काठमाण्डौ। भारतसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले सात विकेटको जित हात पारेको छ ।
अकल्यान्डमा भएको खेलमा भारतले दिएको ३ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले १७ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका लागि टम लाथमले नटआउट १ सय ४५ र केन विलियम्सनले पनि नटआउट ९४ रन बनाए । बलिङतर्फ भारतका उमरन मलिकले २ र शार्दुल ठाकुरले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनायो । भारतका लागि श्रेयस एअरले ८०, शिखर धवनले ७२ र शुभमन गिलले ५० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र लकी फर्गुसनले ३-३ विकेट लिए ।
आजको जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो खेल आउँदो आइतवार र तेस्रो खेल बुधवार हुनेछ ।