घोराही, २८ मंसिर । खोप्ने सुइरो हातमा उचालेका, गलामा सिठी पहिरिएका हर्कबहादुर वलीलाई धेरैले बड्डो भन्छन् । फोहोर भुइँमा खसाल्न लागेको देख्यो नै ‘अहिले बड्डो आउँछन् है नफाल’ भनेर तर्साउँछन् ।
कैयौं पटक बसपार्कमा यस्तो भनेको आफ्नै कानले सुनेको बताउँछन् । लोसेलोसे गरेर हिंडेको देखिएपनि घोराही १४ सेवार खोला नयाँ बसपार्कका सरसफाइ निरीक्षक वलीका आँखा निकै तेजिला छन् । सिकारीले मृगको पिछा गरेजस्तै शैलीमा नजर लगाउँछन् ।
खसाल्दा खसाल्दैको पनि देख्छन, फुत्त फाल्यो नै सिठी बज्छ । गत साउनदेखि ६० वर्षमा टेकेका वली, दिनहुँ फिल्डमा खटिरहेका छन् । कहीँ कतै पनि प्लाष्टिकका खाेस्टा देख्न पाइँदैन । यदि कतै फुर्रफुर्र गरेको भेटिएपछि वली उठाउँछन्। बसमा यात्रु हाल्ने र ओराल्ने ठाउँ तुलसीपुर चोक पूर्वतर्फ भोलाका खोलको थुप्रो हुन्छ । तिनै सवारीका चालक सहचालक तथा यात्रुले बसपार्कमा फाल्दैनन् । तुलसीपुर चोकको पूर्वतर्फ जति घिन्लाग्दोछ बसपार्क घर आगन जत्तिकै सफाचट देखिन्छ । धेरै यात्रुले देशभरकै सफा भनेर प्रतिकृया दिएको स्थानीय बताउँछन् ।
सात वर्ष अघि सेवार खोला नयाँ बसपार्क टोल विकास संस्थाका अध्यक्ष माओवादीका शक्तिराम डाँगी थिए । राजनीतिक सन्तुलन मिलाउन एमालेका लछिन बुढासँग दोस्ती थियो । जग्गा दाताको तर्फबाट सक्रिय कैलाश रोका निकै फरासिला र काम गर्नमा जोश जाँगर देखाउँथे । बसपार्क सफाइ गर्ने अभियान थाल्ने निणर्य गरे । त्यो निणर्य र कार्यान्वयनमा त्यस टोल विकास क्षेत्रका सबैले साथ दिए । फोहोर सुँघेकै कारण लखनउ उपचारमा जानु परेको घोराही-१४ का निवर्तमान अध्यक्ष डाँगीको भनाई छ । देशभरका बसपार्क फोहोर हुन्छन् भन्ने मान्यता थियो ।
त्यसलाई उल्ट्याउन डाँगी नेतृत्वको टिमले सार्वजनिक शौचालयलाई प्राथमिकता दियो । शौचालयका प्वालहरू प्रयोग भएका कण्डम, प्याड, भोला र पुकारले बन्द गराएका थिए । भित्र छिर्ने ठाउँ नभएपछि दिसा पिसाव ढोकाहुँदै बाहिर बग्थ्यो । राङ्टा बसेको हुन्थ्यो । शौचालयको सेफ्टी ट्यांकी बाहिर बग्नेगरी भरिएको थियो । त्यसको गन्ध बसपार्कका यात्रुहरुले बसुन्जेल सुंघ्थे । बसपार्क यस्तै हुन्छ भन्ने लाग्थ्यो । त्यसै अनुसार घर वरपर पनि हुन्थ्यो । खोलाका किनारै किनार दिसाका थुच्चा हुन्थे । अहिले विरुवा रोपेका छन् । देशमा खुला दिसामुक्त अभियान चल्यो ।
बसपार्क सफाई अभियान चलाएकै नेतृत्व तत्कालीन घोराही नगरपालिका-१० मा आयो । विष्णुबहादुर दसौंदी लगायतले वडा सफा गर्न थाले । बसपार्क प्रत्यक हप्ता झाडु लगाउने, न निस्कनेलाई जरिवाना गर्ने भयो । एक घर एक शौचालय अभियान सफल भयो । त्यति गरेपनि बसपार्क नियमित सफा बनेको थिएन । त्यहाँका अगुवाहरु भानुभक्त पाण्डेय लगायत सबैको सल्लाहमा वलीलाई जिम्मेवारी दिने निणर्य गरे । शुरुका दिनमा वलीले निःशुल्कै खटिए । त्यसबेलासम्म बसभित्रका फोहोर पनि त्यहिँ खसालिन्थ्यो ।
राप्ती समितिका समितिका रुपलाल दशौदी ‘राजु’ लगायत सबै कर्मचारीले सफा राख्ने प्रतिबद्धता जनाए । त्यसबेला बसपार्कको प्रहरी पोष्टको नेतृत्व सम्हालेका नवराज भण्डारीले पूणर्रुपमा साथ दिए । अटेरी गर्ने, चर्किने, नपत्याएरै फाल्नेलाई महरा नेतृत्वको प्रहरीले समातेर चेतावनी दियो । सबैतिरबाट फोहोर फाल्ने विरुद्ध लागेपछि सफा देखिन थाल्यो । अहिले घरबाट एक सय र व्यवसाय बाट ५० रुपैयाँकाका दरले उठाएर वलीलाई पारिश्रमिक दिने गरेका छन् । ‘आधा घण्टा हल्टा गर्ने हो भने फालिहाल्छन्’ वलीले भन्नुभयो, ‘देखेता उठाउनै पठाउँछु, देखिएन भने आफैले यो फोहोर सुइरोमा खुन्टिन्छु ।’
उहाँका अनुसार पहाडतिरबाट थाहै नपाएका आउँछन् । उनीहरु गल्ति भयो हजुर भनेर स्विकार्छन् । ‘घाँटीमा तारा हानेकाले जोरी खोज्छन् तिनलाई छोड्दैन’ उहाँले थप्नुभयो ‘कतिलाई पुलिस पनि लगाएँ, चाँटा पनि खुवाएँ ।’ उहाँका अनुसार केरा सुन्तलाका बोक्रा, उखुका झुस, बदामका खोष्टा, चाउचाउ, कुकुरेका खोल, पानीका बोत्तल बाहिर फाल्न पाइँदैन । खानेले डस्टविन वा आफ्नै गोजीमा हालेर अन्त लैजानुपर्छ । केहि गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागेर बसपार्क सरसफाईको काम सम्हालेको वली बताउनुहुन्छ ।
उहाँका अनुसार हिंड्न सकुन्जले फोहोर टिप्न लागिरहने प्रतिवद्धता छ । घोराही उपमहानगरपालिका र घोराही-१४ ले वलीलाई सम्मान गरेको थियो । त्यसलेपनि फिल्ड नछोड्ने उर्जा दियो । उज्यालो छउन्जेल बसपार्कमै समय बित्छ । बाह्र कुने मेला, तिहारको भैली लगायतमा पनि बसपार्क सफा हुन्छ । कहिँ कतै कुनैपनि किसिमको फोहोर भेटिंदैन । फोहोर खसाल्नै नदिने कारणले गर्दा सर्वसाधारण तथा यात्रुहरुबाट नमुना सफा बसपार्क पदवी पाउने गरेको छ । आफू बाचुन्जेल बसपार्कमा फोहोरले तनाब नहुने वली बताउनुहुन्छ । यसरी अटेरी गर्नेलाई हर्कले हप्काएर सफा घोराही बसपार्क सफा बनेको देखिन्छ ।