• मंसिर ११ २०८१, मंगलवार

संसदमा गतिशीलता ल्याउने काम गर

पुष १३ २०७९, बुधबार

नयाँ सरकार निर्माण भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेपछि संसद गतिशील बन्ला वा गतिहीन भन्ने कुरालाई लिएर सबैले चासोका साथ हेरिरहेका छन् ।

संसदमा अहिले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको बलियो प्रतिपक्ष रहेको छ । यो प्रतिपक्षका साथ अन्य दलहरूको गठबन्धन पनि छ ।
सरकारले बहुमत पुर्‍याए पनि संसदमा भने प्रतिपक्षको आवाज जनादेशसहितको बलियो रहेको छ । यस्तो बेलामा संसदले गर्ने काम निकै पेचिलो र रस्साकस्सीपूर्ण हुने देखिन्छ ।

संसदले पहिले त यसको सञ्चालनका लागि सभामुख र उपसभामुखको चयन गर्ने एजेण्डा कार्यान्वयन गर्नु छ । यसका लागि प्रतिपक्षले पनि आफ्नो दावा गर्ने र उम्मेदवार खडा गर्ने अवस्था संसदमा बलियो रहेको छ ।

यसमा खेल निकै हुन सक्ने र एकअर्कामा बलाबलको अवस्था सिर्जना हुने अनुमान अस्वीकार्य छैन । यो नयाँ गठबन्धनद्वारा निर्मित प्रचण्ड सरकारका लागि पहिलो अग्नि परीक्षा साबित हुने देखिन्छ ।

यो परीक्षामा उत्तीर्ण भएपछि संसदमा केही स्थिरता आउने अनुमान लगाउन सकिन्छ । तथापि प्रचण्ड सरकारले संसदका लागि आवश्यक ‘विजनेस’ दिन सक्ने हो वा होइन भन्ने आशंका त छँदैछ ।

यस अघिका कुनै पनि सरकारले सही र सापेक्ष विजनेस संसदलाई दिन असफल रहेको तथ्य जनताका सामु जीवितै छ । यस पटक पनि सरकार आशंकाको घेराभन्दा बाहिर छैन ।

यदि सरकारले संसदलाई विजनेस दिन सकेन भने यो संसद बन्धक बन्ने देखिन्छ । यसले संसदको गतिशीलतालाई रोक्ने छ ।
अघिल्ला संसदहरूले कुनै पनि उल्लेखनीय काम गर्न सकेनन् । यी सधैं गठबन्धन दलहरूको वा सरकारको बन्धक बनेर समय व्यतित गरे ।

जनताले चाहेका, देशको भलो हुने र कतिपय तत्काल गर्नैपर्ने कुनै पनि काम समयमा हुन कठिन हुन गए । संसद अधिवेशन आधा रातमा बन्द गरिने र केवल सरकारको चासोको विषय मात्र बन्न पुगे ।

यी तीता यथार्थता जनताका आँखाबाट लुक्न संभव थिएन । फलतः दर्जनौ अति आवश्यक विधेयकहरू संसदमा थला परेर बसिरहे । अहिले पनि त्यस्ता धेरै विधेयकहरू संसदमा थाति रहेका छन् ।

यी अतिरिक्त नयाँ परिस्थितिले सिर्जना गरेका धेरै कुराहरू कानुन निर्माण गरेर संबोधन हुन बाँकी छन् । यी कुराहरू पूरा गर्नु वर्तमान संसदको कार्यभार बनेर आएको छ ।

संसदको आह्वान हुँदै गर्दा सरकार र सरकार निर्माण गर्न पुगेको गठबन्धनले यी कुरामा चासोपूर्वक गम्भीर ध्यान दिनुपर्छ । ताकि सार्वभौम संसद गतिशील हुन सकोस् ।

देश र जनताले चाहेको संसदको यो गतिशीलता त्यत्तिकै आउने देखिन्न । यसका लागि सरकार गठनमा सम्मिलित सबै राजनीतिक दलहरूमा परिपक्वता र आवश्यक लचकता देखिनु पर्छ ।

पूर्वाग्रह र अज्ञानताले संसद गतिशील हुन सक्दैन । यसका लागि सरकार तथा सत्तासिन राजनीतिक दलहरू अहिले देखि शान्त र शितल विवेकले एजेण्डा प्राथमिकीकरण गरी संसदको विजनेस बारे समयमै गृहकार्य गरिसक्नु पर्छ ।