• मंसिर ११ २०८१, मंगलवार

मतदाताको मौनताले गरेको संकेत

कार्तिक २८ २०७९, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्रका आधारमा देशमा नयाँ संविधान निर्माण पछिको दोस्रो आवधिक निर्वाचनमा मतदाताको तर्फबाट यति धेरै मौनता साँधिनु देश, जनता र स्वयम् व्यवस्थाका लागि राम्रो संकेत होइन ।

यो भनेको गर्भमा हुर्किइरहेको बच्चाको अवस्था झैं हो । एक दिन यो मौनताले परिपक्वता हासिल गरेछ भने त्यति बेला यो मौनताले कुन रूपमा जन्म लिने हो विषय गम्भीर छ ।

संघीय लोकतान्त्रिक व्यवस्था अंगीकार गरिएपछिको पहिलो आवधिक निर्वाचन र त्यसले दिएको जनादेशको समय सकियो । यो अवधिमा संविधान निर्माणका बेला पार्टीहरूले निर्वाह गरेको भूमिकाभन्दा पनि कमसल भूमिका राजनीतिक पार्टी तथा चुनिएर गएका जनप्रतिनिधिहरूले गरे ।

यसले जनताको मन अमिलो बनाएको छ । अनुहारमा अविश्वास झल्काएको छ । पेटमा ‘अमिलोचुकिलो’ लगाएको छ । नमीठो मन बनाएको छ । अरूची बढाएको छ ।

यस्तो बेलामा राजनीतिक पार्टीका नभएर ‘गठबन्धन’ र ‘तालमेल’ का उम्मेदवारहरू जनताका माझमा डुलिरहेका छन् । राजनीतिक पार्टीका झण्डा त छन्, तर मत भने गठबन्धन र तालमेलका नाउँमा माग भइरहेको छ ।

गाउँ तथा सहरमा बाध्यताको चुनावी माहोल बनिरहेको छ । त्यो पनि उम्मेदवारहरू जनताका घरदैलोमा पुगेपछि मात्र ! प्रतिनिधिसभा तथा प्रादेशिक सभाका उम्मेदवारहरू जनताको घरदैलोमा पुग्दा जनताले केही कुराको पनि माग गरिरहेका छैनन् ।

उल्टै उम्मेदवारहरू के भन्छन् भनी प्रतिबद्धता सुन्न चाहिरहेका देखिन्छन् । मतदाता धेरै सतर्क छन् र धैर्यतापूर्वक नियालिरहेका छन् । अबका दिनमा उम्मेदवार गर्छन् के ?

दलीय प्रतिस्पर्धाको स्थान गठबन्धन र तालमेलले लिएको छ । यो वर्तमान व्यवस्था र प्रणालीको खिलाफ हो । संविधान र व्यवस्थाले दलीय प्रतिस्पर्धाको परिकल्पना गरेको छ, ‘गठबन्धन’ र ‘तालमेल’को होइन ।

मतदाताको चेतनाले पनि यही कुरा उनीहरूको ब्रह्ममा देखाइदिएको छ । जनता सापेक्षतामा तटस्थ देखिन थालेका छन् । पहिलेको झैं देखेस् र पखेस् अनि उछिन र पाछिन पनि छैन ।

उम्मेदवारका भेटघाट र भेला ससाना र शान्त देखिन्छन् । अनावश्यक देखावटी र ढोंगी खालको चुनावी वाहवाही देखिएको छैन ।
जनता पनि गम्भीर र सन्तुलित देखिन्छन् । जनताले ‘ढाँटको निम्तो खाएपछि मात्र पत्याउने’ अठोट लिएको देखिन्छ । उम्मेदवार मतदाताको गम्भीर निगरानीमा छन् ।

जनताका तर्फबाट चुनावी घोषणा पत्र, पर्चा, पम्प्लेट तथा कुनै पनि आश्वासनका पोका दिनुस् भनेर माग गरेका छैनन् । उनीहरूले केवल इमान र वचन चाहेका छन् ।

मतदाता पनि पारिवारिक र सामाजिक दबाबमा छन् । स्थानीय जनताले पनि प्रश्न गरिरहेका छन् कि ‘तपाईहरूले कस्ता उम्मेदवारलाई भोट दिनु हुन्छ र देश यो दुर्दशामा फस्न गएको छ ?’

यो सानोतिनो ‘प्रेसर’ होइन । घर परिवारले यही सोध्छन्, समाज र छरछिमेकले यही सोध्छन् । प्रश्न गम्भीर छ, ‘मतदाता उस्तै कि नेता र पार्टी उस्तै !’

यही परिवेशमा मतदाताको मौनता रहेको छ । यसको बोध उम्मेदवार र राजनीतिक दलहरूले गर्न सक्लान् त ?!