• मंसिर ११ २०८१, मंगलवार

सर्तैसर्तले भरिएका उदरगर्त !

मंसिर २९ २०७९, बिहीबार

मंसिर पहिलो साता सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नयाँ जनादेश दिएसँगै उक्त जनादेशको फेरो समातेर राजनीतिक दलहरू सकेसम्मको बार्गेनिङमा लागिपरिरहेका छन् ।

प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेपछि आआफ्ना भागमा परेका सांसद संख्यालाई लिएर सरकारमा सभागिताका लागि कहिले वारि त कहिले पारि गरिरहेका छन् ।

सत्ता गठबन्धन र प्रतिपक्ष दुवै सरकार गठनका ताकमा छन् । तर साना दलहरू भने सरकार गठनका लागि आफ्नो सहभागितालाई लिएर सर्तैसर्त अघि तेस्याउने गरिरहेका छन् ।

जनमत पनि साना दलहरूलाई साथमा नलिएर सरकार गठन गर्न नसकिने गरी प्राप्त हुन गएको छ । ठूला दलहरूको अलोप्रियता र जनविश्वासमा आएको कमीका कारण जनादेश मिश्रित हुन पुगेकोमा शंका छैन ।

तर यही जनादेशको ‘जुँगा’ बनाएर उक्त जुँगामा साना राजनीतिक दल पिङ खेल्न थालेपछि सरकार गठनको प्रक्रिया लम्बिने मात्र होइन, सरकार कसको बन्छ भन्ने पनि अनिश्चित देखिन पुगेको छ ।

यसले सरकार गठनको अलमल र खिचातानीलाई उल्टो गति दिएको छ । संसदमा कुनै पनि एक दलको बहुमत नहुँदा सरकार गठनको प्रक्रिया सहज छैन । सातै प्रदेशका प्रदेश सरकार निर्माणका लागि पनि कुनै एउटा दलको बहुमत नहुँदा भनेकै समयमा प्रदेश सरकार बनाउन सकिने सुविधा छैन ।

मत परिणाम आउँदै गर्दा सरकार निर्माणका लागि दलहरूले अनौपचारिक कुराकानी र भेटघाटलाई ठाउँ दिए पनि उक्त भेटघाटले औपचारिक टुंगो लगाउन सकिरहेको छैन ।

बरू भेटघाटको निरन्तरता अनायाशै अघि बढिरहेको छ । यसका पछाडि पछिल्लो समयमा घुर्की, धम्की र बार्गेनिङले काम गरिरहेको छ । संघीय सरकार तथा प्रदेश सरकार गठनका लागि प्रत्यक्षतर्फको मत परिणाम आएदेखि नै राजनीतिक दलहरू मौका मिलेमा सत्ताको दाउँ छोप्ने प्रयत्नमा छन् ।

तर पनि भ्यागुताको धार्नी यी कसैमा पनि पुग्न सकिरहेको छैन । परिणामतः बार्गेनिङसहित सत्ताधारी गठबन्धन र विपक्षी गठबन्धन एक अर्कामा निर्णायक जनमत पाएका पार्टीहरूको मुख सुँघ्ने काम जारी राख्न छोडेका छैनन् ।

दलहरूले जनताले के कस्तो मत दिएका छन्, त्यसको समीक्षा गर्न चाहेका छैनन् । बरू हामीभन्दा अरू कोही पनि छैन भन्ने भावनाका साथ उछिनपाछिनमा लागि परिरहेका छन् ।

दलहरूमा आवद्ध नेताहरूको उदरगर्त कहिल्यै पनि भरिने र शान्ति तथा सन्तोषको सास लिने उनीहरूमा देखिदैन । हाल सत्तासिन रहेको सत्ता गठबन्धनलाई सामान्य बहुमतको सरकार बनाउन पनि थप दुई सिट अपुग रहेकाके छ ।

यसैका लागि यो अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको पछि लागि परिरहेको छ । साथै, सिके राउत नेतृत्वको जनमत पार्टीलाई आफ्नो पक्षमा तान्ने प्रयास यसले गरिरहेको छ ।

तर निर्णायक भूमिकामा रहेका साना दलहरूले यसलाई बार्गेनिङ चिप्सका रूपमा भरपूर उपयोग गर्न नचुक्ने गरी आफ्ना अडान कायम राखिरहेका छन् । त्यसैले दलहरूका बीचमा सर्तैसर्तको उदरगर्त अघि सारेर दलहरूले जनमतको कदर गर्न बिर्सिइरहेका छन् ।