रमाइलो र उत्साह अनि खुसीको साटासाट गर्ने चाड तिहार नेपालीहरुको घर आगनीमा आइसकेको छ । सुखरात्री भनिने विशेष औंसी लक्ष्मीको पूजा गर्दै दिपमालिका गर्ने हिन्दु परम्परा सायदै अन्यत्र होला । बत्ती बाल्ने हाम्रो संस्कार हो, फूलैफूलले घर आगनी, कोठा चोटा, भकारी, पसल, उद्योग, वाहन मात्रै नभएर उद्योगस्थलहरु सजिसजाउ गर्दै धनलक्ष्मी, यशलक्ष्मी, कीर्तिलक्ष्मी, भाग्यलक्ष्मी, वैभवलक्ष्मी भित्र्याउने चाड पनि हो यो ।
वर्षभरिको ठूलो चाड यमपञ्चकका रुपमा मनाउँदै पहिलो दिन नै यमका प्रतिक काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौथो दिन गोवर्द्धन भनौँ गोरु पूजा र पाचौँ दिन भाईको पूजा गर्दै यो चाड विदा हुन्छ । द्यौसी भैलोको परम्परा, कार्तिक शुक्ल प्रतिपदा नेवारी समुदायमा म्हः पूजा र नेपाल सम्वत् भनौैँ नयाँ क्यालेण्डरको शुरुवात अनेकानेक पर्वहरु यिनै पाँच दिनमा पर्छन् भने दिपावली भनौँ सुखरात्री र धनलक्ष्मीको पूजा यसवर्ष कात्तिक ७ गते परेको छ र भोलिपल्ट औँसीका दिन सूर्यग्रहण भएकाले खासै उत्सवको रुपमा मान्ने अवस्था यसवर्ष भएन । यद्यपि विहान गाईपूजा हुने र ग्रस्तास्त सूर्य ग्रहणको स्पर्श अपराह्न ४ बजेर ५२ मिनेटमा हुन्छ । खानपिनको हकमा सूतक लाग्नु १२ घण्टाअघि निषेध हो तर बाल, वृद्ध, आतुर बिरामीहरुका लागि छूट पनि दिएको छ, हाम्रो पूर्वीय धरोहर वैदिक शास्त्रले ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्न्यात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर ।।
अभ्यन्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे बधे च नरकं व्रजेत्
भनिएको छ, शास्त्रमा । यसको अर्थ हो ग्रहणका बेलामा सुतेमा शरीर रोगी हुने, मूत्र त्याग गरे कृमियोनिमा जानु पर्ने, मैथुन गरे सुँगुर हुनुपर्ने, भोजन गरे अधोगतिमा जानु पर्ने, कसैलाई बन्धनमा राखे सर्प हुनुपर्ने कसैको हिंसा गरे नरक जानु पर्ने शास्त्रको मान्यता छ । यसपालि मध्य तिहारमा सूर्य ग्रहण परेकाले गुलियो तिहार केही खल्लो अनुभूति हुँदैछ ।
पक्वान्नहरु ग्रहणमा बासी नराख्नु भन्ने मान्यता छ । उमालेको पानी पनि ग्रहणभरि नराख्नु भनिएको छ । त्यसो त दशैं अघिदेखि नै बजारमा चिनीको अभाव भएकाले तिहार त खल्लो हुने नै भयो । छिमेकी बजारमा भारु ४० मा चिनी पाइन्छ रे, यहाँ प्रतिकिलो सय उकालो लागेको देखिन्छ, सुपथ मूल्य पसलमा पहिले नै छैन, होइन भनेर बोर्ड टाँसेको देखियो ।
फूलको महत्व शब्दले वणर्न गर्न सकिन्न । बाँचुन्ञ्जेल कुनै पनि हर्षको काममा फूल नभइ हुन्न । कुनै पनि पूजा, विवाह, उत्सव, गाडी, घर सजाउने देखि मरणोपरान्त पनि फुलैफुलले सजाइएको देखिन्छ लास भरि, घाटभरि नै । कालका प्रतिक यमपूजा भनौँ यमपञ्चक भरि नै अत्यधिक फूलको माग हुन्छ । फूलमा हामी आत्मनिर्भर उन्मुख छौँ भन्छौँ तर माछा मासुमा पनि यस्तै गफ दिन्छौँ हामी तर आयात नगरी सुखै छैन । त्यसो त हामी जीउको जनै पनि आयात नै गर्छौं ।
तिहारको भाई मसला होस् वा माघको तरुल, तीजका सरसामग्री पनि हामीले ल्याउने विदेशबाटै हो । अर्थतन्त्रमा पराधिन हामी आयातीत सरसामानबाट बाँच्न र रमाउन पनि अभ्यस्त भइसकेका छौँ र त देशलाई खर्बौं खर्बको व्यापारघाटा छ, विदेशी ऋण पनि । केही समय यतादेखि हाम्रा किसानहरुले फूलको व्यवसायिक खेती त गरे तर हालैको दशैंको रुन्चे झरीले फूलमा पनि डढुवा रोग लाग्यो र धेरै फूलहरु बिग्रिए । विगतका दिनहरुमा धेरै फूलको आयात भए पनि यसपालिको तिहारको फूल आपूर्ति ९० प्रतिशत आफैबाट र बाँकी १० प्रतिशत मात्रै आयात हुने बताइएको छ ।
फ्लोरी कल्चर एसोसियनले कृषि सरकारी निकाय समेतको आयोजनामा हरेक वर्ष ललितपुरको जावलाखेलमा तिहारको समय पारी पुष्प प्रदर्शनी, प्रतियोगिता समेत गर्दैछ । यसै कार्तिक ३ देखि ६ गतेको समयमा ५५ वटा स्टल राखी एसोसिएसनले व्यवसायिक, प्रतियोगी, सूचनामूलक स्टलहरु राखरे झण्डै १ करोडको व्यवसायिक कारोबार गर्ने भएको छ । देशैभरि फूल उत्पादनमा साढे ६ अर्बको लगानी रहेको बताउने सो एसोसियएसनले पुष्प प्रदर्शनीको यसवर्षको नारा रोपेर गोदावरी सजाउँ घर आगन वरिपरि भनेको छ भने यो वर्षको १५औँ प्रदर्शनीमा ३० हजार बढी मानिसले भाग लिने आँकलन गर्दै स्वदेशमा माग हुने ३० लाख माला मध्ये ३ लाख मखमलीको र २० हजार माला गोदावरीको भन्दै मखमलीको माला १ लाख भारत निकासी र सयपत्रीको माला अपुग भारतबाटै आयात गरिने भनेको छ ।
अन्य मालाको अपेक्षा गोदावरी माला केही महँगो हुने यसका प्रजाती मुख्य ५ थरी रहेको फूल विज्ञहरुको राय छ । देश कृषि प्रधान भएकाले पुष्पखेतीमा चनाखो भई व्यवसाय वृद्धि गर्न सके फूलमा आत्मनिर्भर हुन सकिने र व्यापारघाटामा केही राहत हुने थियो ।
यसमा राज्यक्षेत्र पनि उत्तिकै सजग हुनुपर्छ भने किसानहरु उत्साहित हुन जरुरी छ । अन्य बजार सामग्री भैं, फूल, रंग, भाई मसला, कपडाहरुमा अत्यधिक भाउ वृद्धिले भने सर्वसाधारण बढी चिन्तित छन् । धानिसक्नु छैन बजार, नियन्त्रण गर्ने निकाय मौन छ, राजनीतिकर्मीहरु, नेतृत्व गर्नेहरु चुनावको चटारोमा छन् ।
तिहारमा कुवेरको पूजा हुन्छ । कुवेर धनका प्रतीक हुन् । धनी हुन हामीलाई भाग्यले ठगेको छ । हुँदा खाने र चाड मनाउने मानिस पनि धेरै छन्, हामीकहाँ । सरकारी निकायको आधिकारिक भनाइ नै झण्डै २० प्रतिशत त गरिवीको रेखामुनि छन्, मध्यम वर्गीलाई पनि समस्या छ, कोरोना, डिँगोले सातो लिएको छ । घरघरै रोजगारी र आय आर्जन छैन, तेलको चाड हो यो । यसको भाउले सिमा नाघेको छ, तेलमा लक्ष्मीको बास हुन्छ ।
अतः तेलमा बत्ती बालेर दिपावली गर्ने हाम्रो चलन हो, प्लाष्टिकका फूलहरु अनि विजुलीको उज्यालो मात्रैले पूणर्ता नहुन सक्छ । झिलिमिली बत्तीमा लक्ष्मीको आगमन हुने हुँदा लक्ष्मी र ऐश्वर्यको भारि वर्षा गराउन द्यौसी र भैलोको परम्परा बसेको हो तर हिजोआज यो पनि बढी व्यवसायिक भएको छ । लक्ष्मीको दुरुपयोग हुने गरी अनावश्यक खर्च, भड्किलो चाड आउन थाल्यो भने मौलिक पर्वको नामोनिशान नरहन सक्छ पछि । पाटी प्यालेसमा तीज भड्किलो भए जस्तै तिहारलाई भड्किलो बनाउनु हुन्न ।
गाईको गोबरमा लक्ष्मी बस्ने हुँदा रातोमाटो सहित गोबरले घर लिप्ने, चोख्याउने परम्परा हो भने दिदीबहिनीहरुले आफू देवी यमुना समान भई दाजुभाईलाई यमको प्रतीक मान्दै पूजा गर्नाले दाजु भाइको रक्षा हुने शास्त्रीय मान्यता रहेकाले बडो हर्षका साथ माला लागाइदिएर भाइहरुको पूजा गर्ने चलन चलेको हो । म्हः भन्नाले आफू नै आत्म पूजा हो । नेवारी समुदायले गर्ने गरेका भनौँ स्वपूजन, आफू शुद्ध, चोखो नभई अरुलाई शुद्ध, चोखो, चारित्रिक बनाउँछु भन्न मिल्दैन पनि ।
गोवद्र्धन पूजाले गोरक्षा र कृषि कर्ममा लाग्न बढी प्रेरित गर्छ । गाईको पूजा आमाकै पूजा हो । पृथ्वीको पूजा हो जहाँ हामी जन्म लिन्छौँ, हुर्कन्छौँ र विदा पनि यसै माटोमा हुने हो । काग, कुकुरको पूजाले सबै प्राणीप्रति सहिर्दयी हुन सिकाएको हो । यमराजको वाहन दुई कुकुरका नाम श्याम र सबल हो शास्त्रको भनाइमा, उनीहरुकै प्रतीक मानोर यम वाहनको पूजाले मरेपछि मानिस यमलोक जानु पर्दैन भन्ने हो ।
कागले शुभ, अशुभको संकेत दिन्छ र वातावरण सफा पनि गर्छ, फोहोर पनि त्यसले खाइदिन्छ । तिहार पर्व सफाइ अभियानको पर्व पनि हो । फोहोर, दूर्गन्धित क्षेत्रमा लक्ष्मी बस्दिनन् । बाह्य मात्रै होइन भित्री मन पनि निर्मल हुनु पर्छ मानिसको । कलुष्तित मनले गरेको पूजा वा कुनै समाज सेवाको अर्थ रहन्न । स्वच्छ र हराभरा वातावरणमै एक अर्कामा खुसी साटासाट गर्दा पर्वको महत्व पनि बढ्छ र व्यक्ति, समूह, समुदाय र देशैभरि लक्ष्मीको बास पनि हुन्छ । ऐश्वर्य र समृद्धि त्यहीँ हुन्छ जहाँ भोक, रोग र शोक छैन ।