कुनै पनि सहकारी संस्थाको नाडी छाम्नु भनेको पर्ल्स प्रणाली अनुगमन गर्नु हो । जसरी डाक्टरले हाम्रो हातको नाडीको छामेर स्वास्थ्यस्थिति कस्तो छ भन्ने कुरा थाहा पाउँछन् त्यसरी नै सहकारी संस्थाहरुमा प्रयोग हुने पर्ल्स प्रणालीले सहकारीका सञ्चालकहरूलाई भविष्यमा आउने चुनौती रोक्नका लागि वर्तमानमै धेरै सुझावहरू दिई सहतर्क गराउँदछ ।
वास्तवमा भन्ने हो भने रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस हुन्छ भने झैं यस पर्ल्स अनुगमन प्रणालीले सहकारीलाई रोग लाग्नै दिँदैन । यसले सहकारीको आदर्श कारोबारलाई समयमै जानकारी दिन्छ । यस प्रणालीले दीर्घकालीन रूपमा सहकारीले सुधार गर्नुपर्ने सूचकहरूको समयमै जानकारी दिने हुँदा भविष्यमा हुने भवितब्यप्रति सावधानी गराउँछ ।
पर्ल्स एउटा यस्तो प्रणाली हो जसले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको क्षमता सुपरीवेक्षण गरि व्यवस्थापनलाई प्रशस्त मार्ग निर्देशन गर्न प्रेरित गर्दछ । लेखापरीक्षकले पर्ल्स विश्लेषण नगरिदिने हुनाले सञ्चालक तथा व्यवस्थापन पक्षलाई नाफा घाटाका बारेमा जानकारी भएता पनि आदर्श कारोबारको बारेमा जानकारी हुँदैन, जसले गर्दा क्षणिक नाफा घाटा थाहा भए तापनि पछि हुने बचत तथा ऋणको कारोबार सम्भाव्य खतराहरु थाहा नहुन सक्छ ।
पर्ल्स अनुगमन प्रणालीका जन्मदाता डेभी रिचर्डसन हुन् । उहाँले सन् १९८० मा प्रतिपादन गर्नुभएको हो । रिचर्डसनले ग्वाटेमालाका बचत तथा ऋण सहकारी संस्थाहरुमा प्रयोग सर्वप्रथम गरेका थिए । यस प्रयोगले राम्रो नतिजा निस्के पछि विश्व कर्जा परिषदले विश्वव्यापीरुपमा यस प्रणालीको प्रयोग सन् १९९० देखि गरेका थिए ।
नेफ्सकुनद्वारा यो प्रणाली नेपालमा सन् १९९८ मा एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा लागू गरिएको हो । हाल सहकारी विभागले २०६५ भाद्रबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूले अनिवार्य रूपमा पल्र्स अनुगमन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पर्ल्स एउटा शब्द अंग्रेजी छ वटा अक्षरहरु मिलेर बनेको शब्द हो । जसको अर्थ तल दिएको छ ।
A= Protection Indicators सुरक्षणसँग सम्बन्धित सूचकहरू :
यस सूचकांकमा सुरक्षण भन्नाले संस्थाले लगानी गरेको कर्जा कति सुरक्षित छ भन्ने कुरा बुझ्नुपर्दछ । भाका नाघेको ऋणको लागि सुरक्षणको व्यवस्था गर्न सचेत गर्ने र निक्षेपको जोखिमस्थिति कस्तो छ भनि स्पष्ट पार्ने गर्दछ । यस शीर्षक अन्तर्गत ६ वटा सूचकहरू रहेका हुन्छन् र प्रत्येक सूचकले संस्थाले लगानी गरेको कर्जाको जोखिमताको मूल्यांकन गर्दछन् ।
E = Effective Financial Structure प्रभावकारी वित्तीय संरचना :
यस सूचकले सहकारी संस्थाको सम्पत्ति, दायित्व र पूँजीको मात्राको मापन गर्दछ । यसले संस्थाको आर्थिक वृद्धिको सम्भावना, कमाइ गर्ने क्षमताको विश्लेषण गर्दछ । संस्थाको सम्पत्तिलाई उत्पादक र अनुत्पादनक कुन क्षेत्रमा गईरहेको छ हेरिन्छ । यसबाट संस्थाको आदर्श वित्तीय संरचनाको स्थिति थाहा हुन्छ यस शीर्षक अन्तर्गत ९ वटा सूचकहरू रहेकाछन् ।
A= Asset Quality सम्पत्तिको गुणस्तर
यस अन्तर्गत संस्थाको सम्पत्तिलाई आय-आर्जन गर्ने र आय-आर्जन नगर्ने गरी दुई भागमा विभाजन गरी विश्लेषण गरिन्छ । आय-आर्जन गर्ने सम्पत्तिको मात्रा कसरी बढाउने तथा आर्जन नगर्ने सम्पत्तिलाई कसरी घटाउने भन्ने सम्बन्धमा व्यवस्थापनलाई उचित जानकारी दिन्छ । यसमा तीन वटा सूचकहरू रहेकाछन् ।
R= Rate of Return & Costs प्रतिफल र खर्चको दर
यस सूचांकले वास्तबमा संस्थाको कार्यगत क्षमताको मात्रा मापन गर्दछ । यसले संस्थाको वासलातमा देखिएको पूँजी तथा दायित्वहरूमा तिर्नुपर्ने लागतको मापन गर्दछ । यसमा १३ वटा सूचकहरू रहेका छन् ।
L= Liquidity t/ntf तरलता
यस सूचांकले संस्थालाई आफ्नो कारोबारको नगदलाई प्रभावकारी ढङ्गबाट व्यवस्थित गरिएको छ कि छैन भन्ने जानकारी दिन्छ । तरलता भन्ने वित्तिकै संस्थामा रहेको नगद, बैंक, छोटो समयको लगानी भन्ने सम्झनु पर्दछ । तरलताले नै निक्षेप फिर्ताको आवश्यकता तत्कालै पूरा गर्न मद्दत गर्दछ । साथै यसले तरलताको नाममा धेरै रकम राख्दा निष्क्रिय नगदको रूपमा राखिएछ कि भनेर पनि देखाउँछ । यसमा तीनवटा सूचकहरू रहेका छन् ।
S= Sign of Growth वृद्धिका संकेतका सूचकहरू :
सहकारी संस्थाको आर्थिक क्रियाकलापमा वृद्धिको संकेतको मापन यस सूचकले गर्दछ । यसमा संस्थाको सम्पत्तिमा वृद्धि, सदस्य संख्यामा वृद्धि, निक्षेपमा वृद्धि आदि कुरा जानाकारी गराउँदछ । हरेक सूचकहरुको वृद्धि अनुपातलाई अध्ययन गर्न मद्दत गर्दछ । यसको नतिजाले संस्थाको सदस्य सन्तुष्टि दर कति रहेछ भन्ने थाहा हुन्छ ।
PEARLS को ढाँचा :
पर्ल्स अनुगमन प्रणालीका लागि वित्तीय संस्थाको वासलातलाई विभिन्न पाँच भागमा विभाजन गरिन्छ ।
१. आर्जन गर्ने सम्पत्ति :
(क) ऋण लगानी
(ख) तरल लगानी
(ग) वित्तीय लगानी
(घ) गैरवित्तीय लगानी
२. आर्जन नगर्ने सम्पत्ति :
(क) तरल सम्पत्ति
(ख) पाउनुपर्ने हिसाब
(ग) स्थिर सम्पत्ति
(घ) अन्य सम्पत्ति
३. सशुल्क दायित्व :
(क) सदस्यको निक्षेप
(ख) लिएको ऋण,
४. निःशुल्क दायित्वः
(क) तिर्नुपर्ने हिसाब
(ख) तिर्नुपर्ने कर दायित्व
(ग) अन्य दायित्व
५. पूँजी :
(क) सदस्यहरूको शेयर पूँजी
(ख) संस्थागत पूँजी
त्यसैगरी आय विवरण वा नाफा नोक्सान विवरणलाई पनि निम्नानुसार ५ क्षेत्रमा वर्गीकरण गरिन्छ ।
१. ब्याज आम्दानी :
(क) ऋण लगानीबाट
(ख) तरल लगानीबाट
(ग) वित्तीय लगानीबाट
२. गैरब्याज आम्दानी :
(क) गैरवित्तीय लगानीबाट
(ख) अन्य आम्दानी
३. वित्तीय खर्चः
(क) निक्षेपमा
(ख) बाह्य ऋणमा
(ग) शेयर पूँजीमा
४. सञ्चालन खर्चः
(क) वित्तीय खर्च र (ख) ऋण सुरक्षण खर्च बाहेकका खर्चहरू
५. खुद बचत(नाफा)
पर्ल्स अनुगमन प्रणालीलाई एक यस्तो औजार हो, जसले सहकारीहरूको तह निर्धारण गर्न र एक अर्कोमा स्पष्टरुपमा तुलना गर्न सकिन्छ । यसको मद्दतबाट आफ्नो सहकारी र अर्को सहकारीमा भिन्नता तथा स्थान थाहा हुन्छ ।
पर्ल्स एक गतिशील अनुगमन प्रणाली हो जुन निरन्तर रूपमा प्रयोग भैरहेको हुन्छ । जुन विश्व ऋण परिषदद्वारा आवाश्यक सल्लाह र सुझावमा अद्यावधिक गरिदैं आएको छ । यसले सहकारीको आजको मात्र नभइ भोलिको समेत आवश्यकता तथा अग्रिम सूचना थाहा हुन्छ । पर्ल्स अनुगमन प्रणलीका विश्वव्यापी रूपमा ४६ वटा स्थापित सूचकहरू रहेका छन्, जसको मद्दतले वित्तीय संस्थाका विभिन्न आर्थिक अवस्था बारे जानकारी लिन सकिन्छ ।
नेपालमा धेरै प्रयोगमा आउने १५ देखि २२ वटा सूचकहरू रहेका छन् । जसले सहकारी संस्थाको समग्र वित्तीयस्थितिलाई एकै स्थानमा लक्ष्य र नतिजासहित देखाउने हुनाले भोलिको योजना तयार तयार पार्न पनि सजिलो हुने भएको हुनाले सहकारीहरुलाई रामबाणको रुपमा लिएको छ ।
(सन्दर्भ सामग्रीः विश्व कर्जा परिषद्, नेफ्सकुन, सहकारी विभागको वेबसाइट ।)
(लेखक : गोंगबुभैरव बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।)