• मंसिर ११ २०८१, मंगलवार

किन विभाजन भइरहन्छन् नेपालका कम्युनिष्ट पार्टी ?

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलन आज विघटित अवस्थामा छ । विसं १९९० को आसपासबाट संगठित भएको नेपालको कम्युनिस्ट आन्दोलन यसरी विघटनको अवस्थामा पुग्नुका पछाडि धेरै कारणहरु रहेका छन् । सुरुमा राणा शासन विरुद्ध प्रजातन्त्र स्थापनाका लागि संगठित भएका युवाहरुले २००६ साल बैसाख १० गते नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेको इतिहास छ । त्यो पनि नेपालमै रहेर होइन, राणाहरुको दमनमा पर्ने भयले भारतमा बैठक बसेर कम्युनिस्ट पार्टी गठन गरेका थिए ।संकटको समयमा बनाइएको सर्वहारा जनताको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी आज आएर किन झण्डै २ दर्जनको समूहमा विभक्त भएको छ । आज हामी यो प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने छौं ।

कम्युनिष्ट पार्टीहरु विभाजन हुनुमा विभाजित पार्टीका नेताहरुका आआफ्नै दावी होलान् तर यस विषयमा नजिकबाट यो आन्दोलनलाई हेर्ने हरुबाट यसको कारण
पनि जान्ने कोशिस गर्नेछौं । कम्युनिष्ट पार्टी विचारको जगमा बन्ने राजनीतिक दस्ता हो । यसमा विचारले परिपक्क मानिसहरु मात्रै संगठित हुन पाउँछन् वा संगठित भएपछि ती सदस्यहरुलाई कम्युनिष्ट विचारले लैस बनाउँदै लगिन्छ । त्यसकारण कम्युनिष्ट पार्टी मानिसहरुको हुल मात्र होइन बरु हो असल, इमान्दार र आफ्नो वर्गप्रति प्रतिवद्ध मानिसहरुको समूह ।

नेपालका कम्युनिष्ट पार्टीहरुको कुरा गर्दा दर्जनौं समूहमा विभाजित भएका साना साना समूहहरु किन र केका लागि विभाजन भए ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्दछ । आज दर्जनको संख्यामा कम्युनिष्ट नामका दलहरु नेपालको संसदमा छन् भने त्यो भन्दा बढी संख्यामा सडक संघर्षमा छन् । केही त शुसुप्त अवस्थामा पनि छन् । यहाँ विभाजित अवस्थामा रहेका ती कम्युनिष्ट पार्टीहरुको इतिहास खोज्न भन्दा पनि उनीहरु के कारणले विभाजन भएका हुन् ? भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिनेछ ।

झण्डै ४ दशकदेखि कम्युनिष्ट पार्टीमा रहेर काम गरेका क्रान्तिकारी माओवादीका नेता हस्तबहादुर केसीका अनुसार नेपालमा कृयाशील कम्युनिष्ट पार्टीहरुमा विभाजन आउनुमा ती पार्टीका नेताहरुमा वैचारिक र सैद्धान्तिक अपरिपक्वता प्रमुख कारण हो । सुरुमा एमाले, माले र पछि माओवादी आन्दोलनमा सक्रिय नेता केसीको बुझाइमा नेपालका कम्युनिष्ट नेताहरुमा विश्वदृष्टिकोण बारेको कमजोर बुझाई र सो बुझाई अनुसार आफूलाई बदल्न नसक्नु, नेतृत्वमा रहने गरेको वैचारिक रुपमा अस्पष्ट र मालेमावादी सिद्धान्तमा लैस नहुनु नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आउनुका प्रमुख कारणहरु हुन् ।

राजनीति भनेको सबभन्दा ठूलो नीति हो । त्यसैले राज्यसत्ता सञ्चालन गर्नका लागि नभइ नहुने यस्तो नीतिका बारेमा राजनेताहरु नै अस्पष्ट भएपछि देश र समाज कसरी अघि बढ्छ ? उसो भए कम्युनिष्ट पार्टीका नेताहरुमा कस्ता गुणहरु हुनुपर्दछ ? यस्ता प्रश्नहरु आज सर्वत्र उठिरहेका छन् । खासमा भन्नु पर्दा कम्युनिष्ट पार्टी देशका मजदूर र किसान वर्गको प्रतिनिधि हो । पुँजीपति वर्गले आफ्नो वर्गको प्रतिनिधित्व गर्दै पुँजीको परिचालन गरेर मजदूरको शोषण गरेको हुन्छ भने त्यसको विपरित कम्युनिष्ट पार्टीका नेताहरु किसान र मजदूर वर्गका प्रतिनिधि भएकोले उनीहरुमा पनि मजदूर वर्गीय चिन्तन र व्यवहार हुन आवश्यक हुन्छ । तर नेपालका कम्युनिष्ट भनिने नेताहरु पुँजीवादी चिन्तनबाट ग्रसित छन् ।
कम्युनिष्ट पार्टीको ब्यानर बोकेर र पुँजीपति वर्गले अपनाउने चिन्तन अंगालेर मजदूर वर्गको प्रतिनिधि बन्न सकिंदैन । कम्युनिष्ट नेताहरुमा भएको समस्या यहि हो । किन कि पुँजीवादी चिन्तनले अवसरवाद जन्माउँछ र व्यक्तिवादी सोंच पलाउँछ अनि नेताहरुकाबिचमा पछि गएर झगडा हुन्छ र पतन हुन्छन् । तर, यसको ठिक विपरित मजदूर वर्गीय सोंचले आफू मात्र होइन किसारा मजदूर र किसान वर्गको हितका लागि सोंच्दछ । सबैको हितमा काम गर्ने भएपछि कसैको कसैसित झगडा हुँदैन र झगडा गर्न नै पर्दैन ।

कम्युनिष्ट पार्टीहरुमा नेतृत्व तहदेखि कार्यकर्तासम्म पार्टी स्कूलको अभाव हुनुपनि पार्टी विभाजनको अर्को कारण हो । किन कि स्कूलिङले उनीहरुलाई के गर्न हुन्छ, के गर्न हुँदैन ? भनेर ज्ञान दिन्छ तर नेपालको मै हुँ भन्ने नेताहरु पनि यस्तो खाले स्कूलिङको आवश्यकता नै ठान्दैनन् । किन कि स्कूलिङमा आफ्नै गलत कामका विरुद्ध आलोचना हुनसक्छ । यसको कारण, नेपालका धेरै नेताहरु आफूलाई जनताको सेवक होइन कि शाषक ठान्दछन् ।

नेता केसीका अनुसार नेपालका कम्युनिष्ट भनिएका नेताहरुको दिमागमा रहेको व्यक्तिवादी अवसरवादले जन्माएको अहंकारले पार्टी विभाजन हुनुमा अर्को भूमिका खेलेको छ । कम्युनिष्ट नेताहरुको मनमा रहेको धनि भई मालिक बन्ने चिन्तनले कुनै काम गर्नुपर्दा नेताको चाकडी गर्नुपर्ने र उनीहरुलाई देवत्वकरण गर्नुपर्ने र देवत्वकरण गराउने गर्दछ । यही कारणले इमानदार र फटाहाहरुबीच गुटबन्दी सुरु भएको नेता केसीको बुझाइ छ ।

नेता केसीका अनुसार नेताहरु आफूमात्रै धनि बन्ने सोंचबाट ग्रसित भए भने उनीहरु जनता र कार्यकर्ताले गर्ने आलोचना र आफूले गर्ने आत्मालोचना गर्नबाट पनि टाढा जान्छन् । त्यसो भयो भने उनीहरुले पार्टी र समाजमा पैदा हुने फरक विचार ग्रहण गर्न सक्दैनन् र समस्या आएमा मालेमावादी विधिबाट हल गर्न खोज्दैनन् । यसरी कम्युनिष्ट विचारबाट परपर भाग्दै गरेका नेताहरु कमी कमजोरी सच्याउन खोज्दैनन् । हामीसितको छलफलमा नेता केसीले कम्युनिष्ट पार्टीका नेताहरु विभिन्न विषयमा जमेर बहस गर्नसक्ने वैचारिक र फौजी हुनुपर्नेमा यी दुवै चीजको अभाव हुनुले पनि कम्युनिष्ट पार्टीहरु विभाजन भएका हुन् ।

यसैबीच नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा विद्यावारिधि गरेका प्रा.डा. सुरेन्द्र केसीको बुझाइमा पनि नेपालमा रहेका कम्युनिष्ट नेताहरुमा कम्युनिष्टमा हुनुपर्ने गुण छैनन् । उहाँको बुझाईमा खासगरि एमाले र एमाओवादी नेताहरुमा कम्युनिष्ट पार्टीका नेताहरुमा हुनुपर्ने गुणको सट्टा छोरी र बुहारीलाई मन्त्री नबनाई रहनै नसक्ने र आफू पनि राजा झैं अकन्टकरुपमा सत्तामा रहनुपर्ने प्रवृत्तिहरु रहेका छन् ।

डा.केसीको बुझाइमा कम्युनिष्ट नेताको जीवन सरल हुनुपर्दछ । विश्व राजनीतिको चक्रलाई राम्रोसित पर्गेल्न सक्ने र त्यसै अनुसार आफूलाई र देशलाई नै नयाँ दिशातिर डोर्याउन सक्ने सोंच र सिद्धान्त भएको मानिस मात्र कम्युनिष्ट बन्न सक्छ । प्रायः नेपाली कम्युनिष्ट नेताहरुको व्यवहारको आलोचना गर्ने र सच्चिनका लागि सुझाव दिइरहनु हुने डा.केसीको बुझाइमा विगतको ओली र प्रचण्डको एकता पदका लागि थियो भन्ने पुष्टि भएको र त्यस्ता व्यवहारहरु कम्युनिष्ट नेताले गर्न सुहाउँदैन । केसीको बुझाईमा ओली र प्रचण्डको सोंचमा अहंकार छ, फलस्वरुप ओलीले विगतमा ६ वटा प्रदेशमा बनेका सरकार सिध्याए भने प्रचण्डले पदका लागि छोरी-बुहारी बोकेर हिंडिरहेका छन् । उहाँको प्रश्न छ, यस्तो गर्नेलाई कम्युनिष्ट नेता कसरी भन्ने ? उनी भन्छन्,‘ओली र प्रचण्डहरुले जनवाद र समाजवाद भन्ने त बाहिरी खपतको लागि हो ।’

लामो समय कम्युनिष्ट आन्दोलनमा लागेर जिन्दगी बिताएका एकजना पाका कम्युनिष्ट नेता रामचन्द्र बलामीसित पनि हामीले नेपालको कम्युनिष्ट आन्दोलनको पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छौं । उहाँपनि कम्युनिष्ट आन्दोलन विभाजन हुनुमा नेतृत्वमा सर्वहारावादी सोंचको अभाव नै दोषी रहेको बुझाइ राख्नुहुन्छ । सर्वहारा वर्गको मुक्तिको लागि संघर्ष गरेका छौं भन्ने नेताहरुको सोंच र चिन्तन विस्तारै पुँजीपतिको जस्तो बन्दै गएपछि त्यसको विरोध गर्दा आन्दोलन विभाजन हुने गरेको उहाँको बुझाइ रहेको छ । नेताहरु कि उग्र बन्दै जाने कि पुरानै व्यवस्थामा समर्पण गर्न जाने कारणले पनि कम्युनिष्ट आन्दोलन विभाजनको शिकार भएको उहाँको ठम्याई रहेको छ । उहाँको बुझाई उग्रवाद र संशोधनवाद दुवै अन्ततः संसदवादमा गएर पतन भएको इतिहासलाई कुनैपनि हालतमा भुल्नु हुँदैन भन्ने छ ।

००७ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा खुलेको नेपाल कम्युनिष्ट पार्टीदेखि सुरु भएको नेपालको कम्युनिष्ट आन्दोलनले ०१५ सालको आमनिर्वाचन तथा ०१७ सालको प्रतिगमन, ०२८ मा भएको झापा विद्रोहहुँदै ०३६ सालको जनमत संग्रह व्यहोरेको छ । त्यसपछि प्रजातन्त्र स्थापनाका लागि कांग्रेससित मिलेर गरिएको संयुक्त जनआन्दोलनहुँदै ०५२ सालदेखि माओवादीले चलाएको जनयुद्ध पनि कम्युनिष्ट आन्दोलन भित्रकै एउटा घटना थियो ।

माओवादी जनयुद्धको आधार र नेपालको राजदरबारले चलाएको एकलौटी शासनका कारण दिक्क भएका जनताको विशाल आन्दोलनले नेपालको इतिहासको झण्डै ३०० वर्ष पुरानो राजतन्त्रलाई सदाका लागि विदा गर्यो । प्रजातन्त्र स्थापना हुनुअघि र पछि विभिन्न समयमा संगठित वा विघटित भएका यी कम्युनिष्ट पार्टीहरु आज फेरि कुनै न कुनै रुपमा संगठित त भएका जस्ता देखिन्छन् तर पनि दर्जनौंको संख्यामा विभाजित नै छन् ।

पछिल्लो चरणमा नेपालमा संसदीय गणतन्त्र स्थापना भएपछि यो व्यवस्था मान्ने र यो भन्दा अझ अघि बढेर समाजवादी गणतन्त्र स्थापना गर्न चाहने गरि २ किसिमका कम्युनिष्टहरु देखा परेका छन् । खासमा भन्नु पर्दा यदि कुनै पार्टीले आफूलाई कम्युनिष्ट भन्न रुचाउँछ भने उसले हालको गणतन्त्रमा मात्रै चित्त बुझाएर बस्ने कुरालाई परिवर्तन भएको मान्न सकिन्न । किन कि हालको गणतन्त्र हुनेखाने र पहुँचवालाहरुको बर्चस्व भएको गणतन्त्र हो । अब यसलाई किसान र मजदूरको बर्चस्वमा बदल्नका लागि समाजवादी गणतन्त्रमा जानै पर्दछ ।

नेपालमा कृयाशील केही कम्युनिष्ट पार्टीहरु :
नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी- लेनिनवादी-माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी
नेपाल कम्युनिष्ट पार्टी (विप्लव)
नेपाल कम्युष्निट पार्टी (बहुमत)
नेकपा (माओवादी समाजवादी)
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त  मार्क्सवादी)
नेकपा
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमोर्चा
संयुक्त जनमोर्चा नेपाल आदी ।
वास्तवमा कम्युनिष्ट पार्टीहरु जति टुक्रामा विभाजन भएका भएपनि तिनीहरुको राजनीतिक, आर्थिक जस्ता विषयहरुमा हुनुपर्ने कार्यक्रमहरु उस्तै उस्तै छन् । पूर्ण नागरिक स्वतन्त्रता, काम अनुसारको ज्याला, जमिन जोत्नेलाई जमिन, बुढाबुढीलाई भत्ता, रोजगारीको ग्यारेन्टी, दैनिक ८ घण्टा काम, निःशुल्क स्वास्थ्य र शिक्षा । यी मागहरु सबै कम्युनिष्टहरुका नै हुन् तर नेपालमा पटक पटक गरेर कम्युनिष्ट नामका पार्टीहरु सरकारमा गएका छन् तर पनि यी मागहरु अझै पूरा भइनसकेको अवस्था छ । रणनीति, कार्यनीति र तत्कालिन कार्यक्रमहरु पनि लगभग मिल्दाजुल्दा नै छन् । तर यति हुँदाहुँदै फेरि नेताहरु किन मिल्न सक्दैनन् त ? यो निकै गम्भीर प्रश्न हो । यसमा फेरि पनि संसदीय गणतन्त्रात्मक व्यवस्थालाई बुझ्ने सवालमा नै नेताहरुको मत भिन्नता देखिन्छ ।

एमाले, माओवादी केन्द्र, नेकपा एस लगायतका संसदमा रहेका कम्युनिष्ट पार्टीहरु यहि गणतन्त्रमा रहेर सुधारका कामहरु गर्नुपर्ने धारणा राख्छन् भने क्रान्तिकारी माओवादी, मजदूर किसान पार्टी र नेकपा(बहुमत), नेकपा जस्ता पार्टीहरु यो पुँजीपतिहरुको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा बदल्नु पर्छ र त्यसबाट मात्र वास्तविक किसान र मजदूरको जीवनस्तरमा परिवर्तन हुनेगरि काम गर्न सकिन्छ र देशको सार्वभौम सत्ता पनि टिकाउन सकिन्छ भन्ने मत राख्दछन् ।

आज यस्तो अवस्था आइसकेको छ कि, अब नेपालका कम्युनिष्ट पार्टीहरुले नै नयाँ विकल्प नदिने हो भने देश पराधिनतातिर धकेलिने, जनताको जीवनस्तर झन विकराल बन्दै जाने र देश नै अन्धकारको सुरुङतिर जाने खतरा बढिरहेको छ । यस्तो अवस्थामा राजतन्त्र पुनस्थापना गर्ने राप्रपा, एमसीसी र महाकाली जस्ता सन्धि गरेर देशको साधन स्रोत विदेशीको हातमा सुम्पने र सत्तामा टाँसिइरहने प्रवृत्ति बोकेको कांग्रेस भन्दा स्वाधिनता र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने घोषित नीति लिएका नेपालका कम्युनिष्ट पार्टीहरु आपसमा मिलेर समाधान दिनैपर्ने अवस्था आइसकेको छ । हुन त केही कम्युनिष्ट भनिने पार्टी र तिनका नेताहरु नै घुमाउरो तरिकाले एमसीसीको पक्षधर बन्न गएको घटनाले जनतालाई को सक्कली हो, को नक्कली हो भनेर भेद छुट्याउनै गाह्रो भएको अवस्था छ । तर अब यी र यस्तै विषयहरुले वास्तविक कम्युनिष्ट
कुन हो र कुन नाम मात्रैको कम्युष्टि हो भनेर जनताले स्पष्टरुपमा चिन्ने र त्यसै अनुसार व्यवहार गर्ने बेला आइसकेको छ ।