बेलायतमा भारतीय मूलका बेलायती नाागरिक ऋषि सुनक प्रधानमन्त्री भएका छन् । यो बेलायतका लागि सामान्य कुरा हो । किनकि, उनी बेलायती कन्जरभेटिभ पार्टीका नेता हुन् ।
तर भारतमा भने बेलायती प्रम सुनकको सफलतालाई अप्रत्यक्ष रूपमा भारतीयहरूको बेलायती गोराहरूमाथिको ‘सुपेरियोरिटी’ अर्थात् ‘श्रेष्ठता’ का रूपमा लिइएको देखिन्छ ।
कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री लिज ट्रसले २ महिनाजति काम गर्दा उनको कार्यशैली बेलायती जनताले मन नपराउँदा राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकै दोस्रो बरियतामा रहेका सुनकका लागि यो मौका हात लागेको हो ।
तर भारतीयहरू सुनकको सफलतालाई लिएर खुशी हुनुमा थोरै ‘बदलाभाव’ र ‘हीनताबोध’ दुवैले काम गरेको छ । बदलाभाव यस कारणले कि भारतीयहरूमाथि बेलायती अंग्रेजहरूले सन् १७५७ देखि सन् १८५८ सम्म पूरा एक शताब्दी शासन गरेका थिए ।
भारतीयहरू सामान्य ब्रिटिश पुरूष र महिलालाई अझैं पनि क्रमशः ‘गोरा साहेब’ र ‘मेम साहेब’ भनेर सम्बोधन गर्दछन् । यो भनेको भारतमा विकास भएको बेलायती औपनिवेशिक ‘संस्कृति’ को उपज हो । यसले भारतीयहरूमा पुस्तौंसम्म हीनताबोध थोपरिरहेको देखिन्छ ।
बेलायती प्रम सुनकको आगमनसँगै विगत र वर्तमानको तुलनात्मक अध्ययनले यो देखाउँछ कि एकताका भारतमाथि शताब्दियौं शासन गरेका गोराहरूका माझ भारतीय मूलका बेलायती नागरिक अब्बल बन्न पुगेका छन् ।
शासन सत्ता आखिरमा मानिसले मानिसमाथि गर्ने शासन वा जमाउने हैकम नै हो । राष्ट्रियताको प्रश्न ताजै रहेको र को कुन मूलको भनेर पहिचान खोज्ने दिन रहेसम्म ‘को कुन मूलको हो ?’ भन्ने कुरा उठिरहन्छ ।
यो भारतीयहरूले भने झैं जित वा विजय त होइन । तर यो समयको गतिसँगै आएको बदलाव भने हो । यसले सैयौं वर्ष नै किन नहोस्, पालो चक्र झैं चलिरहन्छ भन्ने देखाएको छ ।
अमेरिकामा केन्याली मूलका बराक ओबामा दुई/दुई पटक राष्ट्रपति हुनु पनि समकालीन समयको माग हो । समयले समाज परिवर्तन हुँदै गएको बोध गराइरहेको छ । विगतमा अमेरिकीहरूले निग्रो जातिलाई दासका रूपमा अमेरिकामा काम गराउने दासका रूपमा भित्र्याएका थिए ।
आज समय फेरिएको छ । जसमाथि श्रेष्ठताका नाममा जसले शासन गरेका थिए, उनीहरूले तिनै शासितहरूलाई आफूमाथि शासन गर्न गराउन स्वीकार गर्नुपर्ने अवस्था आइसकेको छ । बराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा केन्यामा हर्षबढाइ गरिएको थियो ।
संयोग पनि कस्तो जुट्न आएको छ भने नयाँ प्रमधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् ।
धार्मिक आस्थाका हिसाबले उनी हिन्दु धर्मावलम्बी हुन् । उनी अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्वछात्र हुन् ।