काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै नकआउट चरणमा पुगेको छ ।
ब्रुनो फर्नान्डेसले गरेका दुवै गोलले पोर्चुगललाई नकआउट चरणमा पुग्न सफल भएको हो ।
खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ब्रुनोले सहजै गोल गरे ।
यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । पोर्चुगलले २ खेलमा ६ अङ्क जोडेको छ ।
पोर्चुगल शीर्ष स्थानमा रहेको छ । उरुग्वे १ अङ्क जोडेर पुछारमा रहेको छ । यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।