गण्डकी नेपाली साहित्यको उर्वर स्थल, तनहुँका भानुभक्त आचार्य अनि कास्कीका लेखनाथ पौड्याल, लमजुङका राष्ट्रकवि माधव घिमिरे अनगिन्ती नामहरु छन् । गोर्खाकी गोरखकालीको देश सायद राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाम लिइएन भने देश अधुरो हुन्छ, पुस सत्ताइस पनि । कालीगण्डकी, मस्र्याङ्दी अनि तनहुँको सदरमुकाम दमौली नजिकै बग्ने सेती र मादीको संगममा पूर्वीय दर्शनका अजस्र स्रोत व्यास गुरुको जन्मस्थली जहाँ पुगिएन भने जीवनले सार्थकता पाउँदैन होला, सायद ।
यसै व्यास गुफाका पीठाधीश दामोदर बाबाको निम्तोलाई स्वीकार गर्दै विगत एक दशकपछि त्यता पुग्ने अठोट गरेँ मैले । झण्डै वर्षको तीन चारपल्ट पुग्ने गरेको त्यो क्षेत्र नियमित भ्रमण हुनु पर्ने हो, तर विवशता धेरै, बाबाले हरेक कार्तिक महिनामा त नछुटाई निम्तो दिने गर्नु भएकै हो । सधैँ नित्य सत्संग हुने त्यसक्षेत्रमा कार्तिक मासमा विशेष कार्यक्रम हुने गर्छ, अखण्ड कीर्तन लगायत धेरै विषय उजागर हुने गर्छन् त्यहाँ ।
पटक पटक विभिन्न टोलीहरु नै लिएर जाने क्रममा यसपालि भने मित्र तुल्सीराम पुडासैनीलाई रुचाएँ । मेरो आग्रहमा सहमती जनाउँदै उनी तयार भए त्यता जान । गएको असारमा मात्रै पोखरा जाँदा त्यताको बाटोको अनुभव त थियो तर बाटो उस्तै जो हिजो अस्तिकै साँघुरो, धुले र हिले । देशमा लोकतन्त्र आएको ३ दशक नाघिसक्यो तैपनि न मेलम्ची उठ्छ न पूर्वाधार देशको गतिलो हुन्छ, मनभित्रै रुमल्लिएर दुई भाई निस्कियौँ कार्तिक उनन्तीस ०७९ को विहानको खानापछि ।
निबासबाट निस्केको दुई घण्टापछि मात्र थानकोटको नागढुंगाले स्वागत गर्नसक्यो हामीलाई । बाटो जाम हुनु काठमाडौँको नियति हो, लोकतन्त्रमा कसैले कसैलाई टेर्दैन र त वर्षौं भयो जाम रहितको यात्रा भन्ने नाराले गति लिन सकेन, देशैभरि । चर्चित सुरुङ मार्गको ओढारमा कर्केनजर लगाउँदै गल्छी पुग्दा नै जीउको कपडा मान्छे नचिनिने भइसकेछ, हिलो र धूलोले ।
बाटैमा पर्ने एक मित्र शिक्षासेवी विष्णु न्यौपानेलाई फर्कंदा भेट्ने गरी दुई भाई हान्नियौँ पश्चिमतिर । असहजै असहजको बाटो, चुनावकै कारण बाटामा धेरै गाडीले अवोध नगरे पनि दलहरुको चुनाव प्रचारबाजीले सडक व्यस्त थियो । मानौँ रोजगारी खोज्न युवाहरु विदेश भासिए पनि राजनैतिक रोजगारी पाउनेलाई स्वर्ग छ देश, बाटो पाइसक्नु थिएन, नारा र जुलुसले, छयालीसको परिवर्तनपछि देशले पाएको उपलब्धि जम्माजम्मी यति नै हो । नारा, जुलुस, सत्ता परिवर्तन र जोडघटाउ, व्यापार उच्च घाटा, कृषिमा ओरालो, उद्योगधन्दा ठप्प अनि सबै सामानको आयात र विदेशी ऋणमा अल्झिएको देशमा ।
कुरिनटारबाटै गोरखकाली, मनकामना लगायत सबै शक्तिपीठहरुलाई दाहिने दर्शन गर्दै मुग्लिनमा साउनीको बासी र महँगो खाजा नास्ता लिई मस्र्याङ्दी पुग्दै घाम ओरालो लागिसकेछ । आँबुखैरेनीबाट झन् असहज यात्रा शुरु भयो, बाटैभरि हिलो, जथाभावी पानी, भत्किएका, बन्दै गरेका देखिने, सन्तको रामनामी आकारको सडक, यसैमा चाहिएको संघीयता हम्मेहम्मे हुँदै डुम्रे पुगिएछ । दाहिने बेसीसहर, मनाङको दृश्य, कल्कलाउँदी मस्र्याङ्दी, देब्रे तनहुँको पुरानो सदरमुकाम बन्दीपुर, छिम्केश्वरी, सिद्ध गुफाहरुलाई मनको मझेरीमा सिँगार्दै पुगिएछ भानुभक्तको घाँसीकुवातिर जहाँबाट एउटा घाँसीले भानुभक्तलाई नेपाली साहित्य आकाशमा उतारेको थियो ।
‘पुग्नै लाग्यौँ दमौली, देब्रे बाटो पुग्ने हो उही व्यासजीकी माता मत्स्यगन्धाको क्षेत्र, छाब्दी बाराहीतिर’ मैले मित्रलाई हौस्याउँदै थिएँ ।
त्यसो त कैयन बेनीहरु र गुफाहरुलाई नमन गर्दै, अब तालघरे आइसकेको छ भन्दै मित्र तुल्सीजीलाई ढाडस दिँदै थिएँ म ।
दमौलीको टुँडिखेल पुग्दा घाम ओइलायो, सूर्य लुकिसकेछन् धर्तीको काखतिर । साँच्चै जीवन उकाली र ओराली नै हो । मध्याह्नमा देखिएको सूर्य बेलुकी मलिन कस्तो अचम्म कोरोना र डिँगोले उर्वर युवालाई ओइलाए जस्तो ।
साँच्चै घाममा चमक थिएन, देखिएन पनि आँखाले । दामोदर कुण्डबाट निस्केकी गण्डकी कति जोस् जाँगरले, बेगले पुग्छिन् नारायणीमा मिसिन्छन् । त्रिशूली तव त्रिवेणीधाम परासी पुग्दै अलप हुन्छिन् । खोज्दै गएमात्र भेटिन्छिन् भारतको कोलकत्ताभन्दा पनि धेरै पर गंगासागरमा, तर खोज्ने आँट कसको छ, यस्तै युवा जोस सधैँ झाँगिने हो भने देश पनि कायापलट हुन्थ्यो होला ।
त्यही गंगा पृथ्वीमा अवतरण गराउन चार पुस्ता लाग्यो सगर राजाको कुललाई, धेरै प्रयासले गंगा ल्याउने भगीरथकै कारण तिनै नदीलाई भागीरथी भनिन्छ अहिले । उत्तिखेरै चाउचाउ खाए जस्तै कामको परिणाम खोज्ने आजको पुस्ताले धेरै मिहिनेत र अथक प्रयास गर्न कहाँ सक्छ ? बरु आजको भोलि नै परिणाम पाउन खाडीतिर भासिन्छ, वा युरोप, अमेरिकातिर, यहाँ टिकाउने जाँगर पनि गर्ने अभिभावक कहाँ छ यहाँ, न नै सरकारको चासो । तर हुने बिरुवाको चिल्लो पात देखिनु पर्ने हो, खै त लोकतन्त्रको परिणाम दमौली पनि उस्तै रहेछ तीस वर्षपछि पनि जस्तो देखिएको थियो राजधानी काठमाडौँ उस्तै धूलो, मैलो ।
टुँडिखेलबाट ओर्लियौँ हामी अन्न क्षेत्र, व्यास क्षेत्र, गौसेवा क्षेत्र, नित्य हरिनाम भइरहने क्षेत्र सेती मादी नदीको किनार व्यास गुफातिर ।
अखण्ड कीर्तन निरन्तर भइरहेको थियो । मैले सोधेँ माताजीलाई ‘खोइ त बाबाजी’ ? असहज उत्तर, ‘उहाँलाई ज्वरो आएको छ, कार्यक्रम पनि भोलि समापन गर्ने भनी हजुरलाई विशिष्ट अतिथिका रुपमा निम्तो दिएको तर कार्यक्रम एक दिन सर्यो, काम पनि सकिएन, पूर्णाहुती त पर्सिमात्रै, हजुरले एक दिन समय बढाउनु पर्छ’ माताजीको उत्तर ।
हामी दुबै बाबाको सुत्ने कोठातिर गयौँ, दर्शनपछि भलाकुसारी हुँदै थियो, ‘अर्का बाबा राधेजी खोइ त उहाँ’ ? मेरो प्रश्नमा अँध्यारो मुख लगाउँदै बाबाले भन्नुभयो, ‘उहाँले यो धराधाम छोडेको धेरै भइसक्यो, हजुरलाई भनेको थिएन’ । ‘राम, राम,’ जीवन कस्तो रहेछ, सारा संसार छोडेर तप गरी बसेको प्राणीलाई पनि समयले पर्खंदो रहेनछ । आराम थिएन बाबालाई तर भान्सातिर आफै लग्नुभयो हामीलाई ।
हामीदुई भाई अन्न क्षेत्र भण्डारातिर पसी बेलुकीको खाना खायौँ । भण्डारामा खानाखानेहरुको सयौँको भीड थियो, आजको खाना खीर पायस रहेछ । नदी आसपास घुमेपछि हामी आराम कक्षतिर लाग्यौँ तर जाग्राम रहने गरी ।
को हुन् दामोदर बाबा ?
देशमा प्रजातन्त्रको आगमनसँगै सातसालमा धर्ती अवतरित गेरु बस्त्रधारी बाबा गृहस्थ सन्यासी हुनुहुन्छ । धेरै थिए उहाँका जग्गा जमिन, सम्पति, उहाँले दिनुभयो सन्ततिहरुलाई । परासी, नारायणघाट लगायत काठमाडौँको सीतापाइलामा उहाँका सन्ततिहरु छन् । विदेश अध्ययनपछि पनि स्वदेश फर्किए, घरजम राम्रै छ रे । तर बाबा दम्पतिले भने आप्mनो जीवनलाई भोगमय भन्दा पनि योगमय बनाउने बिचार गर्नुभयो, अर्धागिंनीलाई लिएर गुफाक्षेत्रमा जीवन बिताउने प्रण गर्नुभयो, धेरै वर्ष भयो ।
याद आउँछ खप्तडबाबा, शिवपुरी बाबा, बालगुरु षडानन्द, मुक्तिनाथ बाबा, स्वामी प्रपन्नाचार्य धेरै सन्तहरुको क्षेत्र हो यो देश । लामो समय बाबाले गण्डकीको उद्गमस्थल दामोदर कुण्डमा तप गर्नुभयो । भगवानको गण्डस्थलबाट निस्केकी नदीको नाम गण्डकी हो । भागवतमा प्रसंग आउँछ । माता यशोदाले पुत्रको छुक्छुके स्वभावबाट वाक्क भएर दाम्लोले बाँध्ने अनि घरको कामकाज गर्ने विचार गर्नु भयो । तर भगवान कृष्ण अरुलाई बन्धनमुक्त गराउने आफू बन्धनमा बस्ने कुरो थिएन ।
जतिवटा दाम्लोले बाँध्न खोजे पनि दुई अंगुल अपुग हुन्थ्यो, केही गर्दा पनि नबाँधिएको र आमाको पसिना देखेर आफै बाँधिने विचार गरेपछि दाम्लोले बाँधिएका बाल कृष्णले उर्गल तान्दा घरको आगनीमा रहेका दुई रुखको कापोमा उर्गल पर्नाले रुखहरु ढलेका र ती दुई रुखहरु कृष्णको स्पर्शले नवजीवन पाई दुवैलाई गण्डकीको शिरभाग कुण्डमा गई नुहाउन भनिएकैले त्यहाँको नाम दामोदर कुण्ड रहेको हो ।
द्वापर युगमा श्रीकृष्ण माता यशोदाको दाम्लोमा बाँधिदा नारद श्रापबाट कुवेरपुत्र नलकुवर र मणिग्रीव क्रमशः यमल र अर्जुन वृक्ष भइरहेका र उद्धारको प्रतिच्छामा रहँदा उर्गल गुडाउने क्रममा बलले ढलेका दुई वृक्षहरुबाट दुई दिव्य महापुरुषहरुको उदय भएको र दामोदर कुण्डमा गई स्नान, दान, कर्म कार्य गरी आफू निरहंकारी रहन भगवान् श्रीकृष्णले उनीहरुलाई उपदेश गर्नुभएको प्रसंगले दामोदर कुण्डको महत्व बृद्धि भएको र सो दामोदरकुण्डवाट बगेकी कालीगण्डकी र मुक्तिनाथधामबाट बगेकी गण्डकीको संगम कागबेनी रहेको र गण्डकीको नामकरण भगवानको गण्डस्थलबाट उदय भएकोले हो ।
देवी पार्वतीका देव्रे पाउबाट पसिनास्वरुप पैदा भएकी गण्डकी र गोसाइँकुण्डस्थित श्रीशिवका त्रिशूलबाट पैदा भएकी त्रिशूलीको संगम देवघाट क्षेत्र नेपालको आदि प्रयाग मानिन्छन् । विष्णुप्रिया गण्डकी एवं शिवप्रिया त्रिशूलीको संगम नारायणीको देवघाट क्षेत्र नेपालको आदि प्रयागहुँदै दक्षिण सिमाना बग्दै आएकी गंगा भारतको बिभिन्न क्षेत्रहरुलाई पावन गराउदै अन्ततः गंगासागरमै पुगेर मिसिन्छिन् ।
भारतका अनेकौं पावन तट अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका, पुरी, द्वारावती, जगन्नाथपुरी झैं नेपाली भूभागमा प्रसिद्ध सप्तकोशी तट वराह क्षेत्र, जनकपुर क्षेत्र, पशुपति क्षेत्र कर्णाली र महाकाली क्षेत्र अनगिन्ती धाम र तीर्थक्षेत्रहरु छन् । वैदिक साहित्यमा वर्णित आदिम तीर्थ क्षेत्र र विभिन्न धामहरुमध्ये पूर्वको वाराह क्षेत्र, वागमती तट पशुपति क्षेत्र, गण्डकीको तट रुरु क्षेत्र र गण्डकीको शिरोभाग मुक्ति क्षेत्रलाई नेपालका प्रसिद्ध चारधाम मानिएको छ ।
प्रम्लोचा नामकी स्वर्गकी कन्या परम सुन्दरी भृगुवंशका देवदत्तसँगको प्रेमप्रसंगले प्रसिद्ध रुरु क्षेत्रलाई जन्माएको छ । गण्डकी क्षेत्रको ऋषिकेश, पाल्पाको रिडीबजार, गुल्मी र स्याङ्जाका पावन भूभागहरुले नेपालको धार्मिक क्षेत्रलाई बढी प्रसिद्धि दिएको छ । शालिग्राम शिला विश्वमै चर्चित क्षेत्र दामोदरकुण्डदेखि मुक्तिनाथ धाम, कागबेनी, रुरु क्षेत्र, देवघाट धाम र त्रिवेणी धामले नेपालको पश्चिम क्षेत्र अत्यन्त पावन बनेका छन् ।
महर्षि वेद ब्यास, वाल्मीकि, भानुभक्त, लेखनाथहरुको क्षेत्र नेपाललाई सत्य युगमा सत्यवती क्षेत्र, त्रेता युगमा तपोवती र द्वापरमा मुक्तिपुरी भनिन्थ्यो । ने नामक मुनिद्धारा पालित र रक्षित नेपाल योगभूमि, तपोभूमि र स्वर्गभूमि हो । यहाँका प्रत्येक जलकण र मृत्तिका कणहरुमा साहित्यका सबै रस प्राप्त हुन्छन् । भोग तृप्ति र अन्तत मुक्ति दिलाउने पावन क्षेत्र विश्वभरिमा एकमात्र नेपाल क्षेत्र नै हो । पर्यटकहरु यहाँ आएर स्वर्गीय आनन्द लिने गर्दछन् ।
र त्यसै कुण्डलाई तपस्थली बनाउनु भएकाले बाबाको नाम दामोदर बाबा भएको उहाँको भनाइ छ । उहाँले भारतका प्रसिद्ध र नेपालका धेरै तीर्थ, धामक्षेत्रको अवलोकन, अनुभव बटुल्नु भएको छ । उहाँ र राधेबाबाको परिकल्पनाले दमौलीको व्यासभूमि उर्वर भएको छ जहाँ अन्नको भण्डार, गौसेवा, व्यास पीठहरुको निर्माण, अठ्ठाइस व्यासका मूर्तिहरुको स्थापना, धर्मशाला भवनहरु, नित्य भोजन, भण्डारा, वर्षैपिच्छे तनहुँका विभिन्न क्षेत्रहरुको पैदल परिक्रमा, भक्तहरुको बाक्लो उपस्थिति, वेद अध्ययन, अध्यापन, बटुकहरुको सम्मान, स्थानीयहरुको ठूलो सहयोग र मैले परिचय पाएको स्थानीय विद्धान्, लेखक काशिनाथ गुरु र अन्यान्न धेरैको सान्निध्य हाल त्यहाँ संस्था नै स्थापना भएको र भविष्यको सुन्दर सपना बोकेको स्थल, विश्वमै परिचय गर्नु पर्नेमा आफू सहमत भएको अभिव्यक्ति उहाँहरुलाई पनि पस्किरहेको अवस्था रह्यो ।
समकालमा रोडियोबाट संचार क्षेत्र ओगटेका शिक्षासेवी हाल तनहुँ टेलिभिजनका प्रवन्ध निर्देशक श्रीशंकर नहर्कीको कामको व्यस्तताले गर्दा यसपल्ट उहाँसँग केवल टेलिफोनमै आपफ्नाे उपस्थिति दर्शाएर म भने भोलिको तानाबुना बुन्दै थिएँ । रात त जाग्राम भइहाल्यो, भोलिपल्ट विहानैको नदीको स्नान, सन्ध्या, तर्पण आदि कार्यका साथमा बाबासँगै गुफामा सत्संग कार्यक्रम उहाँलाई जस्तै ज्वरोले नछोडे पनि ।
के हो व्यास गुफा ?
अँध्यारो त हुने नै भयो, गुफा भनेपछि । सृष्टिकर्ता ब्रह्माका पुत्र वशिष्ठ, उनका पुत्र पराशर यतै सेती मादी तरेर पारि जाने क्रममा किनारैमा रहेका माझीलाई डुंगाबाट पारि तारिदिन भने । माझीले छोरी मत्स्यगन्धा जसको शरिर नै माछाको गन्धमात्रै आइरहन्थ्यो, माझीले आदेश दिए, खोला तार्न । डुंगा खियाउँदै माझ नदीमा पुग्दा किशोरी मत्स्यगन्धासँग प्रेमको हात मागे पराशरले । कुमारीत्व नजाने र लाजका लागि तत्काल कुइरो सिर्जना गरी तपोबलबाट दुईका बीच एक पुत्ररत्नको उदय भयो । र त अहिले पनि दमौलीलाई कुहिरोले छोड्दैन ।
जन्मदै तप गर्ने प्रण गरेको, तत्काल विदा हुनुअघि कुनै समस्या परे आपफूलाई सम्झन आमालाई भन्दैै नवजात बालक जसको जन्म दुई नदीको संगममा भएकोले द्धैपायन रहँदै उनी तप गर्न हिँडे । त्यही स्थललाई व्यासक्षेत्र भनिन लाग्यो सत्ययुगदेखि नै । व्यासले वेदको विभाजन गरे, चार वेद, उपवेदहरु र अठार पुराण, अठारै उपपुराण अनि सबै वेदको सार महाभारतको पनि रचना गरे । वेदलाई विभाजन गरेकाले पनि उनको नाम व्यास रह्यो भने भारतको नैमिषारण्य क्षेत्र, गोमती तटमा व्यासको विशाल मूर्तिको दर्शन गर्ने अवसर जुरेको छ पंक्तिकारलाई ।
यो पृथ्वी यसअघि सत्ताइस पल्ट परिभ्रमण गरिसकेको र अहिलेको कलियुग पृथ्वीको परिभ्रमण अठइसौँ हो, त्यसैले आम संकल्प गर्दा अष्टाविंशतितमे युगे भनिन्छ अहिले, यसको उमेर ५ हजार १२३ वर्षको भएको छ अहिले र यसको आयु झण्डै चार लाख ३१ हजार ९९५ वर्ष बाँकी छ र महाकलि महाप्रलय पश्चात् अर्को युगको फेरि आगमन हुने हो ।
दमौलीमा व्यासको सम्झनास्वरुप पछिल्लो समय विश्वलाई नै चिनाउने गरी धेरै कार्य भएको छ र लामो समयदेखि संसारकै अग्लो १०८ फिट अग्लो व्यास मूर्ति राख्ने संकल्प छ तर धेरै समय र खर्च लाग्छ, यसका लागि सबैको प्रण आवश्यक छ । आफूले धेरैपल्ट त्यहाँको आवागमन गर्नुको कारण पनि त्यही हो । बहत्तर वर्षको बूढ्यौलीलाई बिना औषधि जीवन छिचोल्दै आउनु भएका दामोदर बाबाको मात्रै काम होइन योे, देवस्थलीलाई निरन्तरता दिनु नेपाली सबैको काम हो । पंक्तिकार त्यहाँ पुग्दा पूर्वदेखि पश्चिमसम्मका भक्तहरु, भारतबाट समेत आएका भक्तहरुको भलाकुसारी पाएको हो पंक्तिकारले, कतिले त हिन्दी भाषामा यहाँको महत्व बारे रेकर्ड गरी आफ्नो आवाजलाई लगेको अनुभव पनि छ ।
केही पूर्वतिरको पवित्र क्षेत्र छाब्दी बाराही यसपल्ट पुग्न सकिएन जहाँ लामा लामा माछाहरुको क्षेत्र मत्स्यगुफा जहाँ उनै मत्स्यगन्धा माता निवास गर्ने विश्वास छ । व्यासको जन्मपछि पराशरको कृपाले मत्स्यगन्धा अब राम्री थिइन्, नाम रह्यो सत्यवती, जसले राजा शन्तनुसँग विहे गरिन् ।
शन्तनुका पुत्र देवव्रतले आपूm विहे नगर्ने र राज्य सुख भोग नगर्ने भनेपछि सत्यवतीका पिताले उनको विहे शन्तनुसँग गराएका थिए । आफ्नी छोरीबाट जन्मेका सन्तानले राजपाठ गर्न पाउने शर्तमा । भीष्म प्रतिज्ञाले शन्तनु पुत्रको नाम भीष्म रहेको थियो । शन्तनु सत्यवतीबाट दुई छोरा चित्रांगद र विचित्रवीर्य भए तर युद्धमा मारिएकाले वंशको निरन्तरता नहुने भयो ।
भीष्मबाटै अघि विहे गराइएकी दुई भाइकी पत्नीहरु अम्बा र अम्बालिकाबाट राजकुमारहरुको जन्म गराउने इच्छाले अघि समस्या परे आफूलाई सम्झन भनेका व्यासलाई बोलाएर सत्यवती आमाको आदेशले अम्बा र अम्बालिकाबाट गर्भधारण गराई वंश उदय गराउने इच्छा भयो । तर आफन्तमा डराउँदै गर्भधारण हुँदा अन्धा धृतराष्ट्र र डरपोककै कारण गर्भ रहँदा अर्कीबाट पाण्डु दीर्घ रोगीको जन्म हुँदा राज्य संचालनमा कठिनाइ देखेर आमाकै आदेशले दासीमा खुलेर गर्भधारण हुँदा व्यासबाट विदुरको जन्म भएको प्रसंग उनै महाभारतका रचयिता व्यासले उल्लेख गरेका छन् ।
भगवानको रचना सबै तारतम्य उनैको, आफैले मिलाउने बनाउने, आफैले भत्काउने बच्चाहरुले भाँडाकुटी खेलाए जस्तो यो संसारको विचित्रता आफै अपारको छ । बुभ्mनै कठिन छ लीला प्रसंगहरु, व्यास साधारण मानिस नभई स्वयम् ईश्वरको रुप मानिएको छ ।
सबैको आग्रह थियो बसाइ एकदिन लम्ब्याउने, कार्यक्रम समापन गर्ने, तर आप्mनो स्वास्थ्यको अवस्था, नित्य औषधि सेवन गर्नु पर्ने, आम संचारमा संलग्न भएकाले उपत्यका बाहिर धेरै समय बिताउन नसक्ने आफ्नै बाध्यताहरु थिए । एकैदिनमा पनि फोनमा सम्पर्क गर्न चाहने र रचनाहरु तयार पार्न अनुरोध गर्नेहरुको कमी थिएन ।
हल्का खानापछि बाबासँग विदा भई हामी फर्किने तरखरमा रह्यौँ दस बजेपछि । सत्संग यात्रा हवाइ उडानको जस्तो रमाइलो, र तारे होटलको जस्तो खुसी हुने खालको त हुन्न नै, र पनि आत्मीयता र आतिथ्य आफ्नै खालको हुन्छ, सात्विक आहार विहारले मानिसलाई तपोमय बनाउँछ जीवन र त विकासको चरमचुलीमा पुगेकाहरु पनि नेपालको डाँडाकाँडा खोज्दै सात समुद्र पारिदेखि यहाँ आउँछन्, रमेर जान्छन् ।
प्रकृतिको छटाभित्रको घुम्टो उघार्न नचाहने सायद कोही मानव होला संसारमा । गफिँदै हामी आइपुग्यौँ राजमार्गको गल्छीमा, हिजो प्रतिज्ञा थियो, भेट्ने मित्र न्यौपानेजीसँग । घाम ओइलाउँदै थियो तर पनि हामी उहाँसँग बसेर चिया नास्ता र सेल्फीमा रमायौँ केहीबेर, उही थोत्रो बाटो घिच्चिँदै नागढुंगा छिर्दा सूर्य आफै लुकिसकेका थिए पश्चिमतिरको ओढारमा । उही जाम, उही तमासा हेर्दै हामी निवास पुग्दा मौसमी ठण्डी जूनको शीतलता धेरै घण्टा बितिसकेछ ।