काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निणर्य गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निणर्य भएको छ,’ उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’
आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरानमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निणर्य प्राधिकरणले गरेको हो ।
निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निणर्य भएको उनले जानकारी दिए ।
प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई उडान रोकेको हो । यसले देशभर प्याराग्लाइडिङ उडान बन्द हुनेछ ।