह हो कि अद्भूत लाग्ने, यो के भइराखेको छ ।’

उहाँ त्यतिमै बिसाउनु भएन । आफ्नो जमानाको याद पनि गर्नुभयो । कुर्थी र काठको पाटीमा खरीले लेखेर कखरा सिकेको हुँ । नाङ्गा खुट्टा, झण्डै झण्डै नाङ्गो शरीर भनेपनि हुन्छ, कुर्थी मात्रै लगाउने हो । म त कहिँ स्वर्गमा आइरहेको छु कि भन्ने भान भयो ।’

विद्यालय सञ्चालक समितिका सदस्य एवं फाउन्डर जंगबहादुर पुनका अनुसार रिटायर्डहरुलाई थप सेवाका लागि ब्रुनाई लैजान्थ्यो । त्यसैवर्ष ब्रुनाई सरकारले प्रि सेवामा लग्न मानेन । त्यसपछि सबैको फुर्सद भयो र जुट्ने अवसर मिल्यो । त्यसबेला एउटा स्कूल खोल्ने र विदेशमा रहेका अभिभावकका बच्चालाई स्तरीय शिक्षा दिने सल्लाह भयो । यति ठूलो स्कूल हाेला भन्ने सोंच थिएन । राप्तीका अरब तथा विदेशी लाहुरेका बच्चाहरुलाई शिक्षा दिने सोंच भयो । त्यसका लागि केडेमिक संस्था आवश्यक ठानेको त यति ठूलो भइदियो ।

‘एकहजार भन्दा बढिलाई रोजगार दिनुभएको छ’ अभिभावक निर्मल आचार्यले भन्नुभयो ‘म स्यालुट गर्न चाहन्छु ।’ उहाँलाई मैले कल्पना गरेको भन्दा धेरै माथि पाएँ । नृत्यहरु हेर्दा साँस्कृतिक प्रतिष्ठान जस्तो महशुस भयो । प्रोजेक्ट वर्क यति होला भन्ने अनुमान थियो असफल सावित गरिदियो । उहाँले भनेजस्तै नेपालका सबै जातजातिका नाचहरु नाचिए । भुम्या, सोरठी र थारु हरेकका कल्चर दुरुस्तै देखिन्थे । प्याब्सन केन्द्रिय सदस्य यादव गिरीले स्कूलको मुक्तकण्ठले जति प्रशंसा गरेपनि कमै हुने बताउनु भयो ।

स्कूलको मुलगेट देखि नै विद्यार्थीका कलाकृतिहरु बाटोका दुई किनारामा थिए । कतै फ्ल्याक्स बोर्ड र कतै ध्वजापताका जस्तै चित्र कोरिएका कागजहरु टंगाइएको थियो । प्रांगणको बिचमा ठूलो बोर्ड र चौरका चारैतिर बच्चाहरुका प्रोजेक्ट वर्क देख्न सकिन्थ्यो । दर्शकदिर्घाको पच्छिल्तीर विद्यार्थीहरुले विज्ञान सामग्री, कला, कृति, जातीय खानेकुरा लगायतका स्टलहरु राखेका थिए । अतिथिहरु हेर्दै जाने सुविधा थियो ।

उक्त समारोहमा ‘द गोरखा’ म्याग्जिन विमोचन गरेको थियो । त्यसमा मिनि रिसर्च समेटिएको गोरखा ग्रुपका सिइओ नौलासिंह जिएमको भनाई थियो । उहाँले तुलसीपुर, लमही र भालुबाङसहित चार ठाउँमा स्थापना भएको र नौ हजार बढि विद्यार्थी, एक हजार बढि शिक्षक कर्मचारी रहेको हालसम्मका उपलब्धि सुनाउनु भयो ।

शिक्षा सिर्जनात्मक र विद्यार्थी आफैले हल गर्न सक्ने बनाउन आउट कोर्षका एक्सपर्टबाट शिक्षा दिने सिइओ जिएमले बाचा गर्नुभयो । उहाँले बच्चाको गृहकार्य तथा प्रोजेक्ट वर्क आफूले नगरीदिन अभिभावकलाई आग्रह गर्नुभयो । खानपिन, योग र ध्यान लगायत विभिन्न विद्याका विज्ञहरुबाट शिक्षा अघि बढाइएको जानकारी दिनुभयो ।

लागुऔषध सेवन गरेको एक महिनापछि पनि थाहा हुने मेसिन प्रशिक्षक एवं गोरखा आइडिएल स्कूल भालुबाङका प्रिन्सिपल वसन्त पुनले देखाउनु भएको थियो । उहाँका अनुसार आन्द्रा र बोसोमा जमेर बस्ने भएकाले गाँजा, चरेस, सुई वा अन्य ड्रग्स खाएको पत्ता लाग्छ । सामाधान हुन्छ । बच्चा दुब्लाउँदै गए, साँझमा एक्लै बाहिर बस्न रुचाए, विहान अबेर उठ्ने र साँझ अबेर सुत्ने गरे खबर गर्न आग्रह गर्नुभयो । सबै किसिमका समस्या हल गर्ने दक्ष जनशक्ति छ । अभिभावक शान्त भएर सुने ।

गत सन् १९९८ सालमा स्थापना हुँदा स्कूलमा जम्मा तिन सय ११ विद्यार्थी थिए । हालसम्म एकसय भन्दा बढि डाक्टर, तिनसय भन्दा बढि इन्जिनियर, ३० जना भन्दा बढि सिए लगायत थुप्रै लेक्चर, शिक्षक, नर्स बैंकर्स लगायत दक्ष जनशक्ति उत्पादन भएको प्रिन्सिपल मानसिंह घर्तिमगरले विद्यालयको २५ वर्षे प्रगति प्रतिवेदन सुनाउनु भएको थियो । सजावट र कलाकृति विद्यार्थी आफैले गरेको बताउनु भयो । प्राथमिक उपचारका लागि पूर्वविद्यार्थी संगम डिसी नेतृत्वको समूह त्यहीँ हुनुहुन्थ्यो । नास्ता दिने, तातो चिसो पानी खुवाउने र डस्टविन बोकेर फोहोर उठाउँदै गरेका विद्यार्थी थिए ।

यो अवधिसम्म निरन्तर र राम्रो काम गर्नु भएका शिक्षकहरु संस्थापक भाइस प्रिन्सिपल नौलासिंह जिएम, हालका प्रिन्सिपल मानसिंह घर्तिमगर, शिक्षक कृष्णा राना र कर्मचारी मोतिलाल बुढाथोकीलाई कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी वेष्ट टिचर अफ इअर प्रभा चौधरी, कर्मचारी निमबहादुर चौधरी लगायत विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । प्रोजेक्ट सञ्चालन गर्ने शिक्षकहरु थम्मन बस्नेत र सन्तोष नेपाली सहित त्यसमा सहभागि विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा नयाँ अध्यक्ष विष्णुप्रसाद घर्तीलाई पद हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले कराँते प्रदर्शन, झ्याउरे, सोरठी, धिमाल, चौधरी, भुम्या र चण्डीनाचका साँस्कृतिक विविधता देखाएका थिए । सहभागिलाई आफै उठेर नाच्ने गरी मनोरञ्जन दिए । चिसो मौसमको प्रवाह नगरी अभिभावक घाम झलपर्ने बेलासम्म बसे । समाराेहमा छिमेकी स्कूलका प्रिन्सिपलहरुको पनि उपस्थिति थियो । कार्यक्रमकाे सहजीकरण शिक्षकहरु थम्मन बस्नेत र शोभाकर पन्थीले गर्नुभएको थियो ।