काठमाडौं । पाहुना टोली भारतले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ ।
माउन्ट माउन्गानुइमा आइतबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो ।
यस जितसँगै भारतले तीन खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टोलीबीचको पहिलो टी-ट्वान्टी वर्षाको कारण रद्द भएको थियो।
भारतले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले ।
डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडे ।
भारतका दीपक होडाले ४ विकेट लिए । मोहमद सिराज र युजभेन्द्र चाहलले २\२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले अविजित रहदै १ सय ११ रनको शतकीय इनिङ खेले । उनको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो शतक हो ।
यस्तै इशान किशनले ३६ रन जोडे । कप्तान हार्दिक पाण्डय र श्रेयस एयरले समान १३\१३ रन बनाए ।
न्युजिल्याण्डका टिम साउथीले ३ तथा लक्की फर्गुसनले २ विकेट लिए ।