काठमाडौं । नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् ।
जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितिन् ।
यस्तै, एपीएफकि सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।
यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौथो स्वर्ण दिलाएकी हुन् ।
यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।