संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मूलकी सरहाना श्रेष्ठ राज्यसभा सदस्यका रूपमा निर्वाचित भएपछि संसार अब मानव जातिको हुँदै पो गएको छ कि भन्ने भावनाले ठाउँ लिन थालेको छ ।
पहिले पहिले अमेरिका अमेरिकीको, भारत भारतीयको, नेपाल नेपालीको, रुस रसियालीहरूको र चीन चिनियाँहरूको भन्नेजस्ता राष्ट्रवादी सीमा रेखाहरूले अबका दिनमा नयाँ र विसाल आयाम लिन थालेका छन् ।
अमेरिकी भूमिमा न्याय र जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय रहेकी श्रेष्ठले अमेरिकी जनताको प्रतिनिधित्व गर्न थालेपछि जमाना बदलिए भन्ने सन्देश चारैतिर फैलिएको छ । उनले आफ्नो प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई ३५ हजार ४ सय ९३ मत ल्याएर पाखा लगाएकी छिन् ।
सन् २००१ मा अमेरिकी भूमिमा आप्रवासीका रूपमा खुट्टा टेकेकी श्रेष्ठले यति छोटो समयमै यो उचाइ हासिल गर्लिन् भन्ने कमैले अपेक्षा गररेका थिए । किनकि सन् २०१९ मा मात्र उनले अमेरिकी नागरिकता लिन सफल भएकी थिइन् ।
उनी पार्टी जीवनमा पनि उत्तिकै क्रियाशील छिन् । श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुन् ।
सुरूमा उनको उम्मेदवारीलाई धेरैले विजयको नजिक नदेखे पनि स्थानीय जनताको मन र मस्तिष्कमा बस्न सफल उनले विजयको संगार उक्लिएर देखाइन् । यो सानो चुनौतीको कुरा थिएन ।
पार्टी जीवनमा पनि उनको रेकर्ड निकै तारिफ गर्न लायकको छ । डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरमा हालसम्म लगातार १३ पटक निर्वाचन जित्दै आएका व्यक्तिलाई उनले हराएर सबैमा आश्चर्यको सञ्चार गरााएकी थिइन् ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा १३ पटक चुनाव जितिसकेका व्यक्ति तथा उनको प्रतिस्पर्धी प्याट्रिक सिहान ‘जुर ढुंगा’ जस्ता थिए । तर एउटा कमिलाले पहरासँग जुधेको जस्तो देखिए पनि उनी पहरामाथि चढ्न सफल भइन् ।
यो अमेरिकी राजनीतिमा पछिल्लो समयमा देखिएको नयाँ राजनीतिक ट्रेण्ड पनि हो । कामका हिसाबले उनी अमेरिकामा ग्राफिक्स डिजाइनर हुन् ।