जेष्ठ नागरिक समाजका अगुवा मानिन्छन् । हरेक हिसाबले उनीहरूका अनुुभव आउँदो पुस्ताका लागि मार्गनिर्देशन र उनीहरूले अवलम्बन गरेको बाटो पथप्रदर्शक हुनसक्छ ।
यसैकारण पिंढी हस्तान्तरण सामाजिकीकरणभित्रको एउटा महत्वपूर्ण पाटो मानिन्छ । तर तिनै जेष्ठहरू जब राज्यबाटै उपेक्षित हुन्छन्, त्यतिबेला उनीहरूमाथि अन्याय हुन्छ । अहिले जेष्ठ नागरिकप्रति राज्यले उपेक्षा गरिरहेको छ ।
सरकारले सामाजिक सुरक्षाअन्तर्गत निश्चित उमेर समूह किटान गरी जेष्ठ नागरिकलाई मासिक रूपमा भत्ता दिइँदै आएको छ । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि सुरू गरिएको यो भत्ता आज पनि त्यतिकै आवश्यक र जेष्ठ नागरिकका लागि दैनिकी गुजाराको सहारा बनेको छ ।
तर सरकारले सेवा निवृत राष्ट्रसेवकलाई भने यो सुविधाबाट बञ्चित गराएको छ । उनीहरू सक्षम छन्, वा निवृत्तिभरण पाइरहेका छन् भन्ने आधारमा उनीहरूलाई भत्ता नदिएको भनिन्छ ।
उसो भए कि असहाय जेष्ठ नागरिक भत्ता भन्नुपर्यो ? कि सरकारले तोकेको उमेर पुुगेका र मलाई उक्त सुविधा चाहियो भनी माग गर्ने सबै नागरिकलाई समान व्यवहार गर्नुपर्यो । कतिपय जेष्ठहरू पनि उक्त सुविधा नलिन सक्छन् ।
कतिपय निवृत्तहरू पनि असहाय हुनसक्छन् । सेवा निवृत्त कार्यालय सहयोगीले नपाउने तर उमेर पुुुुगेकै कारण उद्योगपति विनोद चौधरीले पाउने यो कस्तो सामाजिक सुरक्षा हो ?
सबैजसो कर्मचारीहरूलाई अवकाशपछिको जीवनले भय पैदा गराएको हुन्छ । निवृत्तपछि समायोजनका हिसाबले पनि निकै चुनौतिपूर्ण देखिन्छ ।
त्यसमा पनि निजामतीको उच्चतम् ओहदाबाट निवृत्त हुनेहरूका लागि त गाउँ, समाज, छिमेकी चारैतिरबाट सोचेजस्तो सम्बन्ध हुँदैन । यसकारण उनीहरूमा बढी बेचैन उत्पन्न हुन्छ ।
छर, छिमेकीले समेत विगतमा कहिल्यै जनता हुन्छु भनेर सोचेन, अहिले फूर्ती गर्छ भन्न थाल्छन् । पदीय जिम्मेवारी र भूमिकाबाट शक्तिको उपयोग गरी सर्वसाधारण जनता र सेवाग्राहीभन्दा पृथक स्वभाव बनाएका उच्चपदस्थ कर्मचारीहरू निवृत्तपछिको आफूलाई हेर्ने अरूको दृष्टिकोणबाट चिन्तित हुन्छन् ।
सरकारी आवास, गाडी, निजी काम गरिदिने कार्यालय सहयोगी, सरकारी कुपनबाट घरखर्चीसमेत चलाएको अवस्था सबै एकैपटक गुमाउनु पर्दाको पीडा र सामाजिकीकरण हुन नसक्दाको मनोवैज्ञानिक छट्पटी सुरू हुन्छ ।
अझ कतिपय गैरकानुनी तवरबाट अतिरिक्त आम्दानी गर्ने विभिन्न कार्यालयहरूमा बसेका कर्मचारीहरू त अवकाशको कल्पनासम्म गर्न डराउँछन् । नियमपूर्वक अतिरिक्त भत्ता प्राप्त हुने कार्यालयमा काम गर्नेहरू समेत यस अवस्थामा चिन्तामा हुन्छन् । हरेक कर्मचारीहरू अवकाश हुनुभन्दा केही समय अगावै आफूलाई मानसिक रूपले सामाजिक समायोजनका लागि तयार हुनुपर्दछ । अवकाशलाई सहजतासाथ स्वीकार गर्नु पर्दछ ।
निवृत्त जीवनलाई रचनात्मक, उपयोगी र आनन्दित बनाउनका लागि अवकाशको पूर्वसंघारमा तयारी गर्नुपर्छ । विकसित मुलुकहरूमा जस्तो अवकाशपछिको जीवनलाई कसरी सहज बनाउने भनी परामर्श दिने परामर्शदाता (संघ/संस्था) हामीकहाँ छैनन् ।
तर केही वित्तीय संस्थाहरूले भने अवकाश योजना लगायतका बैंकिङ कार्यक्रमहरू ल्याएर प्रोत्साहन गर्ने गरेका छन् । यो सकारात्मक पक्ष हो । अन्य निकायले पनि यसको सिको गरून् ।