• मंसिर ११ २०८१, मंगलवार

दाङमा चुनावी खर्चको बहस : पैसा-रक्सी बाँडिएको र खसी-राँगा ढालिएकोप्रति कोही छैन अनविज्ञ

पुष ६ २०७९, बुधबार

घोराही ७ पुस । गत मंसिर ८ गते विशाल अधिकारीले निर्वाचन खर्च आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गर्नुभयो । उहाँ दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभातर्फका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले १५ हजार आठ सय ८५ मत प्राप्त गरि सम्मानजनक हार व्यहोर्नुभयो ।

‘हामीले हाम्रो चुनावी अभियानलाई सरल र सृजनशील तरिकाले सम्पन्न गरेका छौँ । निर्वाचनको दौरानमा आफ्नो खाजा खर्च आफै तिरेर र आफ्नो मोटरसाइकलमा आफै तेल हालेर हाम्रो आर्थिक भार घटाइदिनु हुने शुभेच्छुकप्रति आभारी छौँ । निर्वाचनमा भएको खर्चको वास्तविक हिसाव सार्वजनिक गरेका छौँ।’ लेख्दै हिसाबको विवरण तालिकामा दिनुभएको छ ।

त्यस विवरणमा लेखिएको छ, वाचा पत्र, नमुना पत्र, निमन्त्रणा पत्र प्रकाशन, मतदाता नामावली छपाई एक लाख ५७ हजार, फेसबुक बुष्ट २० हजार, अटो तथा सवारी साधन भाडा दुई लाख आठ हजार, फेलेक्स तथा झण्डा छपाई ३४ हजार, चिया खाना खाजा ३९ हजार र अन्य मसलन्द ३८ हजार गरी जम्मा खर्च चार लाख ९६ हजार उल्लेख गर्नुभएको छ । यति थोरै खर्चले झण्डै १६ हजार मत आउनु उदाहरण बनेको छ । उहाँ बाहेक उम्मेदवारले भने कुनैपनि माध्यमबाट आफ्नो चुनावी खर्च सार्वजनिक गरेको देखिँदैन ।

त्यसक्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रेखा शर्मादेखि जमानत जफत हुने उम्मेदवार सम्मले चुनावी खर्च सार्वजनिक गरेको भेटिँदैन । राष्टिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह ल्याई उठेका नयाँ पार्टीका उम्मेदवारले नयाँ काम गरेको चर्चा छ । चुनाव खर्च सार्वजनिक गर्ने उहाँ नै पहिलो र थोरै खर्चले धेरै मत धेरै ल्याउने भनि विश्लेषण गरिन्छ ।

संयुक्त निर्वाचन परिचालन समिति दाङले मंसिर १५ गते घोराहीको होटल मालाईनमा बधाई तथा सम्मान समारोह २०७९ आयोजना गरेको थियो । त्यहाँ मन्तव्य राख्न सबैभन्दा कठिन कान्छा उम्मेदवार अनुराग खड्कालाई परेको देखिन्थ्यो ।

भर्भराउँदो युवा जोशमा उम्मेदवार खड्काले मन्टो घुमाएर, गलो सफा गरेर लुकाउने प्रयत्न गर्नुभयो । दुनियाँको सामु उहाँले आफूभित्र रहेको पीडालाई लुकाउन सक्नुभएन । ओकल्न निकै कठिन भएको रातो पिरो मुहारले बताउँथ्यो । ‘आर्थिक केन्द्रित रहेको चुनाव रहेछ’ यति भनेर खड्का हचक्क हच्किनुभयो, छोटो विश्रामपछि थप्नुभयो ‘के गर्ने भनिहालेँ ।’

यति सुनेपछि धेरै सहभागी हाँसे । कतिले ताली बजाएर समर्थन गरे । यथार्थ कुरा भनेकोप्रति सहभागीको समर्थन थियो । उहाँलाई लुकाउनु पर्ने कुरा हो भन्ने थाहा थियो । ढाँट्ने बानीमा अभ्यास थिएन । बठ्याइँ र चतुर्याइँपनि त्यति देखिएन । उहाँले थप व्याख्या गर्नुभयो । ‘यो कुरा ध्यान राखौँ । गाउँका र कमजोर आर्थिक भएकाले चुनाव लड्नुपर्छ । अलि ध्यानमा राखौँ । मतदानलाई दानमै राखौँ । काम गर्नेलाई भोट दिउँ ।’

उहाँको भनाईले भोट खरीद विक्री हुने गरेको पुष्टि गर्दथ्यो । चुनावी खर्च धान्न नसकिने गरि बढेको स्पष्ट पार्दथ्यो । ‘घण्टीले गर्दा हाम्रो मत घट्यो । यो मत आउने वातावरण हामीले गराएको हो कि होइन ?’ दाङ दुई प्रदेश दुईबाट निर्वाचित प्रचण्डविक्रम न्यौपानेले भन्नुभयो, ‘अकल्पनीय मत घण्टीले ल्याएको छ । सोचेनौं भने पत्तासाप हुन्छौँ । नयाँ नयाँ आईरहन्छन् ।’

यो भनाईमा पनि हलको समर्थन थियो । उहाँ बोलिरहेको मञ्चमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्य, राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य गणेश आचार्य, नेकपा समाजवादीका केन्द्रिय सदस्य शारदा श्वणर्कार लगायत दाङबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो ।

अतिथि दिर्घाका नेताहरुले पनि मुन्टो ढक्काएर समर्थन गरेको देखिन्थ्यो । यसले ठूला दललाई घण्टी चुनौति बनेको पुष्टि गर्दथ्यो । नेपाल वन एचडी च्यानलबाट दाङ क्षेत्र नम्बर एकका एमाले तर्फका प्रतिनिधि सभाका पराजित उम्मेदवार शान्ता चौधरीको चुनावी खर्च सम्बन्धी भिडियो क्लिप सार्वजनिक भयो ।

त्यसमा उहाँको भनाई छ ‘हरेक गाउँमा खसी काटिए । हरेक गाउँमा राँगा काटिए । मैले त कुखुरो पनि काटेन, मेरा जो प्रतिपर्धी हुनुहुन्थ्यो । लेहंगा बाँडेका कुरा खुलेआम आए । रक्सी बाँडेका कुराहरु खुलेआम आए । यो मौनअवधि राख्न हुने रहेनछ भन्ने लाग्छ । दुई दिनमा मलाई यति फोन आयो कि कस्तो थियो भने अधिकांश ठाउँबाट पैसा पैसा पैसा पैसा ।’

यो भनाई अनुसार उहाँ आफै वा विपक्षी जसले गरेपनि त्यसै आएको मान्न सकिँदैन । मैले गरेन भनेपनि प्रबृत्तिले खर्चका श्रोत खुलाउँछ । चुनावी खर्च स्वतन्त्रको देखालो अरुको घुमाउरो पुष्टि गर्दछ ।