‘कुनै दिन म उपसचिव भएर जिल्ला शिक्षा अधिकारी हुनेछु । त्यसबेला तपाईको सरूवा मैले नै गर्नेछु’ भनेर नेत्रविहिन साथी डिबी सरलाई सरूवाका लागि विश्वास दिलाएका डा.खगराज बराल आफ्नो भविष्यवाणी आफै गर्थे ।
नभन्दै उनी उपसचिवमा मात्र सीमित रहेनन्, बरू उपसचिवको अनुुभव नै गर्न नपाई एकैपटक सहसचिव हुँदै नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव हुन पुुगे, त्यो पनि कलिलै उमेरमा ।
दुनियाँले ५८ वर्षसम्म जागिर खान पाउँछन्, उनी छिटै सचिव भएकाले उमेर नपुग्दै अवकाश भए । तिनै बरालको हालसालै प्रकाशित गैर आख्यानात्मक कृति हो– मालामा नउनिएका फूलहरू ।
यो कृतिभित्रको ‘अपरिचित परिचित भएपछि’ शीर्षकमा लेखिएको प्रस्तुत वाक्य लेखक बरालको प्रतिभाको पुर्व जानकारी दिने एउटा दृष्टान्त हो । उनले आफ्नै लागि गरेको भविष्यवाणीको एउटा नमुना हो ।
बुटवलको औद्योगिक मेलामा आफू त्यहाँ क्षेत्रीय प्रशासक भएको बेला शुरूमा आफूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको तर पछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षलाई प्रमुख अतिथि बनाउँदा पनि सहर्ष स्वीकार गरी वक्ताको रूपमा सहभागी भएको एउटा प्रसङ्ग छ ।
सुर्खेतमा क्षेत्रीय प्रशासक हुँदा संविधान दिवसमा शुरूमा आफूलाई प्रमुुख अतिथिका रूपमा बोलाएर पछि अर्कै व्यक्तिलाई प्रमुख अतिथि बनाउँदा पनि सोही मञ्चमा अतिथिका हैसियतमा सहज रूपमा बसेर कार्यक्रममा सहभागी भएका घटना ‘अतिथि आसनमा अलमल’ शीर्षकमा उल्लेख गरिएको छ ।
यी तीनवटा प्रसंग लेखक बरालको चिनारी र व्यक्तित्व विकास हेतु महत्वपुर्ण अंश हुन् । उनलाई सालाखाला कर्मचारीभन्दा माथि चिनारी दिने दृष्टान्त पनि ।
लेखक बरालको प्रस्तुत ‘मालामा नउनिएका फूलहरू’ गैरआख्यानात्मक अनुुभूतिहरूको सङ्गालो हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त कृतिमा विभिन्न शीर्षकका बीसवटा विषयवस्तुहरू छन् ।
ती शीर्षकहरू एक अर्कासँग व्यतिरेकी भएर आएका छन् । फरक फरक शीर्षकले फरक फरक विषयवस्तु पस्केका छन् । ती विषयवस्तुहरू लेखकले देखे, भोगेका र अनुभव गरेका परिवेशभित्रका छन् ।
यर्थाथताको निकै नजिक छन् । हरेक विषयले कुनै न कुनै सन्देश दिएर गएका छन् । लेखकले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्ने आग्रह गरेका छैनन्, तर पढदै जाँदा यसो हुनुपर्ने रहेछ भनेर पाठक आफै सचेत बन्छ ।
यसैले पुस्तक फुलहरू लस्करै उनिएर बनेको माला नभएर रङ्गी, विरङ्गी फूलहरू उनिएको एउटा आकर्षक तोरन बन्न पुगेको छ, जहाँ नाना थरीका पुष्पहरू, वृक्षलताहरू, कुचो, नाङ्गलो आदि सबैको समावेशिता छ ।
श्रमिक बरालका नामबाट यसअघि थुप्रै कृति लेखेका उनले यो कृति भने आफ्नो वास्तविक नामबाट लेखेका छन्– गैरआख्यान विधामा ।
विषयवस्तु :
यो गैरआख्यानात्मक कृति हो । लेखकले देखे, भोगे र भेटेका स्थान, पात्र र परिवेशलाई अनुभूतिमा रङ्गाएर चिरिच्याट्ट पाराले पस्केका छन् । पढदै जाँदा लाग्छ कतै म नेपालको संविधानका विशेषता पढदै त छैन ?
कतै निजामतीभित्रका विकृतिहरू पढदै त छैन ? यसैकारण बहुपुुष्पहरूको एकत्रित स्वरूप नउनिएको मालाको सट्टा यो पुस्तक उनिएको तोरन बनेको छ ।
आफू सरूवा हुँदा आमाबाबुलाई दश ठाउँमा कागजी रूपमा लगेर भत्ता खाने निजामती छोराहरू एक पटक पनि तिनै आमाबाबुलाई तीर्थ किन लादैनन् ?
लेखकले ‘आमाबाबुको कुरा’ शीर्षकमा त्यस्ता कर्मचारीको झ्याँको झारेका छन् । कर्मचारीहरूमा बाउ आमा देखाएर सरूवा माग्ने तर तिनै बाउआमा नपाल्ने प्रवृत्तिका विरोधी लेखकले एउटै बाउआमालाई दुईटा छोराले आफू सरूवा हुँदा भत्ताका लागि लाने ल्याउने गरेकोमा आफूले रोकेको सन्दर्भ कोट्याएर निजामतीभित्रको विकृति उजागर गरेका छन् ।
सरकारी गाडीमा आतेजाते गरेर गाडीभाडा दाबी गर्ने निकृष्ट कर्मचारीप्रति उनको असहमति देखिन्छ । उनको भोगाइ यसमा खनिएको छ । विगतबाट पृथक हुँदै गएका हाम्रा सन्ततिप्रति उनी ‘हिजो र भोलि’ शीर्षकमार्फत् असहमत हुन्छन् ।
विवाह, जैविक मात्र होइन सामाजिक आवश्यकता पनि हो भन्दै उनले यस कृतिमा संस्कृति, दर्शन र परम्पराको उल्लेख गरेका छन् । वरपिपल कसरी उम्रन्छ यसको विज्ञान यहाँभित्र छ । खानाको आवश्यकता र विज्ञानसम्मत तर्क गरिएको छ ।
‘खाना सबैका लागि’ शीर्षकमा आमाको ‘कहाँ लाग्यो भोक’ को जिज्ञासा मेटाउने क्रममा हाम्रो सभ्यता, संस्कृति र अन्नदानको जीवनदर्शन समेटिएको छ । अर्थात्, लेखकले गागरभित्र सागर खनाएका छन् ।
कृतिमा अति आधुनिकता पनि देखाइएको छ । श्राद्धमा गोरूसँग कुकुर रोएको छ । मानवेत्तर पात्रको बोली अति आधुनिकता हो, जो यहाँ देख्न सकिन्छ ।
लैनसिंह वाङ्ग्देलको लंगडाको साथीजस्तै । मृग बोलेको छ । दर्शन छाँटेको छ मृगले । यद्यपि मृर्गसँगको संवादलाई लेखकले सपना देखेको रूपमा अन्त्य गरेका छन् । लेखकका शब्दमा ‘मृगको दृष्टिकोण स्वैरकल्पना’ हो ।
मानवेत्तर पात्र नै सही, मृगको बोलीमा हाम्रो समाज र समाजको यर्थाथता बोलेको छ । समाजको ऐना देखिएको छ । हाम्रो समाजको यथार्थताका लागि मृगको कल्पना लेखकीय विशेषता हो ।
पढदै जाँदा कृतिभित्र धर्म छ, दर्शन छ, विज्ञान छ । समाजको सजीव चित्रण छ । सुगाको बिष्टाबाट बरपपिपल उम्रने प्रसङ्गमा विज्ञान आएको छ । कृष्णसारको लोपमा पनि विज्ञान छ ।
कृष्णसारलाई भगवान कृष्णका रूपमा मानेर पुजा गर्ने चलनले हाम्रो धर्म र दर्शनलाई उपस्थित गराइएको छ । श्राद्धको प्रसंगमा धर्म आएको छ । सपनामा मृगसँग गरिएको संवादमा मातृ मृत्युदरको भयावह अवस्था देखाइएको छ ।
गर्भपतनजस्तो प्राणीहत्याको काममा मानव संलग्न भएको प्रसंगले हाम्रो समाजको अवस्था चित्रित भएको छ । विद्वान् र बुद्धिजीवीको अन्तर केलाउने क्रममा दर्शन अघि सारिएको छ ।
मलामीलाई खाजा खर्चवापत पैसा दिने चलनले हाम्रो संस्कृतिको एउटा पक्ष उजागर भएको छ । निजामतीमा विदेश मोह कतिसम्म हुन्छ भन्ने कुरा एउटा देशबाट फर्कन नपाउँदै अब मलाइ कहाँ पठाउनुहुन्छ भनी सोध्ने कर्मचारीको स्वार्थी मनोवृत्तिको चित्रणले प्रष्ट पारेको छ ।
कर्मचारीको यथार्थ प्रवृत्ति उतारिएको छ । संसद विघटनकै बेला (२०५१) आफू जागिरमा छिरेको र संसद विघटनकै बेला (२०७८) निवृत भएको संयोगलाई लिएर नेपालको राजनीति अस्थिरताप्रति लेखकीय असहमति प्रकट गरिएको छ ।
गैरकानुनी कुरामा पनि मानिसहरूको दावीलाई लिएर लेखकले अदावी गर्न किन नसकेको ? भनी प्रश्न गरेका छन् । यसरी यस कृतिभित्र विभिन्न सन्दर्भ, प्रसङ्ग र अवस्थाबाट फरक फरक विषयको प्रस्तुति गरिएको छ ।
यस्तो छ भनिएको छ, यस्तो हुनुपर्छ भनिएको छैन । यसकारणा यो कृति जे छ त्यसैको यथार्थ प्रस्तुति हो । सुधार यसको अभिष्ट हो, जसलाई पाठकले पढेपछि स्वतः बुुझ्न सक्छन् ।
तर प्रत्यक्ष रूपमा यही नै गर्नुपर्छ भन्ने दावी लेखकको छैन । यसैकारण पुस्तक एउटै फूलको माला नबनेर सयौं फुलको तोरन बनेको छ ।
भाषा शैली
कृतिमा धेरै ठाउँमा प्रथम पुरूष शैली अँगालिएको छ । बेला बेलामा द्वित्तीय र उत्तम पुरूष पनि आएका छन् । अभिधा अर्थमा नै सबै विषयवस्तुहरू बुझ्न सकिन्छ ।
अन्य कृतिमाजस्तै यसमा पनि लेखकले समास शैली अपनाएका छन् । कृतिभित्र लेखकले स्थानीय रूपमा बोलिने कथ्य भाषालाई पनि समेटेका छन् ।
अक्कर, टोड्का, कापा, खोरेत, अरिन्च, भुस्याहाजस्ता स्थानीय जनबोलीको प्रयोग यहाँ गरिएको छ । पेरिमिटर, एआई (आर्टिफिसियल इन्टिलिजेन्ट), जिरो, इनब्रिडिङ्, डेलिगेसन, वार्मअपजस्ता अंग्रेजी शब्दहरू आएका छन् ।
अनुप्रास मिलाउने नाउँमा ‘नोकरी सोकरी’ जस्ता शब्दको जर्वजस्त प्रयोग गरिएको छ । ‘ताही, ताही क्या कुरा अद्दा हौ सरले पनि’ (पृ.१४४) बझाङ्गी भाषाको प्रयोग यसमा पाइन्छ ।
कतिपय ठाउँमा लेखक भाषिक सचेतताबाट चिप्लिएका छन् । यद्यपि कृतिको पाण्डूलिपि धेरै विद्वान्हरूलाई पढाएर निजहरूको प्रतिक्रियासमेत यहाँभित्र समावेश गराइएको छ ।
यसकारण भाषिक त्रुटि कम हुनुपर्ने हो । तर पाण्डुुलिपि पढनेहरूसमेत भाषालाई उपेक्षा गरेको देखिन्छ । न्यायाधीश (बृहत नेपाली शब्दकोश) लाई न्यायधीश बनाइएको छ ।
बाँडफाँडलाई बाँडफाँट (पृ.२१४) बनाइएको छ । जीपको सट्टा जीव (पृ.१०५) आएको छ । खितितित्तिजस्ता अनुकरणत्मक शब्दले भाषामा तिख्खरता थपेको छ । ‘अपना काम बनता, भाडमे जाये जनता’ जस्ता हिन्दी उखानको प्रयोग छ । ‘ननिको’ जस्ता शब्द प्रयोगले विषयवस्तुलाई सरस हुनबाट रोकेको छ ।
‘… वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने प्रस्तावमा छलफल बैठकको थियो…’ (पृ.२८८ ) र ‘…प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले गरेको सिफारिसअनुसार श्री ५ महाराजाधिराजले संसद विघटन गरी मध्यावधि चुनावको मितिसमेत घोषणा भयो …’ पृ. (२२८) जस्ता बाक्यगठन असहज र दुुर्बोध्य देखिन्छन् ।
कर्मचारीको विदेश भ्रमणको प्रसंग दोहोरिएर आएको छ । यसलाई शुरू (तीनओटा पोर्टको रहर, पृ. १६१) मा नै समेटन सकिन्थ्यो । अमेरिकी प्रोफेसरको मन्तव्यमा चउर र भिर प्रतीकात्मक रूपमा आएको देखिन्छ । उनको भनाइ सार्वजनीन देखिन्छ ।
समग्रमा कृति पठनीय छ । संग्रहणीय छ । लेखक बरालले कर्मचारी वृत्तमा सुधारका लागि गरेका प्रयासहरू प्रेरक छन् । केही अदावी गर्ने पात्रहरू लुकाइएको छ । उनीहरूको पनि नाम नामेसी दिन सकेको भए उनीहरूप्रति सम्मान अझै बढ्न जान्थ्यो ।