घोराही ४, मंसिर । चुनाव खारेज वा बहिष्कार गर्ने पार्टीहरुले यो चुनावलाई राजनीतिक विचार जनतामा लैजाने अवसरका रुपमा लिएका छन् । उनीहरुले मतदाता र मतदान केन्द्रमा खतरा निम्त्याउने गतिविधि देखाएनन् । यतिबेलाको माहोल बहिष्कार खारेज वा अन्य नामले भड्किने खालको पनि देखिएन ।
‘मतदानमा जनताको सकृयता कम देखियो’ नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी प्रदिप वलीले भन्नुभयो, ‘यो सिष्टम र व्यवस्थाप्रतिको वितृष्णा हो । उहाँका अनुसार मानिसहरु अहिलेको राजनीतिबाट दिक्क भएका छन् । यसको विकल्प पार्टीले वैज्ञानिक समाजवाद भनेको छ । त्यसैमा धृवीकृत तथा केन्द्रिकृत हुन सक्छन् भन्ने लाग्छ । यसका लागि मसाल जुलुस, कोण सभा, माइकिङ, वाल पेन्टिङ जस्ता गतिविधि गरेर मतदातासम्म विचार प्रवाह भयो ।
घोराहीमा भित्ते लेखनकै क्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य अशोका मल्ल, पार्टीका जिल्ला सदस्य पदम र रेमन्तलाई प्रहरीले नियन्त्रणमा लिइयो । त्यसपछि चुनाव बिथोल्ने ठूला गतिविधि देखिएनन् । आफ्नो व्यवस्था परिवर्तनको नारामा आकर्षण छ भन्नेमा नेताहरुपनि ढुक्क देखिँदैनन् । स्थानीय सत्ता चलाउने र शसस्त्र विद्रोहमार्फत् नयाँ जनवादी व्यवस्था ल्याउने नवगठित नेकपा मशालको लक्ष्य रहेको नेता रामबहादुर जीएमले बताउनुभयो ।
उहाँका अनुसार यतिबेला मतपेटिका खोस्ने, भोटहाल्न जानेलाइ रोक्ने जस्ता काम गरिएन । पर्चा पम्पलेट, माईकिङ चोकहरुमा सभा जस्ता कार्यक्रम गरिए । त्यसैमा पनि प्रहरी हस्तक्षेप भयो । दलाल पूँजीवादी व्यवस्थाबाट विकासको सम्भावना छैन । जनताले बुझे, नेताका कमजोरीले मतदाता निरास छन् । त्यसको परिणाम कम प्रतिशत मत खसेको हो ।
घोराही दामोदर चोक घोराहीबाट नेता ओमबहादुर केसी, जिल्ला सदस्य लिलाबहादुर पुन (लालध्वज), मेघराज भटटराई र यमसरी जिएमलाई माइक सहित गिरफ्तार गर्यो । त्यसपछि पनि कोणसभाहरु जारी राखियो । विभिन्न ठाउँमा सचेतनाका कार्यक्रम भए । यसरी आफ्ना नीति र कार्यक्रम लैजाने अवसरका रुपमा उपयोग गर्यो ।
यसैकारणले मतदाताको उत्साह घटेको मान्ने सकिने आधार भने छैन । नेकपा विप्लपको प्रभाव क्षेत्र मानिने रोल्पाको थबाङमा पनि चर्चाका घटना सार्वजनिक भएनन् । पार्टीका इन्चार्ज जयप्रकाश रोका सहितका नेता कार्यकर्ता दिनभरी मतदान केन्द्रमै बसे । चुनाव खारेज गर्नेहरु खुलेआम केन्द्रमै बस्नु भने नयाँ प्रभावकोको उपज थियो ।
आउनेहरुलाई सम्झाई बुझाई गरेर फिर्ता गराएको सेक्रेटरी अमितले जानकारी दिनुभयो । उहाँका अनुसार कसैलाई पनि बलजफ्ती गरेर रोक्ने काम गरिएन । राजनीतिक र वैचारिक रुपमा सम्झाउने बाहेक अन्य उपाए अपनाइएन । सबै भन्दा बढि प्रभाव भएको थबाङ–१ मा १७ प्रतिशत मत खसेको सेक्रेटरी अमितले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक हजार तिन सय १४ मतदाता रहेको केन्द्रमा दुई सय २८ मत खसेको थियो । अघिल्लो निर्वाचनमा त्यहाँ १६ प्रतिशत खसेको थियो । यसैगरी वडा नं २ पनि बलियो प्रभाव भएको क्षेत्र मानिन्छ । त्यहाँ करिब २६ प्रतिशत मत खसेको छ । जम्मा एक हजार पाँच सय ७७ मतदाता रहेकोमा चार सय १५ मत खसेको छ ।
मतदान समय नसकिंदासम्म कुरेर बसे । ‘निर्वाचन आयोगले जारी गरेको आचार संहिता लागु गर्न सहयोग गयौँ’ अमितले भन्नुभयो, ‘यातायातका साधन बन्द गरेको थियो । हामीले पनि मतदाता ओसार्न दिएनौँ । पैदल आउनेलाई रोकेनौँ ।’
उहाँका अनुसार नाकानाकामा खटेका युवाहरुले सवारी दुरुपयोग हुन दिएनन् । मतदातालाई अवरोध गरेनन् । मसाल जुलुस, कोण सभा, भित्ते लेखन, पर्चा पम्पलेट सबै खुलम खुला भए । चुनाव खारेज अभियान पनि खुलेरै गरियो । अहिलेको संघ र प्रदेश चुनाव विरोध विचार राख्ने अवसर बन्यो ।