• मंसिर १२ २०८१, बुधबार

दाङमा लागु औषध र मोबाइलको लत छुटाउने माध्यम बन्दै विपश्यना ध्यान

मंसिर १ २०७९, बिहीबार

घोराही, १ मंसिर । लुम्बिनीमा ठाउँ नपाएर एकजना व्यक्ति घोराही–१३ तुरुन्तपुरको धम्म परागमा आएर ध्यान गर्नुभयो । उहाँ १० दिवसीय विपश्यना ध्यान गरेर दुई दिन अघि फर्किनुभयो । गत साउनमा १० दिवसीय ध्यान गर्नुभएकी टीका वलीले यसपटकको ध्यानमा सेविकाको जिम्मेवारी पुरा गर्नुभयो । ध्यानमा सहभागी पाँच महिलाको व्यवस्थापनमा जाँगरले काम गर्नुभयो । उहाँको खटनपटनबाट खुशी भएका साधिकाहरुले सजिलो भएको प्रतिकृया दिए ।

तिनका अनुसार खान बस्न र अन्य सबै व्यवस्थापन राम्रो थियो । पहिला आफूले गर्न अनि अरुलाई सहयोग गर्ने क्रम चलेको छ । ‘अनिदो कलेज जान्थेँ । रातभरी मोबाइलमा गेम खेल्थे । म मोबाइल एडिक्ट छु भन्ने लाग्यो । छुट्ने उपाए खोजेँ’ ज्ञानदिप कलेज तुलसीपुर बिबिएस चौथो वर्षमा अध्ययनरत २३ वर्षे विकास बोहराले भन्नुभयो, ‘चित्तलाई एकाग्र गर्न युटयुबमा उपाए खोजें ।’

उहाँका अनुसार नजिकको ध्यानकेन्द्रम जानुस् भन्ने सुझाव आयो । घरमा बसेर नाकको प्वालमा ध्यान केन्द्रित गरेर सासको जानकारी लिनमात्रै जानियो । ध्यानकेन्द्रमा आएपछि प्रवचन सुनेर थाहा भयो, यो त असिमित सुख दिने बृहत क्षेत्र रहेछ । उहाँका अनुसार धम्मडट ओआरजी लगिन गरेपछि १० दिने ध्यान विपश्यना ध्यान गर्ने सल्लाह मिल्यो ।

ध्यानकेन्द्रमा पुगेको पहिलो दिन त मन थिर हुन सकेन । छोडेर जाउँजाँउ भयो । निस्किनै लाग्दा अन्तिमपटक गुरुलाई भेटौँ भन्ने लाग्यो । त्यहाँ सहायक आचार्य दोर्जे छिरिङ शेर्पा हुनुहुन्थ्यो । भेट्न र प्रश्न राख्न छुटाएको समयमा छलफल भयो । उहाँका कुरा सुनेर बोहराको मुड बदलिदियो । त्यसरात बास बस्न सहमत हुनुभयो । त्यसरी एक दिन एक रात ध्यान केन्द्रमा बसेपछि रस पस्यो । छोड्नै नसकिने बनायो । लगातार र नियमपूर्वक ध्यान गरेर बिताउनुभयो ।

‘अहिले मलाई मोबाइलको लत छुट्यो । मेरो मनमा मोबाइल छैन । म जस्तै युवाहरु केही न केही लतमा हुनुहुन्छ । तनाव ग्रस्त हुनुहुन्छ ।’

उहाँले थप्नुभयो, ‘यहाँ आउनुस् ड्रग (लागु औषध) वा अन्य लत छुटाएर आनन्द लिनुस् ।’ उहाँले यसरी भनिरहँदा आइतवार धम्म पराग घोराही–१३ तुरुन्तपुर उपस्थित भएकाले आश्चर्य चकित भएर हेरिरहे । सहायक आचार्य शेर्पाले यस्तो अनुभव पहिलो र नौलो लागेको प्रतिकृया दिनुभयो ।

दुर्वयसनीमा फसेकालाई ध्यानले सुधार्छ भन्ने प्रमाणित भयो । अबका दिनमा यस्ता मोबाइलको लत र त्यसबाट छुट्कारा खोज्नको संख्या बढ्दै जान्छ । यस्तै समस्या भएकाहरुबाटै पनि ध्यानकेन्द्रहरु भरिन सक्छन् । चञ्चल मनले सताएपछि घोराही १५ का ७९ वर्षीय जीवराज पाण्डेय पनि १० दिने शिविरमा बस्नुभयो ।

‘जम्मे बितेका नेगेटिभ कुराको सोंच मात्रै आउने, बाँचेर के काम रहेछ र भन्ने लाग्ने’ जेष्ठ नागरिक पाण्डेयले भन्नुभयो, ‘कि आत्मा हत्या गर्छु कि विष खान्छु भनेर परिवारलाई दुईतिन पटक भने’ उहाँको भनाईले धेरैका अनुहारमा अँध्यारो छायाँ ल्याइदियो । यसो भनिरहँदा साथमा पाण्डेयका छोरा पनि हुनुहुन्थ्यो । त्यसरी व्यक्त गरेको भावनाले सहभागीहरु स्तब्ध भए । आफ्नै छोराले पुर्लुक्कै हेरे ।

एउटा छोरालाई ध्यानमा ल्याउनु भएका पाण्डेयले अब अब अरु परिवारलाई पनि शिविरमा ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँका अनुसार मनका खराब सोँचहरुलाई अन्त गर्न सक्यो । बाँच्नुपर्छ भन्ने आँट बढ्यो । तनाव नलिएर बस्न सिकायो । काममा नयाँ ऊर्जा आयो । अत्यन्तै राम्रो भयो । अहिले मन एक ठाउँमा अड्याउने उपाए भेटिएको छ । अनावश्यक रुपमा भाग्न खोजेको मनलाई वास्तविकतामा ल्याउँछ । रोटी पकाउँदा, कपडा धुँदा पनि चाँडै ढाड दुखेर तुल्सीपुर–५ का जीविका वलीलाई सताएको थियो ।

त्यसको उपाए ध्यानकेन्द्रमा छ भनेर शिविरमा बस्न आउनुभयो । त्यहाँ झन् १० दिन बस्नुपर्छ भनेपछि फर्केर जान्छु भन्ने लाग्यो । घरबाट आउँदा बसाल्दैनन् कि फर्केर जा भन्छन् कि भन्ने डर थियो । आएपछि बस्नै सकिन्न कि भन्ने पिर लाग्यो ।

एकआधा घण्टा उक्त ठाउँमा बस्न नसक्नेलाई १० दिन नबोलेर बस्नु आफैमा अनौठो थियो । त्यसरी बस्ने कुरा सोच्न पनि नसकेपछि फर्किउँ फर्किउँ भयो । यसरी चाँडचाँडो मन फेरिने समस्याले पीडित ३६ वर्षीया वली जसोतसो एकदिन बस्नुभयो । शुरुमा खुट्टा दुखेर हैरान पार्यो । रातीमा छोराको सपनाले आत्तिने बनायो । विस्तारै सजिलो हुँदै गयो ।

झर्किने, धेरै बोल्ने र चाँडै रिसाउने स्वभाव मत्थरहुँदै गयो । बोल्दै नबोली १० दिन बित्यो । दिनमा १२ घण्टा जति एकाग्रताकासाथ ध्यान बस्न सकियो । अन्तिममा अरुका कुरा सुन्ने, गम्भिर हुने र आवश्यक मात्रै बोल्ने बानी बस्यो ।
बोल्दै नबोलेर १० दिन बिताउन सकिने रहेछ भने पतरपतर किन बोल्नु ? उहाँलाई परिवर्तन गरिदियो । उहाँले अब घरमा गएर बुढो र बच्चालाई पनि शिविरमा पठाउने सोँच आएको बताउनुभयो । आफू पनि फेरि फेरि आउने उहाँको भनाई थियो ।

गत कार्तिक १७ गते सहायक आचार्य शेर्पा सहितको टोली घोराही–५ पाण्डवेश्वरी मन्दिर धारापानी धाम पुग्यो । झरीले छाँटेर नरम माटो बगाई उपडखापड बनेको सानु टापुमा उक्लियो । त्यसमा रातो त्रिपाल बिच्छ्याइयो । त्यो त्रिपालमा नअटाएका केही आफ्नै चप्पल र भुइँमा पनि बसे । उदाउँदो सूर्य निशाना बनाएर उतै मुख फर्काए । अनि शुरु भयो मिनी आनापाना । जंगलमा नौलो र अनौठो थियो । अघिल्लो लहरमा सहायक आचार्य शेर्पा, धम्मपराग घोराही–१३ का संस्थापक ९२ वर्षीय नारायणप्रसाशद शर्मा लगायतका बस्नुभयो । त्यहाँ पुगेका सबैजनाले पलेटी कस्नुभयो ।

अनि मोबाइलबाट विपश्यना मिनी आनापानको जिंगल बजाइयो । प्राप्त सन्देश अनुसार घोराही–५ धर्नाको उक्त जंगलको बिचमा ध्यान शुरुभयो । आफ्नो चोर औंला नाकको पोरामा लग्दै शर्माले ‘सबै ध्यान नाकको सासमा केन्द्रित गर्नुस् । आँखा चिम्लिनुस् । सास आएको र गएको जानकारी राख्नुस् । आराम सित बस्नुस् अरु केही गर्नुपर्दैन’ भन्नुभयो । त्यसै मुताविक सहभागीले ध्यान गर्न थाले । मौसम धुम्मिएको थियो । वनजंगल छोपेर आकाशसम्म तुवाँलोले कब्जा जमाएको थियो । अघिल्तिर पोथ्रा रुख र पछाडि सालका पेड थिए ।

बेलाबेला पाण्डवेश्वर मन्दिर धारापानी धाममा बजेका घण्टको आवाज आउँथ्यो । कति कति बेला चरापनि चिर्बिराउँथे । त्यो सुन्दर वातावरणमा ध्यानीहरुले सास फेरेको सम्म पत्तो पाइँदैन्थ्यो । टापुमा उक्लिने बेलै ठलो र लम्साइलो कृतिम ताल भेटियो । ‘आमाम्मामा मा, यति राम्रो ठाउँ, तपाईंहरु लाग्नुस्’ त्यो दृश्यले मख्ख परेका सहायक आचार्य दोर्जेले भन्नुभयो, ‘यो त एकदमै राम्रो छ । हामीले के गर्नुपर्छ भन्नुस् ।’ उहाँले नेपालको स्तरीय ध्यानकेन्द्र हुने बताउनुभयो । त्यसका लागि लाग्न आग्रह गर्नुभयो । उहाँ हेर्न जानुभएको हो । कत्तिको उपयुक्त छ भनेर बुझ्न पुगेका आचार्य औधी खुशी हुनुभयो ।

‘म डिजाइनर पठाउँछु’ सहायक आचार्य दोर्जेले भन्नुभयो, ‘हरे यत्रो पानी अनि जंगल यो त गजबको पहाड भेटियो ।’ उहाँले दातापनि खोजेर ल्याउने बचन दिनुभएको छ । उहाँका अनुसार विदेशी भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउने सोँच छ । एकपटक ध्यानमा आएको व्यक्तिलाई पटक पटक आउँआउँ बनाउँछ । आफूलाई शान्त र तनाव मुक्त बनाउने अस्त्र यहिँ भेटाउँछ । त्यस क्षेत्रका बारेमा ब्रिफिङ गर्न पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव एवम् घोराही–६ का अध्यक्ष विष्णुराम आचार्य जानुभएको थियो ।

विगत डेढदशक देखि सकृय आचार्यले भवनहरु बनाउने जमिन, खानेपानी तथा विद्युत सुविधा दिने जानकारी गराउनुभयो । ध्यानकेन्द्रका लागि चाहिने कागजात र प्रकृयामा पूर्ण सहयोग गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरका मानिसहरु ध्यान गर्न आउँछन् भनेर स्थानीयपनि खुशी भएको समाजसेवी ऋषिराज जंगलीको भनाई थियो । उहाँका अनुसार ३६ टोल विकास समिति संस्थाको संयुक्त बैठकले ध्यानकेन्द्र बनाउन दिने निर्णय एकमतले गरेको छ । आवश्यक सहयोग गर्ने सहमति छ । कहिँ कतैबाट कुनैपनि किसिमको अवरोध हुने सम्भावना छैन ।

तनाव व्यवस्थापन गर्न ध्यान गर्ने हो । सडकबाट करीब ५० मिटर भित्र गए उक्त ठाउँ भेटिन्छ । त्यसको दक्षिण फेदीमा तलाउ छ । पूर्वतर्फ ठूलो जंगल छ । पश्चिम धार्मिक स्थल पाण्डवेश्वरी । पर्यटकका लागि एक काम दुई पन्थ हुने अर्को अवसर छ । तनाव दिने केही छैन । यति एरलाइन्सका संस्थापक दोर्जेका दुईवटै छोरी एयर होष्टेज थिए । एकजनाको विमान दुर्घटनामा मकमानपुरमा मृत्यु भयो ।

त्यसपछिका १५/१६ वर्ष यहि अभियानमा बितेका छन् । उहाँका अनुसार नाम्चे बजारमा पनि ध्यानकेन्द्र स्थापना भएको छ । धारापानी जस्तो कतैबाट डिष्टर्ब नहुने कहिँ छैन । यो तपोवन भन्दा उत्तम छ । सबै कामकाज पेशा व्यवसाय छोडेर एकाग्र हुन जाने हो । ध्यान नाकका प्वालको सासमा केन्द्रित गर्ने हो ।

मन उडेर जान दिने होइन, जान खोज्यो भनेपनि फर्काएर सासको गति जान्न लगाउने हो । त्यसका लागि उपयुक्त ठाउँ भेटिएको अभियान्ता नन्द शर्माको भनाई थियो मन त क्षणभरमै कता जान्छ कता ? भागिरहैको मनलाई केन्द्रित गर्न ध्यान गर्ने हो । सजिलो आषण, धुलो धुवा तथा ध्वनी प्रदुशन नभएको सुन्दर ठाउँ अहिले भेटिएको छ । ध्यानमा बसेका साधकले आफूलाई लाभ भएपछि अरुका लागिपनि उपलब्धी होस् भनेर सहयोग गर्दै आएको केन्द्रका उपाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो रुकुम पश्चिमको पुर्खेउली जग्गा दिने घोषणा गर्नुभयो । देशभरमै घोराहीको ध्यानकेन्द्र सिघ्र सञ्चालनमा आउने साधक पाउनेमा परेको छ । धारापानीमा अन्तर्राष्ट्रिय स्तरको बनाउन सके विदेशी आउने निश्चित छ । ‘यो ठाउँ साँघुरो जस्तो महशुस भएर धारापानीमा पनि बनाउँदै छौँ’, धम्मपराग घोराही–१३ का संस्थापक नारायणप्रसाद शर्माले भन्नुभयो, अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउनुपर्ने भएकाले विस्तार गर्ने ठाउँ यहाँ पुगेन ।’

ध्यान केन्द्रले चाँडै प्रगति गरेको छ । साधक साधिकाहरु थपिनुभएको छ । विदेशी पनि आउने देखिएको छ । यसको व्यापकता हुने देखिएको छ । जंगलको सुन्दरता, जंगली जनावर र पशुपंछीका सामिप्यता अति रमणीय हुनेछ । एक पटक ध्यान गर्न आए पटक पटक आउँआउँ बनाउने छ । मानिसहरुलाई थाम्नै नसकिने गरी ओइरिने सम्भावना छ । यो संसारभरि विपश्यना ध्यान फैलिंदो क्रममा रहेको सहायक आचार्य शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विकसित देशमा तनाव व्यवस्थापन झन ठूलो समस्या बनेर आएको छ ।

‘अति कठोर पनि छ । नबोलिकन १० दिन पलेटी कसेर बस्नुपर्छ । तर त्यसले मनका विकारहरु हटाउँछ’ उहाँले थप्नुभयो ‘तिनी विकारहरु आउन थालेपछि थाम्न नसकी कतिपय बिचैमा छोडर जान्छन् । उमेर, धर्म, केहीको पनि बन्देज छैन । विदेशीहरु त्यहाँ ठाउँ नपाएर यहाँ आउँछन् । पोखरामा ९० प्रतिशत विदेशी हुन्छन् । खान र बस्न कुनै खर्च लाग्दैन ।’ धारापानीमा पनि त्यस्तै हुनसक्छ ।

एक दिवसीय, तिन दिवसीय र १० दिवसीय ध्यान चलिरहेका छन् । विद्यार्थीहरुलाई पनि ध्यान केन्द्रमै लगेर ध्यान गराउन थालिएको छ ।