घोराही, दाङ १६ पुस ।
आउँदो १७ गते आइतबार देखि ३० गते शनिबारसम्म साझा प्रकाशन उपशाखा कार्यालय घोराहीमा पुस्तक प्रदर्शनी हुने भएको छ । जहाँ पुस्तक खरिदमा २५ देखि ८० प्रतिशत सम्म छुट दिइने चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । प्रदर्शनीमा नयाँ पुस्तक र गरिमा आउने छन् । यसैवर्ष बैशाख दुई देखि २५ गते सम्म पनि साझाले प्रदर्शनी गरेको थियो ।
त्यसैगरी भदौ १६ गते देखि ३१ गते सम्म पनि पुस्तक प्रदर्शनी भएको थियो । अघिल्लो भन्दा पच्छिल्लामा झन् कम कारोबार भएको शोरुमका तेजबहादुर वलीले जानकारी दिनुभयो । यसै वर्ष अहिले तेस्रो प्रयास गरिएको छ । पाठक बढाउने लक्ष्य छ । यहाँका साहित्यकार, पत्रकार र पुस्तक प्रेमी पहिचान गरी निम्तो दिने योजना छ ।
प्रदर्शनीमा २०४० साल सम्मका पुस्तकहरुमा ५० प्रतिशत, २०५० सालभित्रका ४० प्रतिशत र २०५१ साल पछि प्रकाशित पुस्तकमा ३० प्रतिशत छुट दिइने साझाले जनाएको छ । यसैगरी सबै किसिमका शब्दकोषमा २५ प्रतिशत र अन्य प्रकाशनका पुस्तकमा ३० प्रतिशत छुट सुविधा छ ।
गरिमा मासिक २०७८ अघिका अङक ८० प्रतिशत छुटका साथ बिक्री गरीने साझा प्रकाशनले जानकारी दिएको छ । हार्डवेयरका कामदार डिबी बुढा दैनिक जनता एजुकेशन हाउस मेनरोड आएर कान्तिपुर लैजानुहुन्छ । उहाँले लैजाँदा ख्वै आज के लेखेको छ भनेर खोस्नेहरु बाटैपिच्छे हुन्छन् । सामान्य पहिरनका बुढाले लगेको पत्रिका तानेर हेर्नेहरु चश्मा लगाएका पढेलेखेका, सभ्य, सम्भ्रान्त जस्ता देखिन्छन् ।
उनीहरुलाई पढाएर मात्रै डिबीको पालो आउँछ । उहाँले फुर्सद भयो नै पढ्नुहुन्छ । ‘विदेशमा छँदा पाँच रुपैयाँको पत्रिका किन्न १५ रुपैयाँ खर्च गर्थे’, बुढाले भन्नुभयो, ‘नेपाल आएदेखि पनि पढिरहेको छु ।’ उनीहरु ग्राहक बन्दैनन् तर पढ्न चासो राख्छन् । राजनीतिक परिवर्तनसँगै ३५ बाट बढेर कान्तिपुर ८० प्रति पुगेको जनता एजुकेशनल हाउसका सञ्चालक रामभक्त गुप्ता बताउनुहुन्छ । उहाँका अनुसार पसलबाटै विक्री हुन्छ ।
नियमित ग्राहकले पनि लैजान्छन् । ‘अरु पसल बजारमा ५० खुल्छन्’ पुस्तक तथा स्टेश्नरी व्यवसायी समितिका पूर्वअध्यक्ष घनश्याम बराल भन्नुहुन्छ, ‘पुस्तक पसल खुलेका पनि बन्द हुन्छन् ।’ उहाँका अनुसार पठन संस्कृतिको विकास हुन सकेको छैन । बौद्धिक जमघटको थलो बनाउने उद्देश्यले पुस्तक व्यवसाय शुरु गर्नुभएका पहिलो व्यक्ति देविप्रसाद गुप्ता बताउनुहुन्छ । उहाँले भने जस्तै स्टेशनरी किन्नेहरु बाहेक पुस्तक किन्नेको भिड लाग्दैन । पुस्तक मेला आयोजना गरेर आकर्षण गर्न जरुरी रहेको व्यवसायी बताउँछन् ।
लम्साल पुस्तक, राप्ती एजुकेशनल हाउस लगायतमा राजनीति, धर्म, साहित्य लगायत कोर्ष बाहिरका पुस्तक राखिन्छन् । चर्चामा आएका एक दुई पुस्तक बाहेक सबै पुस्तक फटाफट बिक्री हुँदैनन् । पाठकहरु नभएकै त होइन, तर अपेक्षित विक्री छैन । जसरी नयाँ ब्राण्डको रक्सी आउँदा फटाफट जान्छ त्यसरी पुस्तक खोजिंदैन । यतिबेला काठमाडौंमा विमोचन हुने दिन दाङमा पुस्तक आइपुग्छ ।
पाठकले माग गरेपछि व्यवसायीले तुरुन्त ल्याउने गर्छन् । प्रकाशन हुँदै गरेका पुस्तक पनि व्यवसायीहरुले सामाजिक सञ्जालमार्फत् प्रचार गर्छन् । स्थानीय पत्रपत्रिकामा समिक्षा हुने गरेका छन् । यसले गर्दापनि पाठकहरुको बृद्धिहुने क्रम बढिरहेको विश्लेषण गरिन्छ । पोका पुरा नभएसम्म पुस्तक पठाउँदैन । त्यसका लागि पुस्तकको संख्या पठाउनुपर्छ ।
उताबाट हिसाब गरेर बिल वाट्स एपमा आउँछ । अनि बैंकमा रकम जम्मा गरेपछि प्रकाशनले पठाइदिन्छ । ‘अहिले त नो डिस्काउन्ट नो डिउ’, जनता एजुकेशनल हाउसका गुप्ताले भन्नुभयो, ‘उधारो ठप्पै बन्द गरिदियो, कामै चलाउन समस्या हुन लाग्यो ।’
उहाँले पुस्तक र्याकभरी चाँज्नु भएको छ । भुइँभरी पनि पुस्तक फिँजाउनुभएको छ । पाठकले टाढैबाट पनि देख्छ, नजिक गएर छान्न पाउने सुविधा पनि छ । यो पनि पठनप्रति आकर्षित गर्ने उपाएका रुपमा लिएको उहाँले बताउनुभयो । व्यवसयीले पुस्तक मेलाको चर्चा गरीरहँदा साझाले भने एकै वर्षमा पुस्तक प्रदर्शनीको तेस्रो प्रयास गरेको छ । पाठकको रुचि बढाउने लक्ष्य रहेको जनाएको छ ।