• मंसिर १७ २०८१, सोमबार

आफ्नै बन्दरगाहमा रूसी मल छ, युरोप आफै जल्छ !

मंसिर ९ २०७९, शुक्रबार

दिन पनि आउनु पर्दो रहेछ । ‘बाँच्नु मात्र पर्छ, सबै देखिइहाल्छ’, मानिसले त्यसै भनेका होइन रहेछ । चर्खारूपी संसारमा यस्तो हुँदो रहेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार सबै साझेदारसँग आफ्नो सरकार मलको आपूर्ति विस्तार गर्न तयार रहेको जनाउ दिए । मलको कुरा त्यति सामान्य छैन युरोपमा ।

नेपालमा कृषिमन्त्री घुम्ने कुर्सीमा निदाउने, जनताले विना मल खेती गर्नु पर्ने जत्तिकै बाध्यात्मक अवस्था सिर्जना भएको छ युरोपीय देशहरूमा । नेपालमा त हिउँदे वा वर्षे सिजनामा भए पुगिहाल्छ, तर संसारभर निर्यात गर्न बाह्रै महिना बेमौसी खेती गर्ने युरोपका लागि मल बाह्रै महिना बराबर चाहिन्छ ।

युक्रेन–रसिया युद्धलाई लिएर युरोपीय देशहरूले रूसमाथि ‘प्रतिबन्ध’ लगाएको घोषणा गरेपछि युरोप आफै बिचल्लीमा परेको छ । अहिले त्यहाँ मलको हाहाकार छ । तर रसियामा मल गोदाममा भण्डारण गरिएको छ ।

‘तित्रोको मुखै बैरी’ भने झैं अमेरिकासँग मिलेर रूसमाथि प्रतिबन्ध घोषणा गरे सँगै युरोपका लागि ‘उही मुखले … खाने’ भन्ने अवस्थामा पुगेको छ । केही युरोपीय देशहरूले रूसी मलको निर्यातमा कृत्रिम अवरोध सिर्जना गरेपछि युरोप लगायतका विश्व बजारमा रासायनिक मलको नकारात्मक प्रभाव पारिसकेको छ ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका नाममा युरोपेली बन्दरगाहहरूमा थुपारिएको छ । तर युरोपका खेती कम्पनी तथा किसानहरूमा मलको हाहाकार छ ।

रूसी राष्ट्रपति पुटिनले यस्तो अवस्था वास्तवमै कठिन रहेको र आफूहरू समस्या समाधानका लागि साझेदार देशहरूसँग समस्या समाधानका लागि अघि बढ्न तयार रहेको जनाउ दिएका छन् ।

उनी तत्काल युरोपीय देशहरूले समस्या समाधान गर्न नचाहे समाधानका विभिन्न तरिकाहरू खोजेर अफ्रिकी तथा अन्य विकासशील देशका बजारहरूमा मल आपूर्ति गर्न लागिपरेका देखिन्छन् ।

यसका लागि रूसी अधिकारीहरू संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग कुराकानी गरिरहेका छन् । संकटले अतिको सीमा पार गर्न थालेपछि समस्याको गाँठो फुकिने अवस्थामा देखिन्छ ।

समयचक्र घुम्दै आउँदा रूस अहिले युरोपीय देशहरूको मियो बनिरहेको छ । तर युरोपको अमेरिकासागको सम्बद्धताले उसलाई संकटमा धकेलिरहेको छ । सुरूका कालखण्डमा विश्वको धुरी रहेको युरोप अहिले ‘बूढो’ (ओल्ड युरोप) बनिरहेको छ ।

यसका बाध्यताहरू छन् । युरोप या त एशियन शक्तिसँग मिल्न आउनु पर्छ या त अमेरिकासँग टाँसिइरहनु पर्छ । अमेरिका छोड्न नसक्दा युरोपलाई अहिले ‘नन्दनी, पिरतीको दिलमा आगो बल्यो दन्दनी’ जस्तो भइरहेको छ ।

युरोपको आर्थिक परनिर्भरता रसियामा छ, व्यापार लगानी पनि रसियामा छ । तर रणनीतिक साझेदार भने अमेरिका छ । यसै कारणले युरोपको आफ्नै बन्दरगाहमा थुपारिएको रूसी मल युरोपको कृषिमा अभाव हुन गएको छ ।