काठमाडौं। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले जित्न सफल भएको छ ।
प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई सडेन डेथमा (६–५) हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
यसअघि निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् र खेलको निर्णय टाइब्रेकरबाट गरियो ।
सुरुमा पाँच पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमका चार चार खेलाडीले गोल गरे । जसमा एपीएफका नविन लामा, आभास लामिछाने, सुदिप शिख्राकार र राजु योगीले गोल गरे भने सनिष श्रेष्ठको प्रहार बाहिर गएको थियो ।
आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा र विवेक बस्नेतले गोल गरे ।सेसेहाङ आङदम्बेको प्रहार भने एपीएफका गोलकिपर राजु योगीले बचाए ।
त्यसपछि थप दुई पेनाल्टी प्रहार हुँदा एपीएफका दिपेश धिमाल र मणि लामाले गोल गरे भने आर्मीका विकास खवासले गोल गरे । आर्मीका सुमन अर्यालको प्रहार एपीएफका गोलकिपर राजु योगीले बचाए ।
पुरुष फुटबलको कांस्य पदक भने घरेलु टिम गण्डकीले जितेको छ । बुधबारको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो ।
नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा ७ प्रदेश सहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।