बझाङको मष्टा गाउँपालिका अन्तर्गत पर्ने एक सघन ग्रामीण बस्ती जिन्नाडाका दलित समुदाय अहिले पनि फोहोर पानी पिएर जीवन जिइरहेका भन्ने सुन्दा जो कसैको पनि कान ठाडा हुन्छन् । यसले स्वभाविकै रूपमा कौतुहलता जन्माउँछ कि के कारणले त्यसो भइरहेको होला !
तर जिन्नाडाका आउजी समुदायले फोहर पानी पिउनु जातिय विभेदका कारणले मात्र हो, पानी आफैमा फोहर भएर होइन । दलित जाति भएकैले त्यहाँ मानवले मानवमाथि गर्ने विभेदजन्य सामाजिक मनोविज्ञान आजसम्म जब्बर भएर रहेको हो ।
आजको २१ औं शताब्दीको युग, विज्ञान र प्रविधिको युग र त्यसमा पनि हामी २१ औं शताब्दीको आधुनिक मानिस ! तर जिन्नाडाजस्ता नेपालका हजारौैं गाउँबस्तीमा रहेका बस्तीहरूमा छुवाछुत जारी छ । जिन्नाडाका आउजीलाई स्वच्छ खानेपानीको चिन्ताले सताइरन्छ ।
जिन्नाडाका दलित समुदायको बस्तीमा स्वच्छ खानेपानीको परिकल्पना गर्दा त्यहाँ बाटोघाटो, शौचालय, विद्यालय तथा बिजुली बत्तीको समस्या झन् कस्तो होला ? गैरदलित समुदायका लागि एउटा मात्र धारा छ, जुन धारा आउजी समुदायले छुन समेत पाउँदैनन् ।
जिन्नाडा गाउँमा खाने पानीको आयोजना पनि पर्यो। तर त्यहाँबाट ल्याइएको पानीको उचित वितरण गरिएन । मात्र एउटा धारा बनाइयो । यो धारामा उच्च जातिको हकभोग रहँदै आयो । यसले गर्दा उक्त धाराबाट निस्केको पानी गैर दलितले प्रयोग गरेपछि बगेको फोहर पानी आउजी समुदायले प्रयोग गर्नुपर्ने बाध्यता बन्दै आयो ।
यसमा थप आश्चर्य त के पनि छ भने पानी डाँडाबाघको मूलबाट ल्याइएको छ । डाँडाबाघ यहाँका नामी देउता भएकाले दलितले यसलाई छुन बन्देज लगाइएको छ । आउजी समुदाय यहाँबाट आएको धारासम्म पुग्ने हिम्मत गर्दैनन् । उनीहरू पनि अन्धविश्वासमा रूमलिएका छन् ।
डाँडाबाघबाट ल्याइएको धाराको पानी छुने हो भने आउजी परिवारमा अनिष्ठ हुने, परिवार सक्किने, पशुचौपाया मर्ने, घरमा नराम्रो हुने भन्ने रुढीवादी सोच उनीहरूमा व्याप्त छ । यसले जनचेतनाको कमी रहेको कुरालाई उजागर गर्दछ ।
यही कमी र कमजोरी आउजी समुदायका लागि फोहर पानी पिउने सहायक कारक बनेको छ । तर मुख्य कारक भनेको सरकार हो । त्यहाँ बीसौं वर्षदेखि यो समस्या ज्युँ का त्युँ रहेको छ, सरकारले यसको सुनुवाइ गरेको छैन ।
देउताको धारो छोए उठिबास लागिहाल्ने सोच पालेर बसेका आउजी समुदायका लागि फोहोर पानी पिउनु नै बेस ! रुढीवादी आडम्बरमा आउजी समुदायले पाएको दुःख नेपाली समाजका लागि एक लज्जाको विषय हो ।
तर यहाँ न जनचेतना फैलाउँदै हिँडेका संघसंस्था पुग्न र यो दशा हेर्न समय पाएका छन् न त गाउँगाउँमा पुगेका सिंहदरवार जिन्नाडा जस्ता दलित वस्तीमा पाउ टेक्न पुगेका छन् । पुगे पनि आखिर त्यो सानो सिंहदरवार नै हो । उसले पनि त्यस्ता बस्तीको अनुहार देख्न नसक्ने ठूलो सिंहदरवारको विरासत बोकेर पुगेको हो ।
होइन भने गास, बास, कपास र शिक्षा तथा स्वास्थ्यजस्ता विषयमा स्थानीय सरकारले दिनु पर्ने ध्यान त्यहाँ पुग्नै सकेको छैन । स्थानीय सरकार पनि ठूला ठेक्का प्रणाली मार्फत् खाने पानी ती ग्रामीण वस्तीहरूमा आपूर्ति गर्न तल्लिन होलान्, ढिलो भएको होला । त्यो पनि आँकलन गर्न सकिन्छ, तर एउटा धारबाट भए पनि आउजी समुदायलाई समान रूपमा खाने पानी उपलब्ध गराउने व्यवस्था गर !