• आश्विन १४ २०८१, सोमबार

लम्जुङका गुरुङले यसरी मनाए यसवर्षको तमु ल्होसार (तस्विर सहित)

पुष १८ २०७९, सोमबार

लम्जुङ । लम्जुङको भोटेओडारमा गुरुङ्ग समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ल्होसार पर्व मनाइएको छ । शुक्रबार जिल्लाको सुन्दरबजार नगरपालिकाको भोटेओडार वरपर छरिएर रहेका ५ वटा तमु समुदाय निकट संस्थाहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको ल्होसार कार्यक्रमको भव्य रुपमा सम्पन्न भएको छ ।

समुता  तमु समाज भोटेओडार, सिर्जनशील तमु समाज भोटेओडार, संकल्प तमु समाज सहकाले, नमूना ह्मुला तमु समाज पैरे र प्रगतिशील तमु समाज फेदिकुनाको संयुक्त आयोजनामा ल्होसार मनाइएको हो ।

सो कार्यक्रम लमजुङ जिल्ला भरि नै एकताको उदाहरणको रुपमा पहिलो पटक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको आरम्भ कार्यक्रमका विशेष अतिथि तथा गुरुङ्ग राष्ट्रिय परिषद् केन्द्रिय उपाध्ययक्ष तथा लम्जुङ पेब्सनका अध्ययक्ष मेन बहादुर घले र लम्जुङ जिल्ला प्रदेश (क) का सभासद प्रमुख अतिथी डा. टकराज गुरुङ्गद्वारा पानसमा दिप प्रज्जवलन गरिएको हो ।

सो अवसरमा विशेष अतिथि घलेले देश तथा विदेशी भूमिमा रहेका  सम्पूर्ण नेपालीहरुलाई तमु ल्होसारको शुभकामना दिए ।

उनले आर्थिक विपन्नताका कारण नेपालीहरु विदेश गएकाले नेपालमा सँगै बसेर ल्होसार मनाउन नपाएकोमा गुनासो गरे ।

उनले आगामी दिनमा देशमै रोजागारीको सिर्जना गरेर मातृभूमिमै ल्होसार मनाउन सकिने सम्भावना रहेको बताए । उनले नेपाली दाजुभाई, दिदी-बहिनीले पनि मिलेर सामूहिक हित र उन्नती गर्ने सम्भावना भएको जिकिर गरे ।

त्यसैगरि कार्यक्रमका अर्का विशिष्ट अतिथि सुन्दरबजार नगरपलिकाका उपमेयर भवानी केसीले नेपाललाई ४ जात ३६ वणर्मा विभाजन गरिएको र गुरुङ्ग समुदाय पनि एक सुन्दर फूलको रुपमा स्थापित भएको कुरा राखिन् ।

उनले सबैमा हर्सोल्लासका साथ पर्व मनाउन पनि शुभकामना प्रदान गरिन् । उनले गरुङ्ग समुदायको भेषभूषामा पनि वैज्ञानिकता रहेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि लम्जुङ जिल्ला प्रदेश (क) का सभासद डा.टकराज गुरुङ्गले ल्होसारका अवसरमा उपस्थित सबैलाई शुभकामा दिए।

उनले गुरुङ्ग समुदायको सबैभन्दा कम जनसंख्या कालिकोटमा भएता पनि त्यस ठाउँमा तमु ल्होसार भव्यका साथ बनाइएको जानकारी दिए ।

उनले यस पर्व मनाउँदा एकतालाई बाँधिराख्न र मित्रतालाई कायम राख्न मद्धत पुग्ने बताए ।

प्रमुख अतिथि गुरुङ्गले आपसी सद्भावलाई निरन्तरता दिने अपेक्षा राखे । साथै उनले आगामी दिनमा विकृतिलाई सच्याउँदै संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिए । उनले मुलुकको संविधानले गुरुङ्ग समुदायलाई विभेद गरेकाले समान ढंगले सबै जातजातिलाई प्राथमिकता दिनु पर्नेमा माग गरे ।

कार्यक्रममा प्रत्येक पाँचैवटा तमु समाजबाट गुरुङ्ग समुदायमा नाचिने घाटु, सोरठी, सेर्का, चुट्का लगायतका साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

गुरुङ्ग समुदायको मौलिकता र संस्कृति झल्काउने पोसाकमा सजिएका गुरुङ्ग र गुरुङ्गसेनीले कार्यक्रमलाई साँच्चिकै एउटा सुन्दर फूलको उदाहरण स्वरुप सजाएका थिए ।

कार्यक्रमका अर्का अतिथि तथा ‘पुरानो संसार’ टेलिश्रृङ्खलाका कलाकार मोहन भण्डारीले तमु ल्होसारको शुभकामना दिएका थिए ।

उनले ‘पुरानो संसार’ टेलिश्रृङ्खलामा आज भन्दा ५०/६० वर्ष अघिको गाउँले जीवनलाई प्रस्तुत गरिएकोले एकचोटी हेरेर प्रतिक्रिया दिन आग्रह पनि गरे । उनले आगामी पुस्तालाई पुख्र्यौली समाजको संघर्ष र रहन सहनलाई झल्काउनु नै सो टेलिश्रृङ्खलाको मुख्य उद्धेश्य भएको बताए ।

सोही क्रममा कार्यक्रमका अर्का अतिथि नाइस टेलिभिजनका प्रधान सम्पादक दीपा आलेमगरले गुरुङ्ग समुदायको मौलिक चाड तमु ल्होसारको शुभकामना दिइन् । उनले तमु ल्होसार कार्यक्रमको नाइस टिभी च्यानलमार्फत् प्रशारण गर्ने बाचा गरिन् ।

सोही कार्यक्रममा हास्यकलाकार तथा ‘पुरानो संसार’ टेलिश्रृङ्खलाका निर्देशक तिलक रोकामगरले हास्य कला देखाएर दर्शकलाई पेट मिचिमिचि हसाए ।

तमु ल्होसार विशेषगरी होम गरेर आरम्भ गरिने समुता गुम्बाका सचिव दुधबहादुर घलेले जानकारी दिए । होम भन्नाले आरम्भ भन्ने बुझिन्छ । आगो बालेर त्यसमा वर्षभरी उत्पादन भएको बाली चढाइन्छ । होम गर्दा मकै, जौं, खुदू, फलफूल, चामल, अक्षता आदि चढाइन्छ ।

होम गर्दा कम्तीमा पनि ९ थरीका अन्न चढाइन्छ भन्ने जानकारी सचिव घलेले दिए । होम गर्नाले परिवारको दशाग्रह फालिनुका साथै पितृको आत्माले स्वर्गमा बास गर्ने र घरमा सुख, शान्ति र समृद्धि भित्रिने विश्वास रहेको बताए ।

त्यस्तै समुता गुम्बाका अध्यक्ष वीरसिंह घलेले गुरुङ्ग समुदायमा विशेषगरी गडुल वर्ग, नाग वर्ग जस्ता १२ वटा वर्ग भएकाे बताए ।

उनले ती वर्ग बाह्र महिनापछि परिवर्तन हुने गर्दछन् भन्ने भनाई रहेको जानकारी दिए । यसपालीको ल्होसार वा नयाँ वर्षले बाघ वर्गको अन्त्यपछि बिरालो वर्गको सुरुवात भएको मानिने पनि उनले बताए ।

कार्यक्रमको संयोजन छरिएर रहेका गुरुङ समुदायका मानिसहरुलाई एकतामा ल्याउने भूमिका निभाउनु भएका प्रमुख संयोजक चञ्चलप्रसाद गुरुङले  गरेका थिए भने सहसंयोजन मुक्तिराज गुरुङ र मिनबहादुर गुरुङले  गरे ।

कार्यक्रममा सं  समुता तमु समाज भोटे ओडारका अध्यक्ष पदमराज गुरुङ, वरिष्ठ उपाध्यक्ष दुर्गामाया गुरुङ, सिर्जनशील तमु समाज पैरैका अध्यक्ष शन्तबहादुर गुरुङ र आमा अध्यक्ष तुल्सीमाया गुरुङ, श्री नमूना तमु ह्यूला समाज नमूनाटोलका अध्यक्ष इश्वरीप्रसाद गुरुङ, आमा अध्यक्ष खोमादेवी गुरुङ, संकल्प तमु समाज सहकलेका अध्यक्ष टुकबहादुर गुरुङ र आमा अध्यक्ष शान्तादेवी गुरुङ, श्री प्रगति तमु समाज फेदिकुनाका अध्यक्ष खुमलाल गुरुङ र आमा अध्यक्ष तेजमाया घले लगायतका अगुवाहरु मिलेर ल्होसार पर्व मनाउने योजना बनाइएको हो ।

यसका लागि चञ्चलप्रसाद गुरुङले मुख्य भूमिका निभाए । ल्होसार मनाउनका लागि प्रमुख संयोजक चञ्चलप्रसाद गुरुङ र सहसंयोजक मुक्तिराज गुरुङ, मिनबहदुर र पदमराज गुरुङको नेतृत्वमा शन्तबहादुर गुरुङको अध्यक्षतामा मुल समिति गठन गरिएको थियो ।

यति ठूलो संख्यामा सहभागीहरुलाई जम्मा गरेर ल्होसार मनाउनु भयो यसको सफलताको रहश्य के हो भनेर हामीले आयोजक समितिका प्रमुख संयोजक चञ्चलप्रसाद गुरुङलाई सोधेका थियौं ।

यो प्रश्नको जवाफमा उनले भने,‘विकासको क्रममा विभिन्न स्थानबाट भोटेओडार वरपर आएर विभिन्न नाममा गुरुङ समुदायलाई संगठित गरिएका समूहहरुलाई एक ठाउँ ल्याएर यो समारोहको आयोजना गर्न सफल भइएको हो’ ।

त्यस्तै  समुता तमु समाज भोटे ओडारका अध्यक्ष तथा मुल समितिका सहसंयोजक पदमराज गुरुङले यो कार्यक्रमको उद्धेश्यको बारेमा प्रकाश पार्दै विभिन्न कारणले विकृति र विसंगतिमा लागेका युवाहरुलाई सही बाटोमा लगाउन र संस्कृति संरक्षण गर्न तम्सने युवाहरुलाई संस्कार सिकाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको  बताए ।साथै सो ल्होसार कार्यक्रमको संचालन संयुक्त तमु ल्होसार कार्यक्रमको सचिव चंचल प्रसाद गुरुङ र सहसचिव राम प्रसाद गुरुङले गरेका थिए ।

(लम्जुङबाट फर्केपछि )