काठमाडौं । कतार २०२२ को फिफा विश्वकप आजदेखि सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ ।
सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेका कतार र इक्वेडरबीचको खेल नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ ।