काठमाडौं । सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा सदस्यको निर्वाचन गर्दैछ । चुनावमा भाग लिने पार्टीहरु आफ्ना पार्टी र समूहका प्रचार प्रसार गरिरहेका छन् ।
उता हालका दलहरुले जनताको पक्षमा शासन नगरेको भन्दै स्वतन्त्र उम्मेदवारहरु पनि मत मागिरहेका छन् । यसैबीच केही राजनीतिक पार्टीहरु भने हालको संसदीय गणतान्त्रिक व्यवस्थाले जनताका गास, बास लगायतका समस्या र देशको सार्वभौमिकताको रक्षा गर्न नसक्ने भन्दै यो व्यवस्था बदलेर नयाँ व्यवस्था स्थापना गर्नुपर्ने भन्दै मंसिर ४ मा हुन गइरहेको चुनावमा दलहरुलाई मत नहालेर चुनाव नै बहिष्कार वा अवज्ञा गर्न जनतालाई अपील गरिरहेका छन् ।
जनतामा यही कुराको अपील गर्दै आजका काठमाडौंमा आयोजित एक सभाको आयोजना गरि ती पार्टीहरुले यो आह्वान गरेका हुन् । क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टीले गरेको संयुक्त सभामा बोल्ने नेताहरुले विदेशी दलाल पूँजिपतिहरुको इसारामा तिनका आसेपासेले चलाएको व्यवस्थामा गरिने चुनावले जनताका समस्या समाधान गर्न नसक्ने ठोकुवा गरे ।
सभामा बोल्दै क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्यले हालको संसदीय व्यवस्थाका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ध्वस्त भइसकेकोले नयाँ व्यवस्था स्थापना गर्न आन्दोलन गठाउनुको विकल्प नभएको बताए । वैद्यले त्यसका लागि सडक संघर्षमा रहेका क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
जनवादी व्यवस्थाको कार्यभार सहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि सबै देशभक्तहरु आन्दोलनमा आउनुपर्नेमा जोड दिएका वैद्यले संसदवादको अन्त्यका लागि यो चुनाव बहिष्कार गर्नुपर्ने भन्दै जनतालाई संसदीय दलहरुलाई मत नदिन आग्रह गरे । वैद्यले संसदवादीहरु बलिया भएर नभई क्रान्तिकारीहरु कमजोर भएका कारण यो व्यवस्था टिकेकोले अब छरिएर रहेका क्रान्तिकारीहरुबीच पार्टी एकता हुनुपर्नेमा जोड दिए ।
सभामा बोल्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले पञ्चायतले स्थापना गरेका उद्योगहरु समेत बेचेर खाने संसदीय पार्टीहरु संसदीय व्यवस्था बचाउन नसकेर सिद्धिन लागेको भन्दै मंसिर ४ गते हुन गइरहेको चुनावलाई जनताले अवज्ञा गर्नु पर्ने बताए । चुनावमा भोट हालेर दलाल पूँजीपतिका नोकरहरुको सत्ता टिकाइदिन नहुनेमा बास्तोलाको जोड थियो ।
उनले विजुली, बाटो र रेलवे लाइन गरिव जनताको लागि नभइ पूँजिपतिहरुका लागि बनाइएको बताए । संसदीय व्यवस्थाको अन्त्यगरि स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै उद्योग र कृषिमा लगानी भई जनता र देश आत्मनिर्भर बन्नेमा बास्तोलाको जोड थियो । बास्तोलाले सरकारले देशभर आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाथी बढाएको गिरफ्तारी धरपकडको कडा शब्दमा आपत्ति जनाए । उनले सरकारको यस्तो कार्यलाई निरंकुश कार्यशैली भएको दावी गरे ।
सभामा बोल्दै नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले कांग्रेसको पछि लागेर कम्युनिस्ट हुँ भन्ने माओवादी र एमालेले पनि एमसीसी पास गर्नु विडम्बना भएको बताए ।
संसदवादी दलहरुकै कारण देश विदेशीको हातमा गइसकेकोले यसलाई बचाउनका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकढिक्का भएर स्वाधिनताको आन्दोलन उठाउनुपर्नेमा जोड दिए ।
सभामा सामना परिवार र रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले चुनाव बहिष्कार सम्बन्धि सांगितीक प्रस्तुती राखेका थिए । शान्तिबाटीकामा सभा हुनुअघि हजारौंको जुलुसले भृकुटीमण्डप, सहिद गेट सुन्धारा हुँदै परिक्रमा गरेको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी नेता चन्द्रहरी सुवेदीले सभामा सहभागी जनतालाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने सभाको सञ्चालन युवा नेता शरद रसाइलीले गरेका थिए ।