• मंसिर १५ २०८१, शनिबार

भारतको चीनसितको व्यापार घाटा बढ्यो

कार्तिक २३ २०७९, बुधबार

काठमाडौं । सन् २०२२ को पहिलो नौ महिनामा चीनबाट भारततर्फको आयात ३१ प्रतिशतले बढेर व्यापार घाटा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार भारतले यो वर्षको जनवरीदेखि सेप्टेम्बरबीचमा चीनबाट ८९.६६ अर्ब डलर बराबरको सामान आयात गर्यो, जुन हालसम्मकै उच्च हो ।

अघिल्लो वर्ष अर्थात् २०२१ को पहिलो नौ महिनामा भारतले चीनबाट ६८.४६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो । यसबीच चीनबाट आयातमा वृद्धि हुँदा यही अवधिमा (जनवरी–सेप्टेम्बर २०२२) चीनतर्फ भारतीय निर्यात ३६.४ प्रतिशतले घटेको अखबारले उल्लेख गरेको छ, जुन घटेर १३.९७ अर्ब डलर भएको छ ।

चिनियाँ सामानको आयातमा भएको वृद्धि अधिकांश पुँजीगत वस्तु वा ‘इनपुट गुड्स’ वर्गमा भएको छ । द प्रिन्टका अनुसार सन् २०११ र २०२१ बीच चीनबाट भारतको पुँजीगत सामानको आयात औसतमा वर्षेनी करिब १० प्रतिशतले बढेको छ । ‘१ अर्ब डलरभन्दा बढीको आयात भएका सबै वस्तुहरूमध्ये सन् २०२२ मा ‘फलाम र स्टिल’को चीनबाट आयातमा तीव्र वृद्धि देखियो ।

जनवरी–अगस्ट २०२१ मा भारतले ०.७४ बिलियन डलरको फलाम र स्टील आयात गरेको थियो भने सन् २०२२ मा यो संख्या १.१४ बिलियन डलर पुगेको पाइएको छ, जुन ५४ प्रतिशतको वृद्धि हो,’ द प्रिन्टले लेखेको छ । द प्रिन्टका अनुसार सन् फलाम र स्टिलपछि प्लास्टिक र तिनका सामानको आयात पनि निकै उच्च रह्यो ।

त्यस्तै इलेक्ट्रोनिक्स र इलेक्ट्रिक मेसिनरी र तिनका पार्टपुर्जाको आयात पनि ३७ प्रतिशतले बढेको छ । सन् २०१७ को दोक्लाम विवाद यता चीन र भारतबीचको तनावपूर्ण सीमा सम्बन्धका कारण भारतमा केही अतिराष्ट्रवादी समूहहरूले चिनियाँ सामान बहिष्कार गर्न आह्वान गरेका थिए ।

सन् २०२० मे ५ देखि लद्दाखमा चलिरहेको विवाद अझै सल्टिएको छैन । पछिल्लोसमय लद्दाख विवादपछि भारत सरकार आफैले टिकटकदेखि कयौं चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ । तर यी बहिष्कारका बाबजुद तथ्याकंले भने भारतमा चिनियाँ सामानको प्रयोग र उपभोग निरन्तर फस्टाएको देखाउँछ ।