नेपाल सरकारले २ वर्ष अघिदेखि विद्यालयमा जङ्क फुडजस्ता तयारी खाजामा बन्देज लगाएको छ । तर, सूचना र सञ्चारबाट वञ्चित गृहिणीमा थाहापत्तो नै छैन । सञ्चार माध्यमले पनि प्राथमिकता दिदैनन् र कार्यान्वयनमा आएको छैन । तयारी खानाको अत्यधिक प्रयोगले एकातिर बालबालिकाको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर पारिरहेको छ भने अर्कातिर अभिभावक र विशेषतः गृहिणीलाई अल्छी बनाएको छ ।
तयारी खानाका बट्टाले वातावरण प्रदूषण त बढाएको छ नै, परम्परागत खानामा लाग्ने परिश्रम, सिर्जना, फाइदा, आर्थिक बचत तथा कम फोहोर आदिमा समेत नकारात्मक प्रभाव पारेको छ । जङ्क फुडमा परेको बानीले बेलायती खोजकर्ताहरूका लागि खानेबानीमा देखिएको ‘परिवर्तन महँगो साबित भएको’ बताएका छन् ।
४ वर्ष उमेका ४ हजार बढी बालबालिकामा भएको खोजले जङ्क फुडले बालबालिकामा मोटोपना वृद्धि मात्रै गर्दैन उनीहरूको मस्तिष्क वा आईक्यूको स्तरसमेत घटाउँछ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार ईनर्जी ड्रिकंसमा सफ्ट ड्रिकंसमा भन्दा धेरै बढी क्यालोरी र १४ प्रतिशत बढी कैफिन हुनेहुनाले शक्ति र स्फूर्तिका नाममा धेरै बेफाइदा गर्छ ।
बाहिरबाट क्यालोरी थप्दा मोटोपनाको खतरा बढ्छ । दाँतसमेत बिग्रन्छ, मधुमेह र मुटुरोगको खतरा बढ्छ । बेलायतमा भएको खोजले जङ्कफुडको सेवनले मस्तिष्कलाई चिनी, बोसो र नुनको बढी मात्रामा भएको भोजन लिनलाई प्रेरित गर्छ । नशाको अम्मल जस्तै जङ्क फुडको अम्मलले च्याप्छ ।
बेलायतको लन्डन, स्विडेनको युमिआ विश्वविद्यालयमा गरिएको वैज्ञानिक अध्ययनमा जङ्कफुड बढी प्रयोग गर्ने महिलामा क्यान्सर हुने सम्भावना निकै गुणा बढी पाइएको छ । बिट्रिस जर्नलमा प्रकाशित लेखमा गर्भवती महिलाले जङ्कफुड सेवन गरे जन्मने बच्चामा पनि लत बस्ने, मोटोपना र मधुमेहको सम्भावना रहन्छ ।
जङ्कफुडले हिरोइन, कोकिनजस्तै लत बसाउँछ । जादुको छडीजस्तो देखिनेगरी चित्रित यस्ता प्याकेटका मन्द विष जङ्कफुडले हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिगार्दै छ, मुटु, कलेजो, मिर्गौला रोग, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, कोलेस्टेरोल, हृदय तथा मस्तिष्क घात, क्यान्सरसम्मका अनगिन्ती नसर्ने रोग उत्पन्न भइरहेका र बढेको बढ्यै छ ।
त्यसैमा तयारी खानालाई धेरै समयसम्म जोगाइ राख्न प्रिजर्भेटिभ, आकर्षक बनाउन रंग तथा खानयोग्य बनाउन एडिटिभ, फ्लेबरिङ एजेन्टजस्ता विभिन्न प्रकारका रसायनिक तत्वको मिसावट हुने भएकाले डब्बा वा प्याकेटमा बन्द तयारी खानाले बेफाइदा गर्छ ।
अजिनोमोटोले वजन बढाउने, हडी गलाउने, टाउकाको, छातीको पीडा, मुटुरोग, दम, फुड एलर्जी, अपच, उत्तेजना, मस्तिष्क कोषको नोक्सान, लत बसाल्ने, सास लिन कठिन, घाँटी पछाडि र नाडीमा जलन, वाकवाकी, कमजोरी, हाड, मिर्गौला, कलेजोलाई क्षति, ओस्टियोपोरोसिसलगायतका अन्य समस्या ल्याउन सक्छ ।
खानेकुरालाई धेरै तताई वा सेकाई फास्टफुड बनाउँदा तिनको कार्बोहाइड्रेड, प्रोटिन, स्टार्चजस्ता पदार्थ नष्ट भई खानेकुरा पौष्टिकविहीन, अपाच्य, कार्सिनोजन बन्छ ।बढी चिल्लो खाए, उच्च रक्तचाप, हृदयघातजस्ता रोग लाग्ने, एडिपोस तन्तुमा जम्मा भई बोसोको मात्रा बढ्न जान्छ । शरीर मोटो, थिलथिलो भई कुनै पनि रोगले च्याप्न सक्छ ।