• मंसिर ११ २०८१, मंगलवार

बेलायती काउन्सिलमा नेपाली चेलीको आरोहण

कार्तिक १६ २०७९, बुधबार

बेलायती सरकारमा भइरहेको राजनीतिक नेतृत्व परिवर्तनसँगै नयाँ नयाँ मोड देखिन थालेका छन् । भारतीय मूलका ऋषि सुनाक बेलायती प्रधानमन्त्री भएसँगै एशियाली मूलका बेलायती नागरिक नीति निर्माण गर्ने तहमा बाक्लो हुने गरी छाउने आशा गरिएको छ ।

यही बेलामा बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनित हुन सफल भएकी छन् । साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनित भएपछि उनको चर्चा चुलिएको छ ।

काउन्सिलमा यस अघि पनि नेपालीहरू निर्वाचनमार्फत उक्त पदमा पुगेका छन् । तर काउन्सिलको रिक्त पदमा मनोनित हुने उनी पहिलो नेपाली महिला हुन् ।

नेपालको राजधानी सहर काठमाडौं जन्मिएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा विशेष क्षमता भएकी इन्जिनियरसमेत हुन् । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको र थप सुधार आउने भन्दै साउथ वेस्टन विनचेस्टरमा लोहनीलाई उक्त जिम्मेवारी दिइएको हो ।

विगत १९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलिसकेकी छिन् । मनोनित सदस्य लोहनी पनि काउन्सिलभित्र आफूले गरेको कामको उचित मूल्यांकन भएकोमा खुसी छिन् ।

प्रभावकारी कार्यकुशलताको मूल्यांकनका कारण लोहनी काउन्सिलमा मनोनित भएको स्वीकार गर्दछिन् । कामको मूल्यांकनबाट उत्साहित भएकी लोहनी आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गर्न थालेकी छिन् ।

हालका दिनमा उनी फिलाइन्स् सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन् । उनले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गरेकी हुन् । उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आईसीई) को केन्द्रीय सदस्यसमेत रहँदै आएकी छिन् ।

लोहनीले सामाजिक सेवाका काममा निकै रुची राख्छिन् । उनले नेपालमा सञ्चालित विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएकी छिन् ।

वि. सं. २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरी भूकम्प पीडितलाई सहयोग गरिएको थियो ।