• मंसिर ११ २०८१, मंगलवार

मतदानको निहुँमा सयपत्री फूलसित रमाउँदा…

मंसिर २२ २०७९, बिहीबार

मलाई मन पर्ने फूलमध्ये सयपत्री पनि एक हो । गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदान गर्न म आफ्नो जन्मभूमि बनेपा, नाला काभ्रेमा गएको थिएँ । बिहान आठबजे नै मतदान गरीसकेर घरमा आई खाना खाएँ । दाजू राजेप्रसाद श्रेष्ठसँग हाम्रो खेतमा भाडामा लिएर कर्मा ग्रुपले फूल लगाई राखेको रिसर्च सेन्टरमा अवलोकनमा गएँ । फूलहरु देखेर म अत्यन्न्तै हर्षित भएँ ।

हाम्रो मनलाई आनन्द दिन सुखी स्थलले मात्र होइन फूलको हराभरा र रंगीन दुनियाँले पनि मन लोभ्याउने रहेछ । आधुनिक टनेलभित्र रोपिएका सयपत्री फूलले मलाई मात्र होइन मौरीहरूलाई पनि आकर्षित गरिरहेको मैले देखें । यसै सिलसिलामा दाजूले विभिन्न जातका सयपत्री फूलहरुबारे जानकारी दिनु भयो ।

हुन त एक वर्ष अगाडी पहिले नै हामीले पनि टनेलमा सयपत्री रोपेका थियौं । त्यसबखत हाम्रो अनुमान अनुसार आठदेखि दश लाखसम्मको फूल बेच्ने आँकलन गरेका थियौं तर नेपालमा फूल विक्री तिहारसम्म मात्र हुने र तिहार पछाडि फुलेका फूलहरु विक्री गर्न नसकिने अथवा साह्रै कम मूल्य आउने भएकोले करिब चारलाख पचासहजारको मात्र फूल बेच्न सफल भयौं । यो हिसाबले हेर्दा फूलभन्दा गोलभेंडाबाट नै नाफा हुने देखिएकोले यो वर्ष हामीले फूल नलगाउने निणर्य गरेका छौं ।

हुन त नेपालमा सयपत्रीलाई पूजा गर्न र केही मात्रामा सजाउन मात्र प्रयोग गरिन्छ । वास्तवमा फूलहरुबाट तेल, मल्हम, फेस प्याक र चियामा पनि प्रयोग गर्न सकिन्छ । पहिले पहिले केसरको सट्टा सयपत्रीकै रङ प्रयोग गरिएको पनि पाइन्छ । खाने सुपमा समेत यसको समावेश गरिन्थ्यो ।
‘द इश्नोबोटनी अफ ट्यागेट्स’ जर्नलमा रोबर्ट ट्रोस्टल नेहेले सन् १९६८ मा लेखेको लेख अनुसार सयपत्री फूलहरूबाट आदिवासीहरुले विभिन्न केमिकल कम्पाउण्डहरु तयार पार्दछन् । यसले दुखाई कम गर्न, ब्याक्टेरियल इन्फेक्सन कम गर्न, किराहरूले टोकेको ठाउँमा लगाउन र पाचन प्रणालीलाई सहयोग गर्न यसको प्रयोग गरिएको कुरा लेखिएको छ ।

सयपत्री फूल एन्टिफंगल, एन्टिव्याक्टेरियल र एन्टिफ्लेमेटरी हुने भएकोले छालाको सौन्दर्यका साधन बनाउन पनि प्रयोग गरिन्छ । हाम्रो आयुर्वेदले पनि यो भन्छ कि, यसको सेवनले पेटको रोग, ग्यास्ट्रिक निको पार्न, जन्डिस, पायल्स आदी रोगलाई निको पार्न सहयोग गर्दछ । उक्त रस ५ थोपा दिनको एक पटक, चुर्ण दिनको २ वा ३ पटक, आधा थुंगा फूललाई ५०० मिलिको चिया बनाएर खान सकिन्छ ।

अरु फूलको तुलनामा यो फूल ठूलो हुने भएकोले नेवारी भाषामा ‘तफ्वः स्वां’ भनिन्छ भने तामाङ समुदायले ‘ताफोले’, नेपाली खस भाषामा सयपत्री तथा हजारी फूल भनेर चिनिन्छ । अंग्रेजीमा यसलाई मेरीगोल्ड भन्नुका साथै हिन्दीमा ‘गेंदा’ भनिन्छ ।

अंग्रेजीमा सयपत्रीको नाम ‘मेरीगोल्ड’ रहेको छ । इस्लाम धर्म मान्ने समुदायमा जिसस क्राइस्टकी आमालाई ‘मेरी’ नामले पुकारिन्छ । जसले  मेरीलाई सुनको सिक्का राखेर प्राथना गर्न सक्दैन उक्त व्यक्तिले यो फूल सुनको प्रतिकको रूपमा लिएर चढाउने अथवा अर्पण गर्ने भएकोले  सयपत्रीलाई ‘मेरीगोल्ड’ भनेको भन्ने कथन छ ।

फेरि बनेपातिरै फर्कौं, दाजूले टनेल भित्र ‘मेरीगोल्ड’ अथवा सयपत्रीका विभिन्न जातबारे देखाउँदै हुनुहुन्थ्यो । उक्त टनेल भित्र ‘मेरीगोल्ड एलो, मेरीगोल्ड ओरेन्ज, मेरीगोल्ड व्हाइट स्वान, मेरीगोल्ड कर्मा ऐलो, मेरीगोल्ड टेनिस बल ओरेन्ज, मेरीगोल्ड थाई ओरेन्ज, मेरीगोल्ड सोलार दिप गोल्ड, मेरीगोल्ड मायान ओरेन्ज, आदि विभिन्न थरीका सयपत्री फूलहरु देखाउनु भयो ।

मैले दाजूलाई जानकारी गराएँ की यो सयपत्री फूल नेपालको रैथाने जातिको फूल होइन । यसो भन्दा दाजु आश्चार्यचकित हुनुभयो । वास्तवमा सन् १४९२ मा क्रिस्टोफर कोलम्बस अमेरिका पुगेपछि यो फूल युरोपमा ल्याए र त्यसपछि एशियाली मुलुकमा फैलियो । कान्तिपुर पत्रिकाको बुनु थारुको ‘सयपत्रीको कथा’ शीर्षकको लेखमा लेखिए अनुसार नेपालमा सयपत्री १ सय २६ वर्ष भन्दा पहिले देखि नै रोपिने गरिएको भन्ने कुरा वनस्पतिविद कमल मादेनले विभिन्न अभिलेखहरूमा उल्लेख गर्नु भएको छ ।

संसारभरि सयपत्री ४९ प्रजातिका रहेको कुरा मादेनले बताउनु भएको छ । त्यसमध्ये अफ्रिकन मेरिगोल्ड (ट्यागेट्स इरेक्टा) र फ्रेन्च मेरिगोल्ड र (ट्यागेट्स प्याटुला) बढी मात्रामा रोपिन्छ । सयपत्री फूल बारे विदेशमा पनि देवीदेवतासँग जोडिएको थुप्रै प्रशंसहरु पाइन्छन् । प्राचीन रोमको प्रख्यात देवी ‘टायेस’ हुन् । उनको नामबाट यस फूललाई ‘ट्यागेट्स’ समूहमा सूचीकृत गरेको पाइन्छ । नेपालमा सयपत्री फूलका ट्यागेट्स इरेक्टा, ट्यागेट्स माइनुटा, ट्यागेट्स प्याटुला र ट्यागेट्स टेनुइफोलिया प्रजातिका पाइन्छन् । पछिल्लो समयमा अन्य प्रजातिका फूलहरु पनि आउने क्रम जारी छ ।

हाम्रा धार्मिक ग्रन्थका अनुसार अयोध्याका राजा दशरथका छोरा रामचन्द्र १२ वर्ष वनवास र दुई वर्ष गुप्तवास बसेपछि अयोध्यामा फर्कंदा श्री रामलाई स्वागतको रूपमा सयपत्री फूलको वर्षा गराइएको कुरा उल्लेख गरिएको पाइन्छ । नेपालमा पनि हाल विभिन्न स्थानमा सयपत्री फूलहरु लगाइन्छन् । पछिल्लो समयमा यसको व्यापार र व्यवसाय निकै फस्टाउँदो छ । नेपालमा सयपत्री फूलको बिऊ थाइल्याण्ड, नेदरल्यान्ड र जापान जस्ता देशबाट आयात गरिएता पनि हाल कर्मा ग्रुपले हाम्रै देशमा उत्पादन गर्न थालेको छ ।

दाजूका अनुसार कर्मा ग्रुपले सयपत्री फूल अनुसन्धान हाम्रै खेतमा गर्दै आएको र अर्को खेतमा फूलको व्यवसायी खेती गरेको कुरा थाहा पाएँ । काभ्रे बाहेक पनि विभिन्न स्थानमा सयपत्री फूलको व्यवसायिक खेती गर्दै आएतापनि दशैँ र तिहार जस्ता ठूला चाडहरूमा नेपाली फूलले मात्र बजारको माग थाम्न नसकेकोले हाल हरेक वर्ष करोडौं रूपैयाँका फूलहरू भारतबाट आयात गरिन्छ ।

वास्तवमा नेपाली किसान दाजूभाईहरुलाई फूलखेती वैज्ञानिक तरिकाले सिकाउने र यसतर्फ आकर्षण गर्न सकेमा देशको करोडौं रुपैयाँ विदेश जाने थिएन । फूलमा पनि आत्मनिर्भर हुनुका साथै फूलबाट उत्पादन हुने अन्य वस्तुहरू रंग, केशर, सेन्ट आदि अन्य मुलुकमा समेत निर्यात गर्न सकिने थियो । आशा छ भावी दिनहरूमा यसतर्फ पनि हाम्रा मेहनती किसान दाजूभाईहरू सरिक हुनेछन् । यसका लागि सरकारको तर्फबाट पनि फूलको आयातलाई रोक्न वा कम गर्न किसानहरुलाई खेतीमा प्रोत्साहन गर्न पहल हुनुपर्दछ । सरकारले यसमा पहल लिनु अतिउत्तम हुनेछ । त्योसँगै किसानहरु पनि जागरुक हुनैपर्दछ ।